NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते
सम्झना

बप्पी लहरी : संगीतकारदेखि गायकसम्म बेजोड, जमेन राजनीतिको राग

काठमाडौं । भारतीय चलचित्र संगीतमा आधुनिक बान्की, डिस्को र झंकार बिटका सफल प्रायोक्ता चर्चित गायक एवं संगीतकार बप्पी लहरीको बुधवार निधन भएको छ ।

६९ वर्षीय गायकको निधन अब्सट्रक्टिभ स्लिप एपनिया रोगका कारण भएको हो । एक महिनादेखि अस्पतालमा उपचार गराइरहेका लहरीलाई सोमबार मात्र चिकित्सकले डिस्चार्ज गरेका थिए । तर मंगलबार अचानक उनको स्वास्थ्यमा समस्या आयो र पुनः अस्पताल भर्ना गरिएको थियो, जहाँ उनको निधन भयो । गत वर्ष बप्पी लहरी कोरोना भाइरसबाट संक्रमित पनि भएका थिए ।

डिस्को संगीतका डन

सन् १९८० र ९० को दशकमा भारतमा डिस्को संगीतलाई लोकप्रिय बनाउनमा बप्पीको ठूलो योगदान छ । सन् १९५२ नोभेम्बर १७ मा पश्चिम बंगालको जलपाइगुडीमा जन्मिएका बप्पीले आफ्नो पृथक शैलीका कारण चलचित्र उद्योगमा बेग्लै पहिचान कायम गरेका थिए । दर्शक स्रोतामाझ उनको छवि एउटा यस्तो संगीतकारका रूपमा कायम भएको छ, जो सदा सुनका आभूषण ज्यानभरि भिर्ने गर्छ । बप्पी घाँटीमा सुनका अनेकौं सिक्री, मुगाका माला, हातमा ब्रासलेट, हातका दशै औंलामा औंठी र अनेक आभूषण लगाउँथे ।

बप्पीको निधनबाट भारतीय चलचित्र संगीतमा ‘पप–डिस्को संगीत’को एक युगको अन्त्य भएको छ, जुन युग उनैले सुरु गरेका थिए

बप्पी लहरीलाई बलिउडको पहिलो रक स्टार गायक मानिन्छ । सन् १९८० र ९० को दशकमा बप्पीले ‘बर्दत’, ‘डिस्को डान्सर’, ‘नमक हलाल’, ‘शराबी’, ‘डान्स डान्स’, ‘कमाण्डो’, ‘साहेब’, ‘ग्याङ लिडर’, ‘सैलाब’जस्ता चलचित्रमार्फत लोकप्रियता हासिल गरेका थिए । उनले ‘अमर संगीत’, ‘आशा ओ भालोबाशा’, ‘अमर तुमी’, ‘अमर प्रेम’, ‘मन्दिरा’, ‘बदनाम’, ‘रक्तलेखा’, ‘प्रिया’जस्ता बंगाली चलचित्रमा पनि सुपरहिट गीत दिए । उनको अन्तिम बलिउड गीत ‘भंकस’चाहिँ सन् २०२० को चलचित्र ‘बागी ३’ का लागि थियो । बिग बोस–१५ मा उनी अन्तिम पटक पर्दामा देखिएका थिए ।

बप्पीको खास नाम आलोकेश लाहिरी हो । शास्त्रीय संगीतको समृद्ध परम्परा भएको परिवारमा जन्मिएका बप्पीका पिता अपरेश लहरी एक प्रख्यात बंगाली गायक थिए भने आमा बंशोरी लहरी एक संगीतकार र गायिका थिइन्, जो शास्त्रीय संगीत र श्यामा संगीतमा पोख्त थिइन् । बप्पी उनीहरूका एक्ला सन्तान थिए ।

