एउटा मुस्लिम, जो रामायण उर्दुमा अनुवाद गरेर विश्वभर पुर्याउँदैछन्
बालान संरक्षणमा पनि निरन्तर

‘०७६ चैतमा नै देशव्यापी बालान भजन प्रतियोगिता गर्ने तयारी गर्दै थियौं,’ हनिफ मियाले कोभिड–१९ महामारीका कारण प्रभावित दुई वर्ष अगाडिको त्यो योजना सुनाए, ‘तर विश्वव्यापी महाव्याधिका कारण त्यो कार्यक्रम गर्नै सकिएन ।’
मुस्लिम धर्मालम्बी मियालाई यो महायज्ञ गरेर हिन्दूहरूको धार्मिकसभा र कार्यमा गाइने तर लोप हुन लागेको बालान भजन संरक्षणमा इँटा थप्ने रहर छ । तर अझै परिस्थिति अनुकूल भएको छैन ।
बालन मात्रै होइन, रामायणलाई समेत उर्दुमा अनुवाद गरेका छन्, मियाले ।
एउटा मुस्लिम धर्मालम्बीले नितान्त अर्को धर्म हिन्दूको महाकाव्य रामायण किन यति धेरै प्रेम गरिरहेको छ ?
‘रामायण निकै समृद्ध छ । यसमा धेरै अनुकरणीय कुराहरू छन् । जसको उपादयेता सबै धर्मालम्बीमा उत्तिकै छ । तर धेरैले यो कुरा बुझेका छैनन् । यो कुरालाई मुस्लिमसमक्ष लगियो भने त्यसले फाइदा गर्छ भन्ने लागेर नै यस्तो लेठो गरेको हुँ,’ मियाले यसको भेद खोल्दै भने ।
मियाले संस्कृतमा आचार्य नै गरेका छन् । भारतमा गएर संस्कृत अध्ययन गर्दाको निकै रोचक स्मृति छन् उनीसँग ।
हिन्दूधर्मका विभिन्न संस्कृति र कृतिको संरक्षण तथा संवद्र्धनमा क्रियाशील मियाले संस्कृत भाषा अध्ययन, बालन संरक्षणदेखि रामायणलाई उर्दुमा अनुवाद गर्दासम्मका कथा यसरी सुनाए :
०००
तत्कालीन पोखरा नगरपालिका–१३ मा मेरो जन्म भएको हो । यो हिन्दू बाहुल्य स्थान हो । यो गाउँका हिन्दू भागवत्, रामायण पढ्थे । म सानो छँदा गाउँमा विभिन्न महायज्ञ हुन्थे त्यसमा म नबिराई सहभागी हुन्थेँ । निकै आनन्द महसुस हुन्थ्यो ।
मानिसको रुचिमा वातावरणको निकै ठूलो प्रभाव हुँदो रहेछ । मलाई यो क्षेत्रको माहोलले हिन्दू दर्शन र संस्कृतिप्रति रुचि जगाइदियो ।
हिन्दू धर्म र संस्कृतिप्रति रुचि त बढ्यो तर संस्कृत अध्ययनबेगर गहिराइमा पुग्न सफल थिएन । त्यसैले मैले सानैमा संस्कृत अध्ययन गर्ने निधो गरेँ । जसको निकै लामो र रोचक कहानी छ । त्यो म आज तपाईंलाई सुनाउँछु ।
कुरा २०२२ सालको हो । ममा संस्कृत भाषा र साहित्यप्रति यति धेरै रुचि जागृत भयो कि अरू कुरा सोच्नै नसक्ने अवस्थामा पुगिसकेको थिएँ । घरमा रोगी वृद्ध आमाबुवा हुनुहुन्थ्यो । यसर्थ मेरो काँधमा स्वभाविक रूपमा अतिरिक्त दायित्व थियो । तथापि, संस्कृत अध्ययन गर्ने यति धेरै हुटहुटी चल्यो कि पारिवारिक दायित्वलाई समेत मेरो चक्षुले गौण ठान्यो ।
अग्रजहरूबाट वनारसमा संस्कृतको राम्रो अध्ययन हुने सुनेको थिएँ । त्यसैले त्यहाँ पुग्ने खर्चको जोहो गरेर म बाटो लागेँ । ०२२ सालमा संस्कृत भाषा अध्ययनका लागि भर्ना भएँ । मैले लगातार ६ वर्ष अध्ययन गरेँ । मैले संस्कृतमा आचार्य तहको अध्ययन पूरा गरेको छु ।
