NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

राप्रपा र लोसपासँग एमालेको तालमेल प्रयास, मागे २०–२० सिट

सत्तागठबन्धनभित्र सिट बाँडफाँडको रस्साकस्सी चलिरहेका वेला विपक्षी दलहरूबीच पनि लेनदेनका संवाद जारी छन् । लोसपा र राप्रपासँग तालमेल गर्ने गृहकार्यमा एमाले छ । त्यसका लागि दुवै दल तयार रहे पनि एमालेसँग २०–२० सिटमा प्रारम्भिक दाबी गरेका छन् ।

गत बिहीबार साँझ लोसपाका शीर्ष नेताको बैठकमा अध्यक्ष महन्थ ठाकुरले एमालेसँग तालमेलका लागि संवाद भइरहेको ‘ब्रिफिङ’ गरेका थिए । त्यही रात ठाकुर र एमाले अध्यक्ष केपी ओलीबीच बालकोटमा भेटघाट भएको लोसपा नेता सर्वेन्द्रनाथ शुक्लले पुष्टि गरे ।

स्रोतका अनुसार भेटमा ठाकुरले तालमेल गर्दा लोसपाले करिब २० सिट पाउनुपर्ने दाबी गरेका छन् । ‘१० सिट त हामीले ०७४ को निर्वाचनमा जितेकै भइहाल्यो । त्यसबाहेक कम मतले हारेका केही ठाउँ छन् । त्योसँगै मधेसबाहेकका क्षेत्रमा पनि यसपटक हामी लड्ने तयारीमा छौँ । त्यहीअनुसार अध्यक्षले कुरा राख्नुभएको छ,’ लोसपाका एक नेताले भने ।

ठाकुर र ओलीबीचको भेटवार्तापछि शुक्रबार मात्रै तालमेलका लागि वार्ता गर्न एमालेबाट विष्णु पौडेल र लोसपाबाट शुक्लले जिम्मेवारी पाएका छन् । शुक्लका अनुसार मधेसमा स्वाभाविक रूपमा लोसपाको राम्रो दाबी हुने भए पनि चाँडै सहमतिमा पुग्न दुवै दल लचिलो भएर संवाद गर्ने तयारी छ ।

सत्तागठबन्धनका कारण दबाबमा आएको एमालेले जसपासँग अलग्गिएको लोसपासँग सुरुदेखि नै तालमेलको प्रस्ताव गरेको थियो । तर, यहीबीचमा लोसपा भने पाँचदलीय गठबन्धनसँग जोडिने प्रयत्नमा थियो । वार्ता गर्न लोसपा अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायत नेता प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार नै पुगेका थिए ।

मधेसमा कांग्रेसको प्रभाव बलियो बनाउने रणनीतिमा रहेका देउवाले उनीहरूलाई गठबन्धनमा सामेल गराउने आश्वासनसमेत दिएका थिए । तर, सिट बाँडफाँडका लागि कार्यदल गठन गरेको एक महिना पुगिसक्दासमेत गठबन्धनमा सामेल नगराएपछि लोसपा एमालेसँगै तालमेल गर्ने ‘मुड’मा पुगेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष