NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

अलैंचीको रेसाबाट लाखौंको आम्दानी

ताप्लेजुङ । पूर्वी पहाडी जिल्लामा पाइने अलैंचीको रेसालाई समेत आम्दानीको स्रोत बनाउन थालिएको छ । पहाडी जिल्लाको प्रमुख नगदे बालीका रुपमा रहेको अलैंचीको रेसाबाट विभिन्न प्रकारका सामग्री बनाउन थालिएको छ भने यसले बजारसमेत पाउन थालेको छ ।

गोडमेल गर्दा र टिप्दा निस्कने अलैंचीको सरालाई मसिनो बनाएर उद्यमीले लाखौंको कमाइ गर्न थालेका छन् भने यसरी खोलिएका उद्योगमा स्थानीय महिलाले रोजगारीसमेत पाउन थालेका छन् ।

सदरमुकाम फुङलिङमा विगत सात वर्षदेखि चन्दन फाइबर उद्योग खोलेर सञ्चालन गर्दै आएकी माया गुरुङले अलैंचीको रेसाजन्य सामानबाटै वार्षिक लाखौंको कमाइ गर्दै आएको जानकारी दिइन्। गुरुङका अनुसार अलैंचीको रेसाबाट हाते झोला, पर्स, हट म्याट, डोर म्याट, रुम म्याट, टी म्याट, झ्याल ढोकामा प्रयोग हुने पर्दालगायत सामान बन्ने गरेको छ ।

रेसाबाट बनेको सामान हेर्दा आकर्षक देखिने भएकाले यसको माग बढ्दोरुपमा रहेको गुरुङले बताइन् । विशेषगरी काठमाडौं, पोखरालगायत ठूला सहरमा उनले उत्पादन गरेका सामान पुग्छन् । ति ठाउँबाट विदेशमा समेत निर्यात हुने गरेको उनले बताइन् ।

जङ्गलमा त्यसै खेर गइरहेको अलैंचीको रेसा सङ्कलन गरेर उद्योग चलाएकी गुरुङले स्थानीय १५ जना महिलालाई रोजगारीसमेत दिएकी छन् । रोजगारी पाउनेमा प्रायः ग्रामीण क्षेत्रबाट बजार क्षेत्रमा बालबच्चा पढाउन बसेका महिला छन् । कामका आधारमा पारिश्रमिक दिएर उनीहरुलाई रोजगार प्रदान गरिएको हो ।

अलैंची बगानबाट सरा सङ्कलन गरेर ल्याउनेलाई समेत पारिश्रमिक दिएकाले आफ्नो उद्योगबाट धेरैलाई फाइदा पुगेको उनको भनाइ छ ।
यता सदरमुकाममै पाथीभरा कोसेलीघर सञ्चालन गर्दै आउनुभएकी विष्णु श्रेष्ठले समेत अलैँचीको रेसाबाट विभिन्न सामान बनाउँदै आएका छन् । सुरु सुरुमा बजार नपाउँदा समस्या भए पनि अहिले माग बढ्दै गएकाले उत्पादन पनि बढाउन थालेको श्रेष्ठले बताए ।

उद्यमीले अलैंचीको रेसाजन्य सामान बनाउन थालेपछि घरेलु तथा साना उद्योगको कार्यालयले समेत उनीहरूलाई आवश्यक सहयोग गर्न थालेको छ । पछिल्लो समय अलैंचीको सरालाई प्रयोग गरेर घरेलु प्रयोगमा आउनेलगायतका सामान उत्पादन हुन थालेकाले आवश्यक सहयोग गरिएको कार्यालय प्रमुख युवराज घोर्साईले बताए ।