त्यो समय मुस्लिमले संस्कृत अध्ययन गर्ने कुरा कल्पनाभन्दा बाहिर थियो । मुस्लिमलाई कुनै पनि गुरुकुलमा संस्कृत अध्ययनका लागि भर्ना लिइँदैनथ्यो । मुस्लिम भन्ने ज्ञात हुँदो हो त मैले कहाँ भर्ना पाउँथेँ हुँला र ? मैले त आफ्नो जात, धर्म र थर लु्काएको भएर मात्र यो सौभाग्य पाएको हुँ ।
६ वर्ष संस्कृत अध्ययन गर्दा एउटा रमाइलो घटना भएको छ । छात्रावासमा गौशाला पनि थियो । विद्यार्थी तथा शिक्षकले गाईको पोसिलो दूध खान पाऊन् भन्ने हेतुले यो सञ्चालन गरिएको थियो । सिकाइसँगै व्यवहारिक शिक्षा पनि हासिल् गरुनु भन्ने अर्को मक्सद पनि यसको थियो । त्यहाँ पालिएका गाईको स्याहार सुसारचाहिँ हामी विद्यार्थीले गथ्र्यौं । एक दिन म त्यहाँ पालिएका गाईको सेवा गरिरहेको थिएँ । गाउँका एक अग्रज टुप्लुक्क छात्रावासमा आइपुग्नु भयो । उहाँले देख्नेबित्तिकै भनिहाल्नुभयो– ओहो जेठा, तिमी पनि यहाँ ? त्यसपछि त के चाहियो, मेरो त सातो उडिहाल्यो । हुन पनि, धर्म र जात ढाँटेर अध्ययन गरेको मुस्लिमलाई ठूलो सजाय हुनसक्थ्यो । यही त्रासले भयभीत म छात्राबास छाडेर बाहिरिए । त्यसपछि म कहिल्यै फर्किएर त्यहाँ गइनँ ।
संस्कृतमा मलाई आचार्यभन्दा पनि माथि अध्ययन गर्न अघोर रुचि थियो । परिस्थितिहरूले मलाई साथ दिएन । सबैभन्दा ठूलो समस्याचाहिँ पारिवारिक थियो । मेरो परिवार निकै गरिब थियो । हामीसँग गुजाराका निम्ति सीमित जग्गा जमिन मात्र थियो । आचार्य अध्ययन गर्दैगर्दा बुवाआमा बिरामी भएको खबर पाएँ । आमाबुवाका भनेका जीवित भगवान् हुन् । जीवित भगवान्को सेवा गर्न छाडेर अन्यत्र भुल्नु मनासिव हुँदैनथ्यो । त्यसैले म पारिवारिक दायित्व वहन गर्न घर फर्किएँ । त्यसपछि चाहँदा चाहँदै पनि संस्कृत भाषाको थप अध्ययन गर्न पाइनँ ।
०००
०७१ मा प्रा. डा. कुष्माखर न्यौपाने सर पाल्पाको रामपुर जानु भएको थियो । त्यहाँबाट फर्केपछि उहाँले एउटा धार्मिक विषयमा केन्द्रित सांगीतिक कार्यक्रमबारे बताउनुभयो । त्यसमा एउटाले भट्याउने र बाँकीले भाका छोप्ने हुँदो रहेछ । अनि नाच्ने पनि । त्यो बालन रहेछ । यसमा राम, कृष्ण, महादेवलगायतको चरित्र चित्रण गरिने रहेछ ।
हिन्दूधर्म र संस्कृतिलाई नजिकबाट नियाल्दै आइरहेको भए पनि यसबारे म बेखबर रहेछु । न्यौपाने सरको कुरा सुनेपछि म त्यसबाट प्रभावित भए ।
बालान १० अवतार हुन्छ । हरिचन्द्र लीला, कृष्णलीला, हनुमानलीलालगायतका विभिन्न लीला हुन्छन् । यी लीलाहरूमा जागरण गर्ने ल्याकत छन् । त्यसैले यी कुरा जनतालाई दिन सकियो भने चेतना फैलन्छ कि भन्ने भाव ममा पलायो । त्यसपछि मैले यो कुरा अली मिया वाङमय प्रतिष्ठानमा राखे । डा. कुष्माकर न्यौपाने, डा. तुलसी प्रभावकरलगायत धेरै विद्वानले यसमा सहमति जनाउनुभयो ।
बालान भजन प्रस्तुत गर्ने कसैले पनि तालिम पाउनु भएको रहेनछ । पोशाक र बालनका लागि आवश्यक सरसामग्री पनि उहाँहरूसँग रहेनछ । लोप हुने अवस्थामा रहेको बालनबारे थाहा पाएपछि त्यसलाई जोगाउने र संरक्षण गर्ने सोच ममा पलायो । त्यसपछि हामीले आवश्यक तालिम र पोशाकलगायतका सामग्री दिएर उहाँहरूलाई सहयोग गर्यौं ।
बालन संरक्षणमा म र मेरो संस्थाले देखाएको सक्रियताप्रति धेरैले प्रश्न पनि गर्नुहुन्छ । एउटा मुस्लिम हिन्दू धर्म र संस्कृतिको जगेर्नामा लागेको देखेर आश्चर्य मान्नु हुन्छ । वास्तवमा हामीले के बुझ्नु पर्छ भने पहिले हामी नेपाली हौं र हाम्रो गौरव नेपालको संस्कृति हो । नेपालको संस्कृति सबै धर्मालम्बीको गौरवको विषय भएकाले यसको संरक्षणमा लागेको हुँ ।
अहिले म आफैंले पनि बालन सिकेको छु । गाउँछु । नाच्छु । आनन्द लाग्छ ।
०७६ चैत १८ गतेका लागि बालन महोत्सव गर्ने तय गरेका थियौं । काठमाडौंमा तय उक्त महोत्सवका लागि तयारी पनि लगभग सकिएको थियो ।
प्रथम हुनेलाई ४ लाख, द्वितीय हुनेलाई तीन लाख, तृत्तीयलाई २ लाख र सान्त्वनालाई १ लाख पुरस्कार दिने चाजोपाजो पनि मिलाइसकेका थियौं । तर यहीबीचमा कोरोना भाइरसको महाव्याधि आइदियो । देश लकडाउनमा गयो । त्यसैले हामीले चाहँदा चाहँदै पनि बालन महोत्सव निर्धारित समयमा गर्न सकेनौं ।
०००
मैले रामायणलाई उर्दु भाषामा अनुवाद पनि गरेको छु । यसका अतिरिक्त हिन्दीमा पनि गर्दैछु । ०७७ मा सार्वजनिक गर्ने सोचेको थिएँ । तर कोरोनाले महोत्सवजस्तै यो पनि प्रभावित भएको छ ।
प्रतिष्ठानको व्यस्तताले पूरै समय अनुवादमा लाग्न पाइएको छैन । एक अध्याय सकाउन ३ महिनासम्म लाग्यो ।
हेर्नुस् रामायण निकै समृद्ध छ । यसमा धेरै अनुकरणीय कुराहरू छन् । जसको उपादयेता सबै धर्मालम्बीमा उत्तिकै छ । तर धेरैले यो कुरा बुझेका छैनन् । यो कुरालाई मुस्लिमसमक्ष लगियो भने त्यसले फाइदा गर्छ भन्ने लागेर नै यस्तो लेठो गरेको हुँ । –विश्वका धेरै मुलुक मुस्लिम बाहुल्य छन् । अरेवियनलगायत विश्वका सबैजसो मुस्लिम देशमा यसलाई लैजाने सोच मैले बनाएको छु । हेरौं परिस्थितिले के कति साथ दिन्छ ।
पहिले–पहिले त मुस्लिम भाइहरूले संस्कृत पढेको, बालन संरक्षण गरेको रुचाएका थिएनन् । उनीहरूको नजरिया अर्कै थियो । मैले पूजा र संस्कृतिबारे बुझाएपछि भने उहाँहरू कन्भिन्स हुनु भयो । अहिले उहाँहरू खुसी हुनुहुन्छ ।
हिन्दू धर्म निकै समृद्ध र धनी छ । धेरै अनुकरणीय कुराहरू छन् यसका । तर यो भिल्लको देशमा मणिजस्तो भएको छ । सुन्दा अलि तीतो लाग्न सक्छ । तर सत्य के हो भने हिन्दू दर्शन अध्ययन गरेर यसलाई बुझ्न सक्ने ल्याकत नेपालका हिन्दूमा छैन भन्दा पनि हुन्छ । विश्वको एक मात्र हिन्दू राष्ट्रलाई धर्मनिरपेक्ष बनाएर हिन्दूहरुले आफ्नी आमालाई बलात्कार गरेका छन् । हिन्दूहरू गतिछाडा भएकैले म मुस्लिम यसको रखबारी गर्न जुटिरहेको छु । बालनको संरक्षणमा त म पछि जुटेको हुँ । ०३८ मा तत्कालीन पोखरा नगरपालिका–१३ को म वडासदस्य थिएँ । त्यतिबेलै फूलबारीमा राम मन्दिर बनाएको थिएँ । आफ्नै अगुवाइमा भानुभक्तको सालिक पनि बनाएँ । भानुभक्तको सालिक बनाउँदा मेरो खल्तीकै ४ लाख खर्च भएको छ ।
(मियासँगको कुराकानीमा आधारित)
प्रतिक्रिया