NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

कांग्रेसलाई एमालेसँग मिल्नबाट गगनले यसरी रोके

काठमाडौं । पार्टीको कार्यसम्पादन समितिको बैठकबाट लामो व्याख्या गरेदेखि नै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमसिसी पासलाई प्रतिष्ठानको विषय बनाएका थिए । एमसिसी पास गरेरै छोड्ने लाइनमा पार्टीभित्र समान मत पनि बनेको थियो ।

एमसिसीका विषयमा हुने हरेकजसो वार्तामा प्रधानमन्त्री देउवाले महामन्त्री गगन थापालाई छोडेनन् । सत्तारुढ गठबन्धन होस् कि एमाले अध्यक्ष केपी ओलीसँगकाे वार्तामा नै किन नहोस् देउवाले गगनलाई लान र पठाउन छुटाएनन् ।

एमसिसी पास गर्न सत्तारुढ गठबन्धन तोड्नेसम्मको तयारीमा देउवा थिए । किनकी माओवादी र नेकपा एकीकृत समाजवादी जस्ताको तस्तै एमसिसी पास गर्ने तयारीमा थिएनन् । सुरुमा एमसिसी टेबल गर्न सत्तारुढ दलले सहमति दिए । तर जस्ताको तस्तै एमसिसी पास गर्न नसकिने बरु सत्ता नै छोड्ने चेतावनी पटकपटक माओवादी र नेकपा एसका नेताहरूले दिइरहे ।

सत्तारुढ दलमै सकस देखिएपछि प्रधानमन्त्री देउवाले अर्को विकल्प खोजे एमालेलाई मनाउने । किनकी सत्ता गठबन्धनमा फाटो आए एमालेको साथ मिल्दा एमसिसी टुंगोमा पुर्याउन सकिन्छ भन्ने विश्वास देउवामा थियो । एमालेले संसद् अवरुद्ध गर्दै आए पनि एमसिसीको विरोध गरेको छैन ।

यसैले सत्तारुढ दलमा सहमति नहुँदाको विकल्प एमाले नै भएको भन्दै देउवाले सत्तारुढ दलसँग कुराकानी हुँदै गर्दा एमालेसँग पनि समानान्तर शैलीमा वार्ता अघि बढाए । यो बीचमा देउवा ओलीलाई भेट्न गए, ओली पनि उनलाई भेट्न आए । यो क्रम चारपटकसम्म चलिरह्यो ।

आफ्नो सरकारलाई विस्थापित गरेको सत्ता गठबन्धन भत्किन्छ भने माओवादी र नेकपा एसले सहयोग नगरे एमसिसी पास गराउन आफू तयार रहेको प्रष्टै सन्देश ओलीले देउवालाई दिए । तर यसका लागि सभामुखलाई हटाउनुपर्ने र नेकपा एसका १४ सांसदलाई कारवाही गर्नुपर्ने ओलीको शर्त थियो ।

एमसिसी पास हुन्छ भने सत्ता गठबन्धन टुटेपछि यी मागका विषयमा समेत सोच्न सकिनेमा देउवाले छलफल अघि बढाए ।
यो बीचमा सत्ता गठबन्धनमा पनि छलफल टरिसकेको थिएन । तर ५ फागुनमा कांग्रेस महामन्त्री गगन थापाले ल्याएको प्रस्तावले फेरि सत्तारुढ दलभित्रै एमसिसी पास गर्ने गरी प्रक्रिया अघि बढ्ने भएको छ ।

खासगरी एमसिसीका केही विषयमा माओवादी र नेकपा एसको चासो थियो । यो सम्झौता अमेरिकाको रणनीतिक र सैन्य सहयोग होइन अनुदान मात्रै हो भन्नेमा प्रष्ट हुनुपर्छ भन्ने थियो । यसैले यी विषयमा संसोधन भए एमसिसी पास गर्न आपत्ति नहुने बताएका थिए ।

पहिलेदेखि नै एमसिसीका विषयलाई संसोधनसहित पास हुनुपर्ने गरी बोल्दै आएका उनै गगनले धेरैतिर उठेका विषयमा व्याख्यात्मक टिप्पणीसहित अघि बढ्दा सहज हुने सत्ता गठबन्धनको बैठकमा ५ फागुनमा राखेका थिए । तर माओवादी र नेकपा एसले यो विषयलाई त्यत्ति प्राथमिकतामा राखेनन् । बरु एमसिसी पास नगर्ने अडान लिइरहे । तर गगनले प्रयास छोडिसकेका थिएनन् । एमसिसी पास गर्न देउवाको प्रष्ट लाइन बुझेका गगनले एमालेसँग पनि उत्तिकै नजिक भएर वार्ता गरेका थिए । सत्ता गठबन्धन अब अघि नबढ्नेसमेत गगनले संचारमाध्यमलाई बताइसकेका थिए ।

तर देउवाले यो बीचमा एमसिसी पास गर्नका लागि सबै विकल्पमा एमालेसँग खुलेर संवाद गरिरहे । यसको लागि सत्ता गठबन्धन तोड्न पनि तयार भए । एमालेका माग पनि पूरा गर्ने वचन देउवाले दिए । यस्तोमा माओवादी र नेकपा एस आफ्नो अडानमा टिकिरहन सकेनन् ।

आफूहरूको चासो पूरा हुने गरी एमसिसीमा उठेका प्रश्नबारे व्याख्यात्मक टिप्पणी हुन्छ भने एमसिसी पनि पास गर्ने र सत्ता गठबन्धन पनि जोगिने पक्षमा पुगे । संसद् विघटनदेखि पार्टी टुटफुट हुँदै बल्ल दुःखले बनेको सत्ता गठबन्धन टुटे धेरैथोक गिजोलिने देखेरै माओवादी र नेकपा एस मध्यमार्गी यो प्रस्तावमा राजी भएका हुन् ।

एमसिसी आर्थिक अनुदान मात्रै भएको तर रणनीतिक र सैन्य सहयोग नभएको विषयमा कांग्रेस नेता गगनले प्रचण्ड र माधव नेपालसहितका नेतालाई आश्वस्त पारका थिए । सहजताको हिसाबले एमालेभन्दा माओवादी र नेकपा एस नै सहज हुने र चुनावसम्मै अघि बढ्दा पनि अप्ठ्यारो नहुनेबारे कांग्रेसक नेताबीच निरन्तर संवाद भएको थियो ।

चुनावमा मुख्य गरी कांग्रेस र एमाले नै प्रतिस्पर्धी भएको भन्दै चुनावको मुखमा दुई बलिया राजनीतिक शक्ति मिल्नु उचित नहुने मत पनि कांग्रेसमा उठिरहेको थियो । प्रष्ट कानुनी हैसियत नहुने भए पनि राजनीतिक अर्थ र सन्देश दिने भएकोले एमसिसीको केही विवादास्पद विषयमा गरिने व्याख्यात्मक टिप्पणीले पनि तत्काललाई सत्ता गठबन्धन जोगिने देखिएको हो । यसमा संसदमा पनि छलफल गर्ने र सरकारकै तर्फबाट पनि व्याख्यात्मक टिप्प्णी गरेर अघि बढ्दा सहज हुने भन्दै प्रचण्ड र नेपाललाई आश्वस्त पारेपछि नयाँ सहमति बनेको कांग्रेस नेता रामचन्द्र पौडेलको मत छ ।

‘एमसिसीलाई व्याख्यात्मक घोषणासहित संसद्बाट पारित गर्ने निर्णय भयो । गठबन्धनमा सहमति गरेर अघि बढ्ने निर्णय भएको छ । एमसिसीबारे जे कुरामा शंका उठाइएको थियो । यसलाइ क्लियर पारेर जाने भन्ने भएको छ । यो इण्डो प्यासिफिक रणनीतिको अंग होइन । नेपालको कानुन अनुसार नै यो यो अघि बड्छ । नेपालको विकास सहयोगको रुपमा मात्रै बुझ्छौं’ कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘सदनमा उठेका प्रश्नलाई सरकारले व्याख्या टिप्पणीसहित यो सम्झौतालाई सँगै एट्याच गरेर आजै संसदको दोस्रो बैठकले पास गर्छ । यसमा प्रमुख प्रतिपक्षी दलको पनि सहयोग हुन्छ ।’

सरकारले व्याख्या पनि गर्ने संसदम उठेका कुरालाई पनि सम्बोधनसहित व्याख्यात्मक टिप्पणी गरेपछि एमसिसी पास गरेर जाने वातावरण बनेको पौडेल बताउँछन् ।