NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

दशैंको मुखमा इन्धनको हाहाकार बनाउने प्रपञ्च

काठमाडौं । अत्यावश्यक वस्तु तथा सेवा अवरुद्ध गर्न नपाइने कानुनी व्यवस्थाविपरीत पेट्रोलियम ढुवानी व्यवसायीले इन्धन आपूर्ति रोक्न थालेका छन् । आर्थिक संकटमा रहेको नेपाल आयल निगमले ढुवानी भाडा वृद्धि गर्नुपर्ने उनीहरूको माग छ । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा वृद्धि नभए २४ भदौबाट तेल आयात गर्न ट्यांकर भारत नपठाउने चेतावनी दिएको थियो । सोहीअनुसार उनीहरूले निगमका अधिकांश डिपोसँग करारमा रहेका ट्यांकरलाई शुक्रबार तेल लिन भारत पठाएनन् ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ ले इन्धनलाई पनि अत्यावश्यक वस्तुमा सूचीकृत गरेको छ । जसअनुसार पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणमा हडताल गर्न निषेध गरिएको छ । हडताल गरेमा ६ महिनासम्म कैदको व्यवस्था छ । घाटामा गइरहेको निगमको जर्जर आर्थिक अवस्थाका कारण भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा उपभोक्ता मूल्य निगमले घटाएको छैन । तर, इन्धन व्यवसायीहरूले भने ढुवानी भाडा वृद्धिको माग राख्दै आन्दोलनको चेतावनी दिइरहेका छन् ।

सबैभन्दा धेरै इन्धन खपत हुने काठमाडौंस्थित आयल निगमको थानकोट डिपोबाट शुक्रबार भारतका लागि कुनै पनि ट्यांकर तेल लिन गएका छैनन् । त्यस्तै, दोस्रो ठूलो अमलेखगन्ज डिपोबाट दैनिक २० ट्यांकरसम्म पेट्रोल लिन भारतको बरौनी रिफाइनरी जाने गरेकोमा शुक्रबार १७ ट्यांकरले मात्रै खरिद आदेश लिएका छन् । तर, ती ट्यांकर भारत गए–नगएकोबारे निगमलाई व्यवसायीले खबर गरेका छैनन् । प्रदेश नम्बर १ मा इन्धन आपूर्ति गर्दै आएको निगमको विराटनगर डिपोबाट दैनिक १६–१७ ट्यांकर पेट्रोल लिन जान्छन् ।

तर, शुक्रबार एउटा पनि ट्यांकर भारत गएनन् । अन्य डिपोहरूबाट पनि भारत जाने ट्यांकरको संख्या न्यून रहेको आयल निगमले जनाएको छ । व्यवसायीहरूले आइतबारबाट सबै नाकाबाट भारत जाने ट्यांकरलाई रोक्ने र १ असोजबाट आन्तरिक ढुवानी (निगमको एउटा डिपोबाट अर्को डिपोसम्म र डिपोदेखि पम्पसम्म तेल ओसारपसार) रोक्ने चेतावनी दिएका छन् । एक वर्षदेखिको माग सुनुवाइ नभएका कारण ढुवानी भाडादर वृद्धि नभएसम्म इन्धन आपूर्ति रोक्ने निर्णय भएको महासंघका महासचिव विश्व अर्यालले बताए । ‘हामीले शुक्रबारदेखि सबै ट्यांकर निगमको जिम्मा दिएका छौँ,’ उनले भने, ‘अब उनीहरूले नै खर्च गरेर इन्धन ओसारून् । अनि कति खर्च लाग्दो रहेछ भन्ने थाहा हुन्छ ।’

महासचिव अर्यालले पटक–पटक जारी गरेको हडतालको कार्यक्रम रोकेर आयल निगमको भनाइ माने पनि अब भाडादर वृद्धि नभएसम्म कसैको कुरा सुन्न नसक्ने बताए । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पनि व्यवसायीको हडतालका कारण इन्धन आपूर्ति र वितरण प्रभावित भएको बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।