NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २८ गते
स्थानीय निर्वाचन विशेष

विवेकशील र साझाले चामत्कारिक मत ल्याएको काठमाडौंको रोचक चुनावी समीकरण यस्तो छ

एमालेलाई सत्ता गठबन्धनको डर

काठमाडाैं । स्थानीय तह चुनावको मिति नजिकिएसँगै काठमाडाैं महानगरपालिकामा पनि हारजितको आकलन सुरु भएको छ । मुलुककै संघीय राजधानी भएका कारण काठमाडौँ महानगरमाथिको जितलाई दलहरूले प्रतिष्ठाको विषय बनाउने गरेका छन् । गत चुनावको परिणाम हेर्ने हो भने महानगरमा नेकपा एमालेको आधार मजबुत देखिन्छ । तर, भावि परिणाम आकलन गर्न सजिलो छैन । यद्यपि, काठमाडौँमा मुख्य प्रतिस्पर्धा भने एमाले र कांग्रेसकै बीचमा हुने गरेको छ । तर, गत चुनावमा विवेकशील र साझा पार्टीले पनि महानगरमा चामत्कारिक मत ल्याएका थिए । २०७४ सालको निर्वाचनमा कुन दलको परिणाम कस्तो थियो पहिले त्यो हेरौँ ।

अघिल्लो चुनावको परिणाम

गत चुनावमा काठमाडाैं महानगरमा एमालेले मेयर र कांग्रेसले उपमेयर जितेको थियो । एमालेले राप्रपासँग तालमेल गरेको थियो । मेयरमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार नौ सय १३ मत ल्याएर विजयी भए । निकटम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार दुई सय ६९ मत ल्याए । विवेकशील नेपाली दलकी युवा उम्मेदवार रञ्जु न्यौपानेले २३ हजार चार सय ३९ मत ल्याएर धेरैलाई चकित पारिन् । साझा पार्टीको समर्थनमा उम्मेदवार बनेका पूर्वप्रशासक किशोर थापाले पनि १८ हजार चार सय ९६ मत ल्याए । काठमाडौँ महानगरमा माओवादी केन्द्र भने कमजोर देखियो । उसका उम्मेदवार सर्वोत्तमदास डंगोलले सात हजार नौ सय ६ मत मात्रै ल्याए । जब कि तत्कालीन नयाँ शक्तिकी पवित्र वज्राचार्यले पनि ६ हजारभन्दा बढी मत ल्याइन् ।

उपमेयर कांग्रेसले जिते पनि वडास्तरमा भने एमालेले वर्चस्व बनाएको थियो । काठमाडौँ महानगरका ३२ वडामध्ये १८ वटामा एमालेले अध्यक्ष जित्यो । बाँकी १४ मा कांग्रेसले बाजी मार्दा अन्य दल शून्य भए

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार नौ सय ५२ मत ल्याएर जित निकालिन् । एमालेले उपमेयर राप्रपालाई दिएको थियो, तर सहमतिको गतिलोसँग पालना नभएको परिणामले देखायो । अर्थात् एमालेका धेरै भोट राप्रपामा गएनन् । त्यसैले कांग्रेसलाई सजिलो भयो । राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार आठ सय ५४ मत मात्रै ल्याए । साझा पार्टीका निरुपमा यादवले तेस्रो बढी अर्थात् ११ हजार पाँच सय ३३ मत ल्याइन् । माओवादी केन्द्रका सुशीलाकुमारी पौडेलले १० हजार चार सय ४८ मत पाइन् ।

उपमेयर कांग्रेसले जिते पनि वडास्तरमा भने एमालेले वर्चस्व बनाएको थियो । काठमाडौँ महानगरका ३२ वडामध्ये १८ वटामा एमालेले अध्यक्ष जित्यो । बाँकी १४ मा कांग्रेसले बाजी मार्दा अन्य दल शून्य भए । मेयर–उपमेयरमा राम्रै मत ल्याएका साझा र विवेकशील नेपाली तथा माओवादीले एउटै वडाध्यक्ष जित्न सकेनन् । महानगरका १, २, ३, ४, ७, ९, १२, १३, १४, १५, १८, २१, २२, २३, २४, २७, ३१ र ३२ वडामा एमालेको कब्जा भयो । कांग्रेसले ५, ८, १०, ११, १६, १७, १९, २०, २५, २६, २८, २९ र ३० नम्बर वडा जित्यो ।

काठमाडौँको चुनावी इतिहास

विगतको परिणाम हेर्ने हो भने काठमाडौँ महानगरका मतदाता चलायमान देखिन्छन् । उनीहरू परिवर्तन खोजिरहेका हुन्छन् । तर, प्रजातन्त्र स्थापनापछिको पहिलो निर्वाचनमा कांग्रेस र त्यसपछिका चुनावमा एमालेले वर्चस्व बनाएको छ । नेपालको स्थानीय तह निर्वाचनको इतिहासमा काