NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते
अन्तर्वार्ता

माओवादीको उम्मेदवार थिएँ, एमालेले चुनाव जिताए : वडाध्यक्ष राई

७४ मा भएको स्थानीय तहको चुनावमा इलाम जिल्लाबाट नेकपा (माओवादी केन्द्र)का निर्वाचित एकमात्र वडाध्यक्ष नन्दकुमार राई सोमबार एमाले प्रवेश गरे । १० वटा पालिका रहेको इलाममा ८१ वाट वडामध्ये सन्दकपुर गाउँपालिका १ मा मात्र माओवादी केन्द्र विजयी भएको थियो ।
पूरै इलाम एमाले र कांग्रेसको कब्जामा रहेको अवस्थामा राईले कसरी माओवादी केन्द्रलाई ‘क्लिनस्वीप’ हुनबाट बचाएका थिए ? पाँच वर्षपछि उनले किन पार्टी छोडे ? आगामी दिनमा पूर्वी इलाममा माओवादीको अवस्था कस्तो छ ? यसै विषयमा नेपालवाचका गणेश पाण्डेले वडाध्यक्ष राईसँग गरिएको कुराकानीको सम्पादित अंश :

०७४ को स्थानीय चुनावमा माओवादी केन्द्रबाट इलाममा निर्वाचित हुने तपाईं एक्लो उम्मेदवार । अहिले आएर पार्टी नै किन छोड्नुभयो ?

हो, मैले पार्टी परिवर्तन गरें । अहिले म एमालेमा प्रवेश गरेको छु । संघीय लोकतान्त्रिक गणतन्त्रमा पार्टी हरेक किसिमले परिवर्तन हुन सक्छ । त्यतिवेला मैले माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएँ । विजयी पनि भएँ । माओवादीबाट उम्मेदवारी दिए पनि मेरो वडामा बहुमत एमालेकै थियो । पार्टीले पनि मलाई सहयोग गरेन । लगभग म स्वतन्त्र उम्मेदवारको भूमिकामा थिएँ । अल्पमतमा हुँदा–हुँदै पनि विपक्षीले मलाई जिताए । पाँचवर्ष उनीहरूसँग मिलेर काम गरें । नागरिक भनेको कसी हो । नेता होइन नागरिक ठूलो हो । म एउटा सेवक हुँ । सेवा गर्ने मान्छे भएकोले नागरिकको भावना बुझ्नुपर्छ भन्ने मलाई लाग्यो ।

पार्टी नै परित्याग गर्नुको कारण चाहिँ के ?

०७५ मा एमाले र माओवादीबीच पार्टी एकता भयो । त्यतिबेला एमालेका धेरै पुराना साथीहरूसँग संगत रह्यो । स्थानीय नागरिकले पनि एकताको निरन्तरताभन्दा बाहिर नजान आग्रह गरे ।

माओवादीबाट उम्मेदवारी दिए पनि मेरो वडामा बहुमत एमालेकै थियो । पार्टीले पनि मलाई सहयोग गरेन । लगभग म स्वतन्त्र उम्मेदवारको भूमिकामा थिएँ । अल्पमतमा हुँदा–हुँदै पनि विपक्षीले मलाई जिताए ।

माओवादीसँग मेरो कुनै नराम्रो भएको छैन । तर, गाउँ तहमा संगठन बनाउने र भेटघाट गर्ने, योजना बनाउने विषयमा मेरो र पार्टीका नेताहरूसँग लगभग टाढिएको अवस्था भयो । मैले साथीहरूलाई संगठन विस्तार गर्ने विषयमा धेरंै आग्रह गरें । पार्टीको आधार भनेको गाउँ हो, नागरिकको विश्वास जित्न सकेमात्र पार्टी बलियो हुन्छ, भनें । मेरो आग्रह कसैले पनि सुनेनन् । पार्टीका साथीहरू गाउँमा उपस्थिति न्यून भयो । केन्द्रमा पार्टी–पार्टीबीच बैमनस्यता भए पनि गाउँमा आपसमा मिल्नुपर्छ । स्थानीय नागरिकलाई विश्वासमा लिन सकिएन भने पार्टी लुलो हुन्छ । त्यतातर्फ पार्टीको कुनै ध्यान गएन । मलाई पनि पार्टीले कुनै सहयोग गरेन । पार्टीको नाम भए पनि एक प्रकारले म स्वतन्त्र उम्मेदवार जस्तै भूमिकामा रहेँ ।

पार्टीलाई भन्दा स्थानीय जनमतलाई तपाईंले विश्वास गर्नुभयो होइन ?

