वीरले डेढ करोडमा खरिद गरेको डेन्टल ल्याब दुई महिनादेखि अलपत्र

काठमाडौं । विपन्न नागरिकको घुइँचो लाग्ने देशकै जेठो सरकारी अस्पताल वीरमा दुई महिनाअघि खरिद गरिएका डेढ करोडका डेन्टल ल्याबका सामग्री ग्यालरीमै अलपत्र छ । आवश्यक ठाउँ व्यवस्थापन नहुँदा ल्याब सञ्चालन गर्न नसकिएको अस्पतालले भनाइ छ । तर, ठाउँ नै व्यवस्थापन नगरी हतारमा किन सामान खरिद गरियो भन्ने प्रश्नको अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतले जवाफ दिएनन् । ल्याब सञ्चालन गर्न अझै कति समय लाग्छ भन्नेबारे पनि उनले अनभिज्ञता जनाए ।
‘ल्याब फिट गर्न जनशक्ति र ठाउँ अभाव छ । त्यसैले अहिले थन्क्याएर राख्नुपरेको छ,’ बस्नेतले भने, ‘ल्याब फिट गर्ने प्राविधिक खोजिरहेका छौँ । सकेसम्म चाँडो ल्याब सञ्चालनमा ल्याएर बिरामीलाई सेवा दिन्छौँ ।’
अस्पताल प्रशासनका उपसचिव सागर मिश्रले पेइङ वार्डलाई नयाँ भवनमा सारेर त्यहाँ डेन्टल ल्याब राख्ने तयारी भइरहेको बताए । ‘पेइङ वार्डलाई नयाँ भवनमा सारेर त्यहाँ डेन्टल ल्याब राख्ने तयारी भइरहेको छ,’ उनले भने, ‘तर, कहिलेदेखि ल्याब सेवा सुरु गर्न सकिन्छ ठ्याक्कै भन्न सक्ने अवस्था रहेन ।’
ठेकेदार कम्पनी गर्ग डेन्टलका उमेश अग्रवालले एक करोड ४३ लाख २८ हजारमा डेन्टल ल्याबका सामग्री खरिद गरेर ११ असारमा अस्पताललाई हस्तान्तरण गरेका थिए । अस्पतालले ६ महिनाअघि नै ल्याब तथा त्यसका लागि आवश्यक उपकरण खरिदका लागि टेन्डर गरेको थियो । सामान आइसक्दासम्म अस्पतालले ल्याब सञ्चालन गर्ने ठाउँ भने व्यवस्थापन गरेन । अहिले ल्याबका उपकरण पुरानो भवनको गल्लीमा राखिएका छन् । अस्पताल प्रशासनका अनुसार २० वटा डेन्टल चियर, चारवटा कम्प्रेसर, एउटा माइक्रोसफ्ट र ल्याब खरिद गरिएको छ ।
हाल वीरमा डेन्टल उपचार सुविधा भएपनि ल्याब छैन । बिरामीले दाँत राख्नुपर्ने भए अन्य अस्पतालको ल्याबबाट तयार गरेर ल्याउनुपर्छ । डेढ करोडका उपकरणसहितको ल्याब सञ्चालनमा ल्याए आवश्यकताअनुसारका दाँत बनाउने र त्यससँग सम्बन्धित विशेषज्ञ चिकित्सक सेवा वीरमै हुन्छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया