भन्सारले अधिग्रहण गरेको जग्गाको मुआब्जा माग

काठमाडौं – दुई वर्षअघि भन्सार कार्यालयका लागि अधिग्रहण गरिएको नौ बिगाहा निजी जग्गाको मुआब्जा सरकारले नदिएको भन्दै भद्रपुरका राजनीतिक दल आन्दोलनमा उत्रिएका छन्।
भद्रपुर नगरपालिका वडा नं. ५ का १०६ कित्तामा बसोबास गर्दै आएका ३० परिवारको नौ बिगाहा जग्गा भद्रपुर भन्सार कार्यालयका लागि २०७६ वैशाख १७ गते सरकारले अधिग्रहण गर्ने निर्णय गरेको थियो। अधिग्रहणमा परेको जग्गाको मुआब्जा माग गर्दा सरकारले अहिलेसम्म नदिएको हुँदा सर्वदलीय समिति गठन गरेर पीडितको न्यायका लागि आन्दोलनमा उत्रिनु परेको वडाध्यक्ष बन्धु कार्कीले बताए।
वडाध्यक्ष कार्कीकै संयोजकत्वमा सर्वदलीय संघर्ष समिति गठन गरिएको छ। त्यसको सदस्यमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायत राजनीतिक दलका नगर नेता रहेका छन्। सरकारले भद्रपुरको छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी मूल भन्सार कार्याल बनाउने निर्णय गरेपछि आवश्यक संरचना निर्माणका लागि सर्वसाधारणको जग्गा अधिग्रहण गरेको थियो ।
वडाध्यक्ष कार्कीले मुआब्जा प्रक्रिया जग्गाको मूल्यांकनमा पुगेर अड्किएको बुझिएको बताए। लामो अवधिसम्म मुआब्जा नदिँदा पीडितहरु सुकुम्बासी बन्न बाध्य भएको उनको भनाइ छ। सो जग्गा भन्सार कार्यालय प्रयोजनका लागि अधिग्रहण गरिएको सूचना २०७७ साउन २७ गते राष्ट्रिय स्तरको पत्रिकामा समेत प्रकाशन गरिएको थियो। हाल भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुरले सो जग्गा रोक्का राखेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १०:३९:००
प्रतिक्रिया