स्वास्थ्य मन्त्रालयको उत्कृष्ट कर्मचारी पुरस्कार बेनीका डा.जितेन्द्र कंडेललाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक लाख रुपैयाँ राशीको उत्कृष्ट कर्मचारी पुरस्कार डा. जितेन्द्र कंडेललाई प्रदान गरेको छ । डा. कंडेल हाल बेनी अस्पतालमा मेडिकल अधिकृतका रुपमा कार्यरत छन् ।
‘गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता’ भन्ने नाराका मन्त्रालयद्धारा आयोजित २४ औं स्वास्थ्य सेवा दिवस (०७८)को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उक्त पुरस्कार डा. कंडेललाई प्रदान गरिएको हो । स्वास्थ्यको क्षेत्रमा एक लाख रुपैया राशीको यो पुरस्कारलाई महत्वपूर्ण मानिन्छ ।
स्वास्थ्य सेवा दिवसकै अवसरमा मन्त्रालयले अन्य चार जनालाई पनि ५० हजार रुपैया राशीको पुरस्कारबाट पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेमा बाजुरा अस्पतालमा कार्यरत अनमी धनकला थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याब टेक्निसियन निरीक्षक ओम आचार्य, चतरा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब योगेन्द्र कट्टेल, प्रादेशिक अस्पताल गौरका ल्याब टेक्निसियन रामप्रवेश साह रहेका छन् ।
मन्त्रालयले सोही अवसरमा कोरोना माहामारीमा फ्रन्टलाइनरमा खटिने अन्य दश जनालाई पनि सम्मान गरेको छ ।
सम्मानित हुनेमा सञ्जीव कट्टेल फार्मेसी अधिकृत विराटनगर शाखा, रुद्रनारायण महत्तो कविराज जिल्ला आयुर्वेद रौतहट, बढेवाबु थापा वरिष्ठ फार्मासिस्ट अधिकृत स्वास्थ्य सेवा विभाग, प्रेमकुमारी केसी अनमी दर्लिङ स्वास्थ्यचौकी बागलुङ र डा. शरद चन्द्र बराल मेडिकल अधिकृत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लिला थापा महिला स्वास्थ्य स्वयंसेविका गुल्मी रहेका छन् ।
त्यसैगरी, गोकर्ण गिरी वरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया, सञ्जु रिजाल अस्पताल नर्सिङ निरीक्षक भेरी अस्पताल, लालबहादुर रोका हेल्थ असिस्टेन्ट गोकुले स्वास्थ्य चौकी महाभारत गाँउपालिका काभ्रे र गगन विक हलुका सवारी चालक खादाङ गाँउपालिका मुस्ताङमा कार्यरत रहेका छन् ।
मन्त्रालयले उक्त पुरस्कारबाट पुरस्कृत हुने स्वास्थ्यकर्मी तथा कर्मचारी छनौट गर्नका लागि मन्त्रालय प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको थियो ।
मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा निःशुल्क मिर्गौला परीक्षण, रक्तदान तथा अंग दानको कार्यक्रम समेत आयोजना गरेको थियो ।
प्रतिक्रिया