NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

शासकलाई नपचेका, स्रोताले मन पराएका गीतहरू

काठमाडौं । ०५६ सालको चुनावलगत्तै नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने । त्यसैताक नेपाली चलचित्र ‘मिस्टर रामकृष्णे’ प्रदर्शनमा आयो । करिष्मा मानन्धर र राजेश हमालको मुख्य भूमिका रहेको यो चलचित्रको एउटा गीत प्रधानमन्त्री भट्टराईलाई मन परेन–

‘किशुनजी, किशुनजी, जाने हो कि मेरो जोवन…’

शम्भुजित बाँस्कोटाको संगीत र सराना श्रेष्ठको स्वर रहेको यो गीतको फिल्मांकन पनि गजबकै थियो । नायक राजेशलाई कृष्ण र नायिका करिष्मालाई राधाजस्तो भेषभुषामा वृन्दावनमा नाचिरहेको देखाइन्छ, जहाँ अन्य गोपिनीहरू पनि झरनामा नुहाउँदै हुन्छन् ।

गीतका शब्द र भिडियोमा कुनै कैफियत थिएन । तर कैफियत थियो, त्यति बेलाका शासन सत्ता वरिपरि रहेका केही मानिसहरूको सोचमा । प्रधानमन्त्री भट्टराई ‘सन्त नेता किशुनजी’का रूपमा सम्मानित थिए । त्यसैले सत्ता इर्दगिर्दमा रहेकालाई लाग्यो होला, अविवाहित किशुनजीको विम्ब कुनै चलचित्रमा राख्नु भनेको प्रधानमन्त्रीकै अपमान हो । अनि त चलचित्रमा आउनुअघि नै त्यो गीत हटाउन लगाइयो ।

‘प्रधानमन्त्री भट्टराई अविवाहित हुनुभएकाले गीतले उहाँलाई जिस्क्याएकोजस्तो लाग्यो रे । त्यो गीत सुन्दा प्रधानमन्त्रीलाई पनि नमज्जा लाग्यो भनेपछि हटाइएको रहेछ,’ गायिका सराना भन्छिन् ।

प्रधानमन्त्री भट्टराई ‘सन्त नेता किशुनजी’का रूपमा सम्मानित थिए । त्यसैले सत्ता इर्दगिर्दमा रहेकालाई लाग्यो होला, अविवाहित किशुनजीको विम्ब कुनै चलचित्रमा राख्नु भनेको प्रधानमन्त्रीकै अपमान हो । अनि त चलचित्रमा आउनुअघि नै त्यो गीत हटाउन लगाइयो

यो गीत अहिले विभिन्न युट्युब च्यानलमा हेर्न सकिन्छ । चलचित्रमा हाल्नुअघि नै शासकहरूको कोपभाजनमा परेको ‘किशुनजी’ बोलको गीतबारे उतिबेला खासै चर्चा भएन, किनकि उतिबेला अहिलेजस्तो सामाजिक सञ्जाल, अनलाइन मिडिया र सूचनाको पहुँच आमजनतासम्म थिएन । तर शासक र तिनका इर्दगिर्द रहेकाहरूको मानसिकता सधैं उस्तै हुन्छ भन्ने यसबाट स्पष्ट हुन्छ ।

‘देशको काट्टो खानेहरूले…’

२०५४ सालमा एउटा गीत भूषण दाहालले स्थापना गरेको दिव्यदर्शन टिभीमा बज्न थाल्यो, ‘माछी मार्न जाऊँ न क्यारे कालापानीमा… ।

लामो कपाल पाल्ने गायक जे पापी र विधान श्रेष्ठले गाएको यो गीतले कालापानी अतिक्रमण, नेपालका नदी नालामाथि छिमेकीको हैकम र थिचोमिचोमाथि कटाक्ष गरेको छ । भूषण दाहालले निर्देशन गरेको यो गीतको भिडियो केही समय इमेज च्यानल, दिव्य दर्शन टिभी र च्यानल नेपालमा प्रसारण भयो । तर एकाएक यो गीतको प्रसारण बन्द भयो ।

‘हाम्रो दक्षिणी छिमेकीले मेरो गीतमाथि प्रतिबन्ध लगाउन हाम्रा शासकहरूलाई त्योबेला दबाब दिएकै हो,’ गायक जे पापी भन्छन्, ‘भारतले नेपालमा जे नराम्रो गर्दा पनि हुन्छ, तर हामीले भारतको विषयमा केही नराम्रो गर्नुहुँदैन । कालापानी गीत नै बन्द गराइयो ।’

गीत आमदर्शक र स्रोताले चाहिँ औधी मन पराएका थिए । अर्थात् जे पापीको गीत सामाजिक रूपमा विवादमा थिएन, कूटनीतिक तहको एउटा
तप्कालाई मन नपरेको मात्र हो । यद्यपि, गायक पापीले धेरैपछि अर्को विवादास्पद गीत ल्याए, जतिबेला मुलुकमा संविधानसभामार्फत संविधान निर्माण प्रक्रिया चलिरहेको थियो । त्यो गीत थियो–

‘सेता–सेता कपडामा
काला–काला मान्छे
‘जनताद्वारा जनताले जनतालाई’ भन्थे
कंगाल भए जनता नांगो पारे राष्ट्र
यो देशको काट्टो खानेहरूले
शरणार्थीजस्तो जीवन आफ्नै देशभित्र
डरलाग्छ देख्दा संगी, साथी, मित्र
डर लाग्छ आफ्नै दैलोभित्र छिर्न
यो देशको काट्टो खानेहरूले…’

यो गीतमा अरू शब्दप्रति शासकहरूलाई कुनै आपत्ति थिएन । वश, एउटा ‘काट्टो’ शब्दले बित्यास पारेछ । राजाको निधनपछि कुनै निश्चित ब्राह्मणलाई ‘काट्टो’ खुवाउने परम्परा थियो । राजाको शवकै सानो अंश मिसाएर निर्मित भोजनलाई नै ‘काट्टो’ भन्ने भ्रम जनमानसमा रहे पनि खासमा त्यस्तोचाहिँ होइन ।

चलचित्रमा हाल्नुअघि नै शासकहरूको कोपभाजनमा परेको ‘किशुनजी’ बोलको गीतबारे उतिबेला खासै चर्चा भएन, किनकि उतिबेला अहिलेजस्तो सामाजिक सञ्जाल, अनलाइन मिडिया र सूचनाको पहुँच आमजनतासम्म थिएन

काट्टो भनेको राजाको निधनको एघारौं दिनमा बाहुनलाई कर्ताले खुवाउने भोजन हो । त्यसै दिन बाहुनलाई विशेष दान पनि दिइन्छ । दिवंगत राजा वीरेन्द्रको काट्टो दुर्गाप्रसाद सापकोटा (हाल दिवंगत)लाई खुवाइएको थियो र थानकोट कटाइएको थियो । मानवअधिकारवादीहरूको होहल्लापछि उनी सुटुक्क काठमाडौं आएका थिए ।

काट्टो खानु परम्परागत कर्मकाण्ड भए पनि नेपाली समाजमा यसलाई हेय दृष्टिले हेर्ने गरिन्छ । अतः ‘काट्टो’ शब्दको अर्थ एघारौं दिनमा ब्राह्मणलाई खुवाइने स्वादिष्ट भोजन भएपछि भ्रमका कारण शासकहरूले जे पापीको गीतमा उल्लिखित ‘काट्टो’ शब्द पचाएनन् । उनको गीतमाथि प्रतिबन्ध लाग्यो ।

‘लोकतन्त्र, गणतन्त्र, संघीयता कुनै पनि तन्त्रले नेपालको राष्ट्रियता जगेर्ना गर्न नसकेपछि आजित भएर यो गीत गाएको थिएँ । देशलाई मरणासन्न अवस्थामा पुर्‍याएर आफूहरू चाहिँ मोजमस्तीमा रमाउने नेताहरूप्रति मेरो आक्रोश थियो । नेताहरूलाई मेरो गीत पचेन, जनताले औधी रुचाए’, गायक पापी भन्छन् ।

‘नौ लाखा तारा’को हलचल

सन् १९५० तिर दार्जिलिङका हरेक नेपालीको जिब्रोमा झुण्डिएको गीत थियो, ‘नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ’ ।

स्टेजहरूमा गुञ्जने यो गीत सन् १९६० मा कलकत्तामा रेकर्ड भयो । सचिनमणि गुरुङको आर्थिक सहयोगमा गायक अम्बर गुरुङको स्वरमा यो गीत रेकर्ड भएको थियो । ‘नौलाख तारा’ कुन हदसम्म हिट भयो भने दार्जिलिङका पसल–पसलमा माइकमा बज्थ्यो ।

एक पटक राजा महेन्द्र दार्जिलिङ भ्रमणमा थिए । त्यसबेला राजाको सम्मानमा आयोजित सांस्कृतिक कार्यक्रममा अम्बरले ‘नौ लाखे तारा’ गाएछन् । गीत सुनेर राजा महेन्द्र निकै भावुक भएछन् । राजाले गायक अम्बरलाई नेपाल डाके र यतै बसोबासको व्यवस्था मिलाइदिए ।

नेपाली समुदायमाझ लोकप्रिय भइरहेको यो गीत भारतका केन्द्रीय शासकलाई चाहिँ मन परेन । तिनताक भारतमा नेपालीको संख्या नौ लाख थियो भन्ने गरिन्छ । गीतले भारतमा नेपालीमाथि अन्याय र थिचोमिचो भइरहेको भाव बोकेको थियो । भारतीय रेडियो प्रसारण संस्था ‘प्रसार भारती’का तत्कालीन निर्देशक अनुपम लाहिरीले सो गीतको बारेमा भारत सरकारलाई अवगत गराए ।

भारतमा रहेका नेपालीलाई भड्काउने खालको गीत ठहर गर्दै भारत सरकारले गायक अम्बरलाई सार्वजनिक स्थानमा यो गीत नगाउन उर्दी जारी गर्‍यो । भारतले गीतमाथि प्रतिबन्ध लगाएपछि नेपालका शासकले पनि प्रतिबन्ध लगाए । कालान्तरमा भारत र नेपाल दुवैले गीतमाथिको प्रतिबन्ध हटाए । जुन गीत यस्तो थियो–

‘नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ
शरद लाग्यो डाँडामा फूलले प्रीति गाँसेछ
नजली यहाँ झिलिली मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा, मनको धुलो झरेछ
नसम्झ आज नेपाली सञ्चोले यहाँ बाँचेको
काँडाको माझ पहाडी फूल् छैन र कहाँ हाँसेको
सुनको सपना आँखामा किन हो बाँधिल्यायौं नि
घरको माया बिर्सेर किन पो यहाँ आयौं नि
मुटुको रगत एउटै हो, पिरको बह बेग्लै छ
हामीलाई यहाँ चिन्यौं कि मनको चोट बेग्लै छ
नियाली हेर हामीलाई भिजेको छैन परेला
आँसुले गह भिजाए, अरूले निर्धा सम्झेला
बुझ्छ र कल्ले रोएको मुटुमा काँडा लिएर
अरूको सारमा हाँसेको आँसुका घुट्का पिएर
पहाडी फूल नफक्री किन होे चुँडिल्यायौं नि
मनको आगो निभाउन किन पो यहाँ आयौ नि ?’

‘सुगौली सन्धि’को नभुलेको गीत

सन् १८१५ को डिसेम्बर २ मा भएको ‘सुगौली सन्धि’मा नेपाल ठगिएको गुनासो अझै पनि सुन्ने गरिन्छ । भारतमा बेलायतको औपनिवेशिक हैकम हुँदा बेलायतले नेपालका धेरै भूमि हडपेको थियो । सन् १९४७ मा भारत बेलायतको उपनिवेशबाट भए पनि नेपालले आफ्नो भूमि फिर्ता पाएन । बरु ‘सुगौलि सन्धि’ले नेपालीलाई आहत बनायो ।

जतिबेला अम्बर गुरुङले ‘नौ लाख तारा उदाए’ कलकत्तामा रेकर्ड गराएका थिए, त्यसैबेला उनले अर्को गीत पनि लेखेका थिए,
‘सुगौली सन्धि हामीले बिर्सेको छैनौं भनिदेऊ…’

गायकले यो गीत कहिल्यै रेकर्ड गराएनन् । ०५४ असार ६ मा काठमाडौंको डिल्लीबजारस्थित फ्रान्सेली सांस्कृतिक केन्द्रमा ‘सगरमाथा अम्बर साँझ’ आयोजना भएको थियो । सो कार्यक्रममा चाहिँ गायकले यो गीत रेकर्ड गर्ने अनुमति दिए । तर उनको शर्त थियो, आफू जीवित हुँदासम्म गीत विद्युतीय माध्यममा नबजाउने र गीतको बीचमा आफूले केही बोल्ने ।’

कार्यक्रममा अम्बरले गाएको रेकर्ड भयो । तर कतै बजेन । नेपालले सुगौली सन्धि मानिसकेकाले नेपालमा यो गीत बजाउनुको खासै अर्थ नदेखेर होला, गायक अम्बरले आफू बाचुञ्जेल नबजाउने शर्त राखेका थिए । अर्थात् यो यस्तो गीत हो, जुन गायक आफैंले बजाउन मानेनन् ।
०७३ जेठ २५ गते ७९ वर्षको उमेर गायक अम्बरको निधन भयो । त्यसकै भोलिपल्ट रेडियो सगरमाथाको कार्यक्रम ‘खुल्लामञ्च’मा रेडियो सगरमाथाकै तत्कालीन निर्देशक रघु मैनालीको अन्तर्वार्तासहित यो गीत पहिलो पटक बज्यो ।

सुगौली सन्धि हामीले बिर्सेको छैन भनिदेऊ,
किल्ला काँगडा हामीले बिर्सेको छैन भनिदेऊ
हामीलाई यसै गिज्याइ बेलाले केही भन्दैछ,
जलेका लाख मुटुलाई काँडाले यहाँ उन्दैछ
सुनेर केही बुझ्यौ कि पिरले छाती पगाली
धिक्कारी देला युगले दुर्बल सम्झी नेपाली
सुगौली सन्धि हामीले …’

‘भिटेन र दुर्गेश’ प्रवृत्ति

नेपाली संगीतमा अम्बर गुरुङ र जे पापीजस्ता राष्ट्रियता झल्काउने गीतहरूमाथि प्रतिबन्ध लाग्दा अभिव्यक्ति स्वतन्त्रताको खासै कुरा उठेको थिएन । तर कतिपय समाज भाँड्ने गीत विवादमा आउँदा भने व्यापक रूपमा अभिव्यक्ति स्वतन्त्रताको कुरा उठ्यो ।

०७६ कात्तिकमा प्रहरीले चर्चित र्‍यापर भिटेन (समीर घिसिङ) र गायक दुर्गेश थापालाई पक्राउ गर्‍यो । भिटेनको ‘हामी यस्तै त हो नी ब्रो…’ बोलको गीतमा रहेका अश्लील शब्द र फेसबुकमा अपलोड गरिएका तस्बिरलाई लिएर प्रहरीले उनीमाथि ‘अभद्र व्यवहार’को मुद्दा चलाउन पक्राउ गरेको थियो ।

त्यसैगरी, दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरू प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको थियो ।

दुर्गेशको गीतमा ‘कानूनबमोजिम नेपालमा प्रतिबन्धित लागूऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुनेगरी संगीत भरेर दृष्य छायांकन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध लगाइएको’ सरकारको जिकिर थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृह मन्त्रालयको पत्रानुसार थापाको युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमाथि आमसञ्चार माध्यममा प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको थियो ।

भिटेन र दुर्गेशका गीतमाथिको प्रतिबन्धलाई लिएर अधिकारकर्मीहरूले व्यापक आवाज उठाएका थिए । हुन त, भिटेनले हालै सार्वजनिक गरेको गीतमा पनि अश्लील भनिने शब्दको कुनै कमी छैन । र्‍याप गीतहरूमा प्रायः ‘स्लयाङ’ शब्दकै बोलबोला हुने गरेको छ । तैपनि, यसलाई मर्यादित र दमदार बनाउन सकिने गायक युवराज चौंलागाईं बताउँछन् ।

‘सोझै कडा शब्द राख्नुभन्दा विम्बात्मक र सांकेतिक शब्द राखेर पनि गीतलाई प्रभावकारी बनाउन सकिन्छ । घरमा परिवारका सदस्य बसेर सुन्नै नसकिने खालका शब्दचाहिँ सकेसम्म राख्नु हुँदैन,’ चौलागाईं भन्छन् ।
‘लुटन सके लुट’माथिको आक्रमण

हुन त राणाकालमा ‘मकैको खेती’ लेखेबापत सुब्बा कृष्णलाल अधिकारीलाई तात्कालीन राणा शासकले राजकाजकाज ताकेको आरोपमा पक्राउ गरेको थियो । जेलमा नै उनको मृत्यु भएको थियो । मकैबारीमा लाग्ने कीराका बारेमा लेखिएको पुस्तकलाई राणाहरूले कीराका रूपमा आफूहरूलाई चित्रण गरेको ठानेका थिए ।

‘लोकतन्त्र, गणतन्त्र, संघीयता कुनै पनि तन्त्रले नेपालको राष्ट्रियता जगेर्ना गर्न नसकेपछि आजित भएर यो गीत गाएको थिएँ । देशलाई मरणासन्न अवस्थामा पुर्‍याएर आफूहरू चाहिँ मोजमस्तीमा रमाउने नेताहरूप्रति मेरो आक्रोश थियो । नेताहरूलाई मेरो गीत पचेन, जनताले औधी रुचाए– गायक पापी

यो त लेखनको कुरा भयो । राणा र पञ्चायतकालमा जनताका आवाज गीत, साहित्य र चित्रकलामार्फत अभिव्यक्त गर्दा सर्जकहरू पक्राउ परेका र उनीहरूमाथि प्रतिबन्ध लगाइएका घटना अनेक छ । तर लोकतन्त्रपछि पनि यो क्रम रोकिएन ।

गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ मार्फत देशमा व्याप्त भ्रष्टाचारमाथि व्यंग्य कसेपछि तत्कालीन केपी ओली सरकारमा हड्कम्प नै
मच्चियो । गीतमा घुमाउरो पारामा ओलीकै आलोचना गरिएको थियो । ‘भाषण मात्रै गरेको, काम केही नगरेको’ भन्दै गीतमा आलोचना भयो ।
राष्ट्रपतिले डेढ अर्बको हेलिकोप्टर चढ्दा जनताले सिटामोल नपाएको तर, नेताका गलत रवैयाविरुद्ध कार्यकर्ता निरीह भएको सन्देश गीतले दिन खोजेको थियो । यो गीत जनताले औधी रुचाए, किनकि गीतले जनताकै बोली बोलेको थियो ।

गीत भाइरल भयो । ट्रेण्डिङमा नम्बर एक भयो । एमालेलाई यो पचेन । एमाले निकट युवा संघले खुला धम्की दियो । अहिले गायक प्रकाश सपुतको गीतले ‘वास्तविकता बोलेको’ भन्दै कुर्लंने युवा संघका नेताहरू उतिबेला गायक शर्मामाथि व्यापक धम्की दिइरहेका थिए ।

गीतको आलोचना भएको भन्दै गायक पशुपति शर्माले आफ्नै युट्युब च्यानमा अपलोड गरेको गीतका केही दृष्य र शब्द हटाए । त्यसबेला उनले भनेका थिए, ‘सर्वप्रथम त म यहाँहरूलाई जानकारी गराउन चाहन्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिनँ । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतीलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्येय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर यो गीत बनाएको पनि होइन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरूमा मेरा केही शुभचिन्तकहरूको असन्तुष्टि रहन गएकाले जुन–जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरूलाई परिमार्जन गर्न गइरहेको छु ।’

यसरी राजनीतिक दबाबमा सर्जकका सार्थक र जनताले मन पराएका शब्द हटाउन बाध्य पार्ने एमालेका अध्यक्ष केपी ओलीचाहिँ ‘माओवादीको भण्डाफोर गरेको’ भन्दै प्रकाश सपुतको गीतको प्रशंसा गरिरहेका छन् । आफूलाई पर्दा विरोध गर्ने, अरूलाई पर्दा ताली बजाउने प्रवृत्ति राजनीतिक वृत्तमा रहुञ्जेल सर्जकमाथि यस्ता आक्रमण भइरहनेछन् ।

गीत नै ‘देशद्रोही’

शासकले नपचाउने गीतहरूमध्ये एउटा यस्तो गीत पनि आयो, जसलाई स्रोताले पनि पटक्कै मन पराएनन् । ‘देशद्रोही’ बोलको गीतको भने जनस्तरबाटै चर्को विरोध भयो ।

नहोस् पनि किन ? राष्ट्रिय झण्डा जलाउँदै बाहुन–क्षेत्री समुदायमाथि असभ्य शब्दहरूले गाली गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । ‘मंगोल होप’ नाम युट्युब च्यानलमार्फत सार्वजनिक ‘देशदोह«ी’ नामक गीतमा नेपालको झण्डा जलाउँदै बाहुन–क्षेत्री समुदायमाथि गाली गरिएको थियो । गीतमा झण्डासँग सँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीहरूसँगै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि गाली गर्दै फोटो जलाइएको थियो ।

मकवानपुरको सल्लेरीस्थित विष्णु आधारभूत माध्यमिक विद्यालयको प्राङ्गणमा तयार पारिएको भिडियोमा बाहुन–क्षेत्रीलाई देशद्रोही शरणार्थी भन्दै सरापिएको थियो । हिन्दू झण्डा भन्दै नेपालको झण्डा जलाउँदै छायांकन गरिएको भिडियोमा ‘मंगोलियन र्‍याप’ भनिएको थियो, जसमा गीतका रचनाकार र गायक मंगोल ग्याल्जे ली र एटिएम उल्लेख थियो ।

यो गीतका नेपालमा व्यापक विरोध भयो । नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ ।

अन्ततः राष्ट्रिय झण्डा जलाउने ९ जनालाई प्रहरीले पक्राउ गर्‍यो । म्युजिक भिडियो बनउने मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङसहित उनीहरू पक्राउ परेका थिए ।