चार वर्षको उमेरमै लता मंगेशकरको एउटा गीतमा तबला बजाएर प्रख्यात भएका आलोकश लहरीलाई सबैले मायाले बप्पी भनेर बोलाउन थालेका थिए । त्यस बेलादेखि उनी बलिउडमा मात्र होइन, हलिउडमासमेत ‘बप्पीा’का नामले चर्चित भए । असीको दशकमा दर्शक/स्रोता बप्पीको डिस्को धुनमा नाचे, बप्पी पनि ‘डिस्को किङ’ कहलिए ।

बलिउड संगीतलाई डिजिटल भर्सनमा लैजाने संगीतकारमध्ये बप्पीको नाम अग्रपंक्तिमा आउँछ । सन् २०१९ मा बप्पीले बिबिसीसँग भनेका थिए, ‘मैले कैयौं अवार्ड जितेँ तर ग्रामी अवार्ड अहिलेसम्म जित्न पाएको छैन । मैले अहिलेसम्म पाँच पटक ग्रामीमा इन्ट्री पठाएको छु, यस पटक सुफी, लोक गीत र भारतीय संगीत शैलीका गीतहरू समेटिएको एल्बम ‘इण्डियन मेलोडी’ पठाएको छु ।’

राजेश खन्ना, जितेन्द्र, धर्मेन्द्र, सुनील दत्त, शशि कपूर र अमिताभ बच्चनजस्ता नायकको त्यो जमानामा बप्पी लहरीले दिग्गज संगीतकारसँग प्रतिष्पर्धा गदैै केवल तीन वर्षकै अवधिमा आफ्नो स्थान बनाए । उनी कम समयमै त्यो बेलाका हिट नायकहरूको रोजाइमा पर्ने प्रिय गायक र संगीतकार बने

हुन पनि, उनको संगीत हलिउडले धेरै पटक प्रयोग गरेको छ । सन् १९८१ मा प्रदर्शित चलचित्र ‘ज्योति’को गीत ‘कलियोंका चमन’ अमेरिकन टप ४० मा परेको थियो । बप्पीको निधनबाट भारतीय चलचित्र संगीतमा ‘पप–डिस्को संगीत’को एक युगको अन्त्य भएको छ, जुन युग उनैले सुरु गरेका थिए ।

संगीतकारदेखि गायकसम्म बेजोड

संगीत निर्देशकका रूपमा बप्पीको यात्रा सन् १९७३ को चलचित्र ‘नन्हा शिकारी’बाट भएको थियो । त्योबेला लक्ष्मीकान्त प्यारेलाल, कल्याणजी आनन्दजी र आरडी बर्मनजस्ता कैयौं दिग्गज संगीतकारको दबदबा थियो ।

राजेश खन्ना, जितेन्द्र, धर्मेन्द्र, सुनील दत्त, शशि कपूर र अमिताभ बच्चनजस्ता नायकको त्यो जमानामा बप्पी लहरीले दिग्गज संगीतकारसँग प्रतिष्पर्धा गदैै केवल तीन वर्षकै अवधिमा आफ्नो स्थान बनाए । उनी कम समयमै त्यो बेलाका हिट नायकहरूको रोजाइमा पर्ने प्रिय गायक र संगीतकार बने ।

बप्पीको चलचित्र संगीतले पहिलो पटक युवा पुस्तालाई मोहित पारेको चाहिँ सन् १९७५ को चलचित्र ‘जख्मी’को गीतले नै हो । यो चलचित्रका गीत कुन हदसम्म हिट भए भने त्यसले संगीत कम्पनी मात्र होइन, चलचित्र उद्योगकै धेरै हस्तीहरूलाई आश्चर्यमा पारिदियो । चलचित्रका पाँच वटै गीत बिलकुल पृथक थिए । लता मंगेशकरले गाएको ‘अभी अभी थी दुष्मनी’ होस्, बप्पी र किशोर कुमार मिलेर गाएको ‘नो थिंङ इम्पोसिबल’ होस् या किशोर कुमारले गाएको ‘जख्मी दिलोंका बदला चुकाने, आए हैं दिवाने’ नै किन नहोस्, अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

