NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

पित्तथैलीको अप्रेसन गर्दा तीनवटा दाँत गायव

काठमाडौं । वीर अस्पतालमा पित्तथैलीको अप्रेसन गरिएकी एक बिरामीको तीनवटा दाँत नै गायब भएका छन् । नुवाकोटकी ५० वर्षीया राधिका ओझाको पित्तथैलीको अप्रेसनपछि चिकित्सकले अगाडि माथिल्लोपट्टिका तीनवटा दाँत पनि नभएको अवस्थामा थिएटरबाट बाहिर निकालेका हुन् । मंगलबारको उक्त घटनाबारे पीडित ओझाले भनिन्, ‘अप्रेसन सकिएपछि बाहिर निकाले । केहीबेरपछि होसमा आउँदा मुख र गिजा दुखेको महसुस हुन थाल्यो । हातले छाम्दा त अगाडिका दाँत नै थिएनन् ।’

ओझालाई वार्डमा सारेपछि परिवारका सदस्यले अगाडि माथिल्लोपट्टिका तीनवटा दाँत भाँचिएको देखेका थिए । यसबारे उनीहरूले तत्काल चिकित्सकलाई प्रश्न गरेका थिए । अस्पताल र चिकित्सकले ‘अप्रेसनका क्रममा इन्टुबेसनका लागि भेन्टिलेटरमा राखेर उपचार गर्दा जटिलता निम्तिएर यस्तो दुर्घटना भएको’ जवाफ दिएका छन् । ‘अस्पताल र चिकित्सकले कुनै लापरबाही गरेको छैन । पित्तथैलीको अप्रेसन गर्नुपर्नेमा लापरबाही गरेर डाक्टरले दाँत निकालिदिएको आफन्तले आरोप लगाएका छन् । तर, यो सत्य होइन । बिरामीको पित्तथैलीको अप्रेसन सफलतापूर्वक भइसकेको छ,’ वीरका निर्देशक डा. भूपेन्द्र बस्नेतको दाबी छ, ‘अप्रेसन गर्दा आइपर्ने जोखिमलाई कम गर्न खोज्दा दाँत भाँचिएको हो । इन्टुबेसन (घाँटीबाट श्वासनलीमा पाइप राखेर भेन्टिलेटरबाट कृत्रिम श्वास फेराउने प्रक्रिया) गर्ने क्रममा दुर्घटना भएको हो । बिरामीको घाँटीको बनावट असहज भएकाले ल्यारिङगोस्कोपी उपकरणले लागेर दाँत भाँचिएको हो । अप्रेसनका क्रममा यस्ता घटना भइरहन्छन् ।’

तर, उपचारको क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबारे चिकित्सकले कुनै पूर्वजानकारी नै नगराएको पीडितको गुनासो छ । ‘पित्तथैलीको अप्रेसन गर्न लगेको बिरामी थिएटरबाट फर्किँदा तीनवटा सद्दे दाँत नै छैन । घटना कसरी भयो भनेर सोध्दा चिकित्सकले हामीलाई काउन्सिलिङसमेत गर्नुभएको छैन,’ बिरामी ओझाका आफन्त गणेश पौडेलले भने, ‘उपचारका क्रममा गल्ती गर्ने र गल्ती गरेपछि पनि घटनाप्रति चासो नदिनु हदैसम्मको लापरबाही हो । उपचार केको गर्ने भन्ने मेसो नपाएर डाक्टरले दाँत निकालेको पनि हुन सक्छ ।’

अघिल्लो सोमबार भर्ना गरिएकी ओझाको मंगलबार अप्रेसन भएको थियो । शल्यक्रियापछि संक्रमण फैलिएको बताएपछि उनलाई अस्पतालमै राखिएपछि दाँत भाँचिएको विषयमा चिकित्सकले चित्तबुझ्दो जवाफ नदिएको आफन्तहरूको गुनासो छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष