NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते
समीक्षा : ‘गंगुबाई काठियाबाडी’

यौनकर्मीको कथामा भन्सालीको निम्छरो चलचित्र

काठमाडौं । बलिउड निर्देशक संजयलिला भन्साली कलात्मक र मर्मस्पर्शी चलचित्र बनाउन माहिर छन् । साहरूख खान र ऐश्यर्व रायलाई लिएर उनले निर्देशन गरेको ‘देवदास’को निकै प्रशंसा भएको थियो ।

चलचित्रहरू ‘खामोसी’, ‘हम दिल दे चुके सनम’, ‘ब्ल्याक’, ‘सावरिया’, ‘गुजारिश’, ‘रामलिला’, ‘बाजीराव मस्तानी’ र ‘पदमावत’मा उनको बेजोड निर्देशन क्षमता देख्न पाइन्छ ।

यद्यपि, भन्सालीको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘गंगुबाई काठियावाडी’ले भने समीक्षकबाट खासै राम्रो प्रतिक्रिया पाइरहेको छैन ।

तथापि, आलिया भट्ट अभिनित यो चलचित्रले बक्स अफिसमा पहिलो दिन बलियो सुरुवात त गरेको छ । पहिलो दिन भारत र नेपालका गरी ३ हजार बढी स्क्रिनमा रिलिज भएको ‘गंगुबाइ’ले पहिलो दिन करिब २७ प्रतिशत कक्युपेन्सी कायम गरेको छ, जुन कोरोनाकालमा राम्रै सुरुवात मान्नुपर्छ ।

चलचित्रले राम्रो मौखिक प्रचार हासिल गरेमा १०–११ करोडको कमाइ गर्ने अपेक्षा गरिएको थियो, तर यसले डबल डिजिट अंकको सुरुवात गर्न सकेन । पहिलो दिनको अकुपेन्सीका आधारमा चलचित्रले ७–८ करोडको कमाइ गरेको छ, जुन आलियाकै अघिल्लो चलचित्र ‘राजी’को ओपेनिङ कमाइकै हाराहारी हो ।

अब ‘गंगुबाई’ हिट हुनका लागि ‘राजी’भन्दा दुई गुणा बढी कमाउनुपर्नेछ । किनकि, ‘राजी’ एउटा कम बजेटको चलचित्र थियो, त्यसैले यसले १२० करोडको कमाइबाट पनि सुपरहिट भयो । तर, ‘गंगुबाई काडियाबाडी’को निर्माण लागत ठूलो भएकाले यस्ता चलचित्रले सप्ताहन्तसम्म तीव्र गतिका साथ कमाउनुपर्नेछ ।

‘गंगुबाई काडियाबाडी’ कोरोना कालपछि प्रदर्शनमा आएको तेस्रो सबैभन्दा ठूलो हिन्दी चलचित्र हो । यो चलचित्रमा करिब १८० करोड लगानी गरिएको छ र यो आलियाको सबैभन्दा महँगो चलचित्र हो । यसलाई हिट हुन कम्तीमा २ सय करोड रूपैयाँको कमाइ गर्नुपर्नेछ, जुन आगामी शुक्रबारसम्म थाहा हुनेछ ।

गंगादेखि गंगुबाइसम्म

भारतमा केही वर्ष पहिले एउटा किताब प्रकाशित भएको थियो, एस हुसैनको ‘माफिया क्विन’ । चलचित्र ‘गंगुबाई काडियाबाडी’को कथा यही पुस्तकमा आधारित छ । एउटी १८ वर्षकी युवती मुम्बईको रेड लाइट एरियामा कसरी ल्याइन्छिन् र उनी एक माफिया डनको घरमा निर्धक्क घुसिन् र यौन व्यवसायकी ‘रानी’ बनिन् भन्ने कथा यसमा देखाउन खोजिएको छ ।

कथा अनुसार १६ वर्षकी गंगा हरजीवन दास काठियाबाडी भारतको गुजरातस्थित काठियाबाड नामक गाउँकी एउटी युवती थिइन् । माता पिता गंगालाई पढाउन चाहन्थे, तर गंगामा भने हिरोइन बनेर बलिउडमा राज गर्ने सपना देखिरहेकी थिइन् । उनी आशा पारेख र हेमा मालीनीजस्ता त्योबेलाका चर्चित हिरोइनजस्तै बन्न चाहन्थिन् ।

एक दिन गंगाको पिताका साथ रमणिक नाम गरेको एउटा केटो कामदारका रूपमा आयो । रमणिक पहिलेदेखि नै मुम्बइमा बस्दै आएको थियो । जब यो कुरा गंगाले थाहा पाइन्, उनमा हर्षको सीमा रहेन ।

रमणिकमार्फत मुम्बई जाने एउटा सुवर्ण अवसर गंगासामु उपस्थित भयो । गंगाले रमणिकसँग दोस्ती गर्न थालिन् र जुन केही समयमै प्रेममा बदलियो । उनीहरूले भागेर विवाह गरे । मन्दिरमा विवाह गरेकी गंगा आफ्ना केही सामान र आमाका गरगहना चोरेर रमणिकसँग भागिन् ।

उनीहरू दुवै मुम्बई पुगे । केही दिन एकसाथ बिताएपछि रमणिकले गंगासँग भने, ‘जबसम्म बस्ने स्थायी ठाउँ भेटिँदैन, तिमी मेरी काकीसँग बस ।’

गंगाले रमणिकको कुरा मान्छिन् र काकीसँग टयाक्सीमा बसेर जान्छिन् । तर, उनलाई थाहा थिएन, पतिले उनलाई एक हजार रूपैयाँमा बेचिसकेका थिए ।

काकीले गंगालाई कमाठीपुरा भन्ने ठाउँमा लैजान्छिन्, जुन मुम्बईको कुख्यात ‘रेडलाइट एरिया’ थियो । गंगालाई जब यसबारेमा थाहा हुन्छ, उनी निकै चिच्याउँछिन्, गुहार माग्छिन् ।

अन्ततः गंगाले कोठीको जीवनसँग सम्झौता गर्छिन् । उनलाई थाहा भइसकेको थियो, अब त्यहाँबाट उम्किएर काठियाबाड आफ्नो घर फर्किन सक्दिनन् । एक त उनका घरकाले नै स्वीकार गर्ने छैनन् । बेइज्जतीको डरले उनले प्रतिरोध गर्न छाडिन र वेश्यालयमै बस्न थालिन् ।

समयक्रममा गंगा हरजीवनदास काठियबाडी अब गंगूमा परिणत भइसकेकी थिइन् र टाढा टाढासम्म उनको चर्चा हुन थालिसकेको थियो । कमाठीपुरा आउनेहरूले गंगूको सोधखोज गर्थे ।

एक दिनको कुरा हो, शौकत खान नाम गरेको पठान कमाठीपुरा आयो । उ सोझै गंगूको छेउमा पुग्यो र उनलाई निर्दयी पारामा चिमोटयो र घिसारेर भक्कुमार पिटयो । अनि पैसा नदिई आफ्नो बाटो लाग्यो । दोश्रो पटक पनि त्यो पठानले गंगूलाई निकै कुटयो, जसले गर्दा गंगूलाई अस्पताल नै भर्ना गर्नुपर्‍यो ।

वेश्यालय आउने ग्राहकले यस्तो व्यवहार प्रायः गर्दैनन्, उनीहरू वासनाका भोक तृप्त पारेर जान्छन् । तर, चलचित्रमा यस्ता अस्वभाविक दृष्य देखाइएको छ, जसको समीक्षकले धज्जी उडाइरहेका छन् ।

जे होस्, यो घटनापछि गंगूले आफुमाथि ज्यादती गर्ने पठानलाई दण्ड दिएरै छाडने अठोट गर्छिन् । खोज्दै जाँदा शौकत खान नाम गरेको पठान मुम्बईको प्रख्यात डन करीम लालाका लागि काम गर्दोरहेछ भन्ने गंगूले थाहा पाइन् ।

गंगू सोझै करीम लालालाई भेटन उनको घर पुग्छिन् । आफूमाथि भएको ज्यादतिबारे सारा वृत्तान्त बताउँछिन् । करिमले उनको सुरक्षा गर्ने बचन दिन्छन् । गंगूले पनि एउटा धागो राखीका रूपमा करिमको हातमा बाँधिदिन्छिन् र डनलाई आफ्नो भाइ बनाउँछिन् ।

तीन सातापछि शौकत खान पठान पुनः गंगूको कोठीमा आउँछ । त्यसैबेला सुराकीमार्फत करीम लाला पनि कोठीमा पुग्छन् । उनी शौकतलाई भक्कुमार गोद्छन् । करिम लाला सबैसामु चेतावनी दिन्छन्, ‘गंगू मेरी राखी बैनी हुन्, कसैले उनीमाथि हात मात्र लगाओस्, म उसलाई छाड्ने छैन ।’

यसपछि त के थियो, कमाठीपुरामा गंगूको शान नै बेग्लै भयो । विस्तारै उनको शक्ति बढ्दै गयो । उनी जुन घरमा रहन्थिन्, त्यहाँ एक घरवाली थिइन् । घरवालीको काम भनेको ४०–५० वटा कोठाको व्यवस्थापन गर्ने । अब घरवालीको चुनाव हुनेभयो । गंगूले डन करिमकै धाकको भरमा ‘घरवाली’ पदमा विजय पाइन् । त्यसपछि उनी ‘बडे घरवाली’ भइन् । वरिपरिका इलाकामा पनि उनको दबदबा बढ्दै गयो । अब उनी ‘गंगूबाई काठियाबाडी’का रूपमा प्रख्यात भइन् ।

गंगूबाईको एउटा नियम थियो । उनी कुनै पनि युवतीलाई उनको सहमितबिना वेश्यालयमा राख्दिन थिइन् । छाडेर जान चाहनेलाई उनी जान दिन्थिन् । विस्तारै उनी वेश्यावृत्तिमा धकेलिएका चेलीहरूको हकहितका लागि लड्न थालिन् । समान अधिकारको वकालत गर्न थालिन् ।

यति मात्र होइन, यौन कर्मलाई वैधानिक मान्यता दिनुपर्ने मुद्दालाई लिएर उनले तत्कालीन प्रधानमन्त्रीसम्मलाई भेटिन् । गंगूदेखि गंगूबाइ बन्दासम्मको घटनामै पूरै चलचित्र घुमेको छ ।

कमजोर लेखन, फितलो निर्देशन

सत्य पात्र र घटनामा आधारित यो चलचित्रलाई करिब अढाइ घण्टा लम्ब्याउन निर्देशकले बीचमा अनेक उपकथाहरू जोडेका छन् । चलचित्रका पात्रहरूमार्फत वेश्यावृत्तिलाई वैधानिक मान्यतादिनुपर्ने र यौनकर्मीको सम्मान हुनुपर्ने संवाद व्यापक बोल्न लगाइएको छ, जसलाई भारतको परम्परागत मान्यतामा विश्वास गर्ने समाजले पचाइरहेको छैन ।

प्रख्यात चलचित्र समीक्षक नीति सुधाका अनुसार चलचित्रमा ट्रेजेडी, रोमान्स, संगीत, मुद्दा सबै छ, तर त्यो प्रभावहीन छ ।

‘दमदार कथा खासमा कमजोर लेखन र निर्देशनको चपेटामा परेको छ । चलचित्रमा नाटकियता हाबी भएको छ, जसले भावनात्मक रूपमा दर्शकलाई कथा र पात्रसँग जोडन सक्दैन,’ नीतिको समीक्षा छ ।

गंगूबाइका रूपमा आलिया भट्टको अभिनय उम्दा छ । भावुक दृष्यमा उनको अनुहारमा व्यक्त पीडा भावले दर्शकलाई पनि भावुक बनाउँछ । यो भूमिकाका लागि आलियाले निकै मिहिनेत गरेको देखिन्छ ।

समाजसेविकाको पात्रतामा आलियाको आवाज र हाउभाउ केही बोल्ड देखिन्छ, जसमा उनले राम्रो अभिनय गरेकी छन् । तैपनि, यो आलियाको उत्कृष्ट पर्फमेन्सचाहिँ होइन । करिम लालाको भूमिकामा अजय देवगणले दर्शकमा छाप छाडेका छन् । गंगूबाइबाहेक अन्य कलाकारको भूमिकालाई कमजोर कथाले बिथोलेको छ । चर्चित कलाकार विजय राजको इन्ट्री त रजियाबाईका रूपमा धमाकेदार हुन्छ, तर बाँकी चलचित्रमा उनको भूमिका खासै छैन ।

चलचित्रको प्राविधिक पक्ष पनि औषत छ । अढाइ घण्टाको चलचित्रमा धेरै दृष्य दोहोरिएका छन् । सञ्जय लिला भन्साली आफ्नो चलचित्रमा भव्य सेट, वाइड सट, सुक्ष्म वृत्तान्तका लागि माहिर छन् । प्रोडक्सन डिजाइन पनि राम्रै छ । चलचित्रको अधिकांश दृष्य कमाठीपुराको भएकाले त्यसमा विविधता ल्याउन निर्देशक असफल भएका छन् । चलचित्रको सम्पादन, संगीत, निर्देशनको सबै जिम्मा आफैंले लिएकाले पनि निर्देशक भन्सालीले कुनै पनि पक्षमा पूर्णता दिन सकेनन् ।

निर्देशक भन्सालीले यसअघि उम्दा चलचित्र बनाएका छन् । तर, ‘गंगूबाइ काठियाबाडी’ उनको सबैभन्दा कमजोर चलचित्र हो । भारतका अधिकांश चलचित्र समीक्षकले यो चलचित्रका लागि एकदेखि बढीमा दुईसम्मको रेटिङ दिएका छन् ।

चर्चित एवं विवादास्पद समीक्षक केआरकेले त यसलाई ‘एउटा घटिया चलचित्र’को संज्ञा दिएका छन् ।

‘यो चलचित्रमा सञ्जयको निर्देशन निकै खराब छ । चलचित्रको कुनै पनि विभागलाई उनले सही ढंगले ह्याण्डल गर्न सकेनन् । चलचित्रमा उनले कतै पनि आफ्नो छाप छाड्न सकेनन् । मलाई लाग्छ, उनको दिमागमा एउटा भूत सवार भएको थियो कि आलिया भट्टका साथ चलचित्र बनाउने । सञ्जयले जयन्तीलाल गाढाबाट डेढ अर्ब रूपैयाँ पाएका थिए, त्यसबाट ७५ करोडको चलचित्र बनाए, ७५ करोड आफ्नो गोजीमा राखे । किस्सा खतम ।’

मुख्य कुरा चलचित्रले भन्न खोजेको कुरा नै स्पष्ट छैन । गंगुबाईको बायोपिक पनि हैन । यो फयाक्टसँग पनि नजिक छैन, फिक्सनजस्तो पनि छैन । चलचित्रले कताकतै यौनकर्मीको सम्मान र कानूनी वैधानिकताको कुरा उठाउन खोजेकोजस्तो देखिन्छ, तर चलचित्रको मूल विषयवस्तु पनि यो होइन । यसरी हेर्दा चलचित्र केवल गंगुबाईको कथामा काल्पनिक फिक्सन जोडेर बनाउन खोजिएको वणसंकर प्रस्तुति छ । यसर्थ समीक्षक केआरकेका अनुसार चलचित्रले बढीमा ५० देखि ६० करोडसम्मको व्यापार गर्नेछ ।