राजनीति गर्ने मान्छेले पार्टीको नीति, सिद्धान्त पनि मान्नुपर्छ । पार्टी भनेको शिरानी हो । मेरा धेरै साथी एमाले समर्थक नै थिए । त्यतिहँुदा पनि माओवादीबाट इलामको सन्दकपुर गाउँपालिका वडा नं. १ बाट उम्मेदवारी दिएँ । पार्टीले भन्दा पनि यहाँका नागरिकले मलाई विश्वास गर्नुभयो । म विजयी भएँ ।

तपाईं माओवादीमा कहिलेदेखि लाग्नुभएको हो ?

म पहिला माले थिएँ । ०४७ तिर माले र माक्सवादीबीच पार्टी एकता भएपछि म एमाले भएँ । ०५४ देखि म माओवादीमा सक्रियरूपमा लागें । म पुरानो मान्छे भएकाले मलाई सबैले विश्वास गर्छन् । संकटकालदेखि शान्ति प्रकृयामा आएको लामो समयसम्म पार्टीलाई गाह्रो–अप्ठ्यारोमा मैले सहयोग गर्दै आएको हो ।

तपाईं आफ्नै स्वविवेकले पार्टी परित्याग गर्नुभएको हो कि एमालेले फकाएका हुन् ?

फकाएर होइन । मेरो स्वविवेकले निर्णय गरेको हुँ । यसबीचमा मैले धेरै सोचविचार गरें । कम्युनस्टिहरू धेरै छन् । कहिले फुट्ने त कहिले जुट्ने भइरहे । वर्गीय, लिङ्गीय र जातीय विभेदको अन्त्यका लागि कम्युनिस्टहरू फुट्नुभन्दा जुट्नु आवश्यक छ । कम्युनिस्ट मात्र नभइ जुनसुकै पार्टी विभाजन हुनु भनेको देशलाई घाटा हो भन्ने मैले सोंचे । एमाले पनि कम्युनिस्ट नै हो । भन्नैपर्दा, एकता बलियो एमालेसँगै छ । उ बलियो संगठन भएको पार्टी हो । त्यही विचार गरेर मैले एमाले प्रवेश गर्ने निर्णय गरें ।

म नहुँदैमा माओवादी सकिन्छ भन्ने होइन । एउटा व्यक्तिको करणले कुनै पनि पार्टी ठूलो र सानो हुन्छ जस्तो मलाई लाग्दैन ।

माओवादीमा हुँदा तपाईंको भूमिका के थियो ?

म जिल्ला कमिटी सदस्य थिएँ । माओवादीको भर्खर सकिएको अधिवेशनमा पनि म जिल्ला कमिटीमै थिएँ ।

सिंगो इलामबाट तपाईं एक जनाले माओवादीको नाम राख्नुभएको थियो । आगामी निर्वाचनमा माओवादीको निशाना नै हराउने भयो भनिन्छ नि, के यो साँचो हो ?

म नहुँदैमा माओवादी सकिन्छ भन्ने होइन । एउटा व्यक्तिको करणले कुनै पनि पार्टी ठूलो र सानो हुन्छ जस्तो मलाई लाग्दैन । त्यतिबेला ८१ जना वडाध्यक्षमध्ये माओवादीबाट म एउटाले मात्र जितेको हो । पूरै इलाममा माओवादीले एक सिट मात्र जितेको हो । त्यसैले यथास्थितिमा माओवादी आउने सम्भावना छैन । ०७४ को चुनावमा पनि माओवादीको मतले मैले चुनाव जितेको होइन ।

पार्टी त्याग गरेपछि माओवादी नेताहरूले तपाईंलाई फोन गर्नुभयो कि भएन ?

छैन । कसैले पनि फोन गरेको छैन ।