कसै–कसैले त यतिसम्म भने, ‘यो डिस्को संगीत हाम्रो देशमा चल्नेवाला छैन । दुई/चार वर्षपछि बप्पी लहरीको यो लहर फासफुस हुनेछ । तर ठीक उल्टो भयो । बप्पीका गीतहरूको पूर्णिमा चार दिनको होइन, दिन दुगुणा, रात चौगुणाको दरले बढ्दै गयो

यो चलचित्रको सफलतापछि बप्पीले अन्तिम घडीसम्म पछाडि फर्केर हेर्नु परेन । यद्यपि, चलचित्र उद्योगका केही व्यक्ति र संगीतप्रेमीलाई उनको यो नयाँ संगीत शैली खासै पचेन । उनीमाथि विभिन्न आरोपहरू लागे । कसै–कसैले त यतिसम्म भने, ‘यो डिस्को संगीत हाम्रो देशमा चल्नेवाला छैन । दुई/चार वर्षपछि बप्पी लहरीको यो लहर फासफुस हुनेछ । यो चार दिनको पूर्णिमा हो, यो बेकारको संगीत हो ।’

ठिक उल्टो भयो । बप्पीका गीतहरूको पूर्णिमा चार दिनको होइन, दिन दुगुणा, रात चौगुणाको दरले बढ्दै गयो । खासमा बप्पीको सफलताका चार कारण थिए । एक त उनी युवाको रुचि निकै राम्ररी बुझिरहेका थिए, दोस्रो उनी फटाफट धुन बनाउँथे । तेस्रो, ठूला गायक/गायिका बप्पीको प्रतिभा र व्यवहारबाट प्रभावित थिए । किशोर कुमार त उनका मामा नै पर्थे । त्यसैले बप्पीसँग काम गर्न गायक/गायिका तत्काल तयार भइहाल्थे । चौथो कारण के थियो भने उनी अन्य संगीत निर्देशकको तुलनामा पारिश्रमिक कम लिन्थे । अनि त निर्माता निर्देशकको रोजाइमा बप्पी नै पर्न थाले ।

कहाँसम्म भने बप्पी चलचित्र हिट भएपछि मात्र बाँकी पारिश्रमिक दिने शर्तमा पनि काम गर्न तयार हुन्थे । त्यसैले बप्पी दालाई ‘गरीब चलचित्र निर्माताहरुको आरडी बर्मन’समेत भन्न थालियो ।

‘जख्मी’पछि आएको बप्पीको चलचित्र ‘चलते चलते’को शीर्षक गीत त्यो वर्षको सुपर हिट गीत साबित भयो । बप्पीको संगीतमा किशोर कुमारले गाएको ‘चलते चलते मेरे यह गीत याद रखना, कभी अलबिना ना कहना’ अहिले पनि किशोर कुमारका सदाबहार हिट १० गीतमध्ये एक हो । सन् १९८७ मा किशोर कुमारको निधन हुँदा पनि उनलाई यही गीतले श्रद्धाञ्जली दिइएको थियो भने, बुधवार बप्पी लहरीलाई पनि यही गीतले श्रद्धाञ्जली दिइयो ।

यसपछि बप्पीले संगीत दिएका ‘आपकी खातिर’, ‘टूटे खिलौने’ र ‘लहू के दो रंग’जस्ता चलचित्र एकपछि अर्को हिट भए । ‘आपकी खातिर’मा बप्पीले नै गाएको ‘बम्बई से आया मेरा दोस्त’ले यस्तो धुम मचायो, जसको गुञ्जन आजसम्म कायम छ । यही गीतले बप्पीलाई संगीतकारसहित गायकका रूपमा पनि स्टार बनाइदियो ।

बप्पीको सफलताको योभन्दा ठूलो कहानी त सन् १९८० को दशकमा लेखियो, जब सन् १९८२ मा चलचित्र ‘डिस्को डान्सर’ प्रदर्शनमा आयो । यो त्यही चलचित्र हो, जसले बप्पी लहरी युगको सुरुवात गर्‍यो ।

