कर्मचारी सरुवामा वेथिति : पाँच दिन, दुई पोस्टिङ

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिव सुमन दाहाललाई एउटा कार्यालयमा हाजिर गरेको पाँच दिनमा अर्को कार्यालयमा सरुवा गरेको छ । राजस्व तालिम केन्द्रमा सरुवा गरेको पाँच दिनमा उनलाई पुनः मन्त्रालयमै तानिएको हो ।
दाहाललाई प्रदेश १ को आर्थिक मामिला मन्त्रालयबाट अर्थ मन्त्रालय सरुवा गरेर तालिम केन्द्र पठाइएको थियो । तालिम केन्द्रमा पाँच दिन हाजिर गरेपछि मन्त्रालय तानिएको हो । दाहालले मन्त्रालय बस्न चाहे पनि सिट छैन भन्दै तालिम केन्द्र पठाइएको थियो ।
यसैगरी, अर्थले एयरपोर्ट भन्सारबाट सरुवा गरेर भन्सार विभागको उपमहानिर्देशकमा पठाएको महेश भट्टराईलाई सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सरुवा गरेको छ । उनले एयरपोर्ट भन्सारमा १० महिना काम गरेका थिए । भन्सार विभागमा सरुवा गरेको १९ दिनपछि उनलाई वाणिज्यमा पठाइएको हो । स्रोतका अनुसार, भन्सारको उपमहानिर्देशक बनाइएकोमा उनी असन्तुष्ट थिए ।
प्रतिक्रिया