NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९, नेवारपानीमा सवारी दुर्घटना हुँदा हेटौंडा–१० निवासी वर्ष ५१ को बुद्धिबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो पूर्वपश्चिम सडकखण्डअन्तर्गत उक्त स्थानमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल –०१ एन २९९९ को ग्यास बुलेटले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

श्रेष्ठ मोटरसाइकलमा सवार थिए । दुर्घटनापछि घाइते श्रेष्ठलाई उपचारका लागि चुरेहिल अस्पतालमा लगिएको र केही बेरमा नै चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।

प्रहरीले मोटरसाइकललाई ठक्कर दिने ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । मृतक श्रेष्ठले विगत लामो समयदेखि हेटौंडाको सीमा चोकमा चिया पसल सञ्चालन गर्दै आएका थिए ।