सन् १९८७ मा किशोर कुमारको निधन हुँदा पनि उनलाई यही गीतले श्रद्धाञ्जली दिइएको थियो भने, बुधवार बप्पी लहरीलाई पनि यही गीतले श्रद्धाञ्जली दिइयो

बप्पीको संगीतमा विजय बेनेडिक्टले गाए, ‘आइ एम अ डिस्को डान्सर ।’ यसैगरी पावती खानले गाइन्, ‘जिमी जिमी आजा ।’ अनि उषा उत्थुपले गाइन्, ‘कोइ यहाँ आहा नाचे नाचे, आउवा अउवा ।’ यही चलचित्रमा सुरेश वाडकर र उषा मंगेशकरले ‘गोरो की ना कालों की’ र बप्पी लहरीले ‘याद आ रहा है, तेरा प्यार’ गाए ।

यी सबै गीत निकै पृथक थिए र यिनले हिन्दी चलचित्र संगीतको हावा नै बदलिदिए । यो चलचित्रबाट बप्पी लहरीको सफलता र लोकप्रियता त चुलियो नै, नयाँ नायक मिथुन चक्रवर्तीलाई पनि बलिउडको रकस्टार बनाइदियो । बप्पीलाई ‘गरिब निर्माताको आरडी बर्मन’ भनिएझैं मिथुनलाई पनि ‘गरीब फिल्मकर्मीका अमिताभ बच्चन’ भन्न थालियो ।

बप्पी लहरीले धमाधम एक से एक हिट संगीत रचिरहेकै थिए । सन् १९८६ मा उनले ३३ चलचित्रका १८० गीत रेकर्ड गरेर आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डसमा लेखाउन सफल भए ।

चर्चित नायकहरूका प्यारा संगीतकार

दक्षिणका चलचित्रकर्मीसँग जोडिएका बप्पीले जितेन्द्र, राजेश खन्नाजस्ता नायकका चलचित्रमा संगीत दिने मौका पाए भने, प्रकाश मेहरासँग सहकार्य गर्दा उनले अमिताभ बच्चनको ‘नमक हलाल’ र ‘शराबी’मा उनले नयाँ शैली प्रयोग गर्न पाए ।

जितेन्द्रले बप्पीको संगीतमा ‘हिम्मतवाला’, ‘तोहफा’, ‘मवाली’, ‘जस्टिस चौधरी’, ‘जानी दोस्त’ र ‘सिंहासन’जस्ता कैयौं चलचित्रमा अभिनय गरे ।

राजेश खन्नाको चलचित्र ‘आजका एमएलए’, ‘राम अवतार’, ‘मास्टजी’, बवफाइ’ र ‘मकसद’जस्ता चलचित्रमा पनि बप्पीले बेजोड संगीत दिए ।

अमिताभ बच्चनको ‘नमक हलाल’का सबै गीत हिट रहे । ‘जवानी जाने मन हसिना दिलरुवा’देखि ‘पग घुंघरु बाँध’सम्म हिट । चलचित्र ‘शराबी’को ‘लोग कहते है मै शराबी हुँ’देखि ‘जहाँ चार यार मिल जाए’सम्म हिट । हुँदा हुँदा बूढेशकालमा पनि बप्पीको गायनमा पुरानै ऊर्जा थियो । सन् २०११ मा प्रदर्शित चलचित्र ‘द डर्टी पिक्चर’मा उनले नवोदित गायिका श्रेया घोषालसँग गाएको ‘उह लाला उह लाला’ले त तहल्का नै मच्चायो ।

त्यसैगरी, सन् २०१३ मा प्रदर्शित चलचित्र ‘गुण्डे’को गीत ‘तुने मारी इन्टिया तो’मा पनि बप्पीले स्वर दिए । अनि सन् २०२० मा प्रदर्शित चलचित्र ‘शुभ मंगल सावधान’ र ‘बागी–३’मा पनि उनका पुराना दुई गीत राखियो ।

जीवनको उत्तरार्धमा पनि उनी चलचित्र, मनोरञ्जन र संगीतमा सक्रिय नै थिए । इण्डियन आइडलदेखि भ्वाइस अफ इण्डियाजस्ता कार्यक्रममा पनि उनी गइरहन्थे । पछिल्लो पटक उनी ‘बिग बोस’मा देखिँदा पनि जोश कायमै थियो ।

जमेन राजनीतिको राग

बप्पीले सन् २०१४ मा राजनीतिमा प्रवेश गर्ने कोसिस गरेका थिए । उनी त्यो वर्ष भारतीय जनता पार्टीमा सामेल भए । त्यसबेला उनले भनेका थिए, ‘देशव्यापी रूपमा नरेन्द्र मोदीको लहर छ ।’

हुन त सन् २००४ मा बप्पीले कांग्रेस पार्टीका लागि पनि प्रचार अभियान चलाएका थिए । जब उनी भाजपामा सामेल भए, त्यसबेला उनले भनेका थिए, ‘१० वर्ष पहिले कांग्रेसको लहर थियो, अब मोदीको लहर छ ।’

भाजपाले सन् २०१४ को लोकसभा चुनावमा बप्पीलाई हुगली जिल्लाको श्रीरामपुर क्षेत्रबाट उम्मेदवार बनायो, तर उनी चुनाव हारे ।

सन् २०१६ जुलाई ११ मा बप्पीले बिबिसीसँग भनेका थिए, ‘म मोदीको नजिकको मित्र हुँ । म उनलाई भेट्न गइरहन्छु । मोदीलाई संगीतको निकै सोख छ र प्रायः संगीतका बारेमा सोधिरहन्छन् । मोदीलाई ड्रम बजाउने ठूलो सोख रहेछ, उनले मेघालयमा पनि ड्रम बजाएका थिए । ड्रम खुसीको संकेत हो, म पनि तबला बजाउँछु ।’

बप्पी लहरीमाथि यी सबै उपचार विधि अपनाइएको थियो, तर उमेर र रोगको घनत्त्व बढ्दै गएकाले उनको निधन भयो

बप्पीलाई लागेको रोग

बप्पी लहरीलाई लागेको रोग हो, अब्सट्रक्टिभ स्लिप एपनिया । मेयो क्लिनिकका अनुसार, मानिस गहिरो निद्रामा हुन्छ, तब यो रोगले बारम्बार श्वास रोकिने र चल्ने लक्षण देखाउँछ । यस्तो समस्या तब हुन्छ, जब घाँटीको मांसपेशीहरू निद्राको दौरान रोकिँदै रोकिँदै आराम गर्छन् । यसले मानिसको वायुमार्ग अवरुद्ध गरिदिन्छ । यो रोगको उल्लेखनीय लक्षणचाहिँ घुर्नु हो, तर सबै घुर्ने मानिसमा यही रोग लाग्छ भन्ने पनि होइन ।

अब्सट्रक्टिभ स्लिप एपनियाका लक्षणहरूमा दिनमा निद्रा लाग्नु, ठूलो स्वरमा घुर्नु, निद्राका क्रममा श्वास रोकिनु, ऐंठन भएर राति अचानक जाग्नु, मुख सुक्नु र गलामा खसखस हुनु, बिहानपख टाउको दुख्नु, मनस्थिति परिवर्तन हुनु, उच्च रक्तचापको समस्या देखिनु र यौन इच्छामा कमी हुनु रहेका छन् ।

यो रोगको उपचार सम्भव छ । उपचारका क्रममा एक उपकरणको उपयोग आवश्यक हुन्छ । यो उपकरणले सुतेको बेला रोगीको वायुमार्ग खुला राख्न सकारात्मक दबाब दिन्छ । अर्को विकल्पका रूपमा निद्राका दौरान तल्लो जिब्रोलाई अगाडि बढाउन एउटा मुखपत्र राखिन्छ । कतिपय केसमा शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ ।

बप्पी लहरीमाथि यी सबै उपचार विधि अपनाइएको थियो, तर उमेर र रोगको घनत्त्व बढ्दै गएकाले उनको निधन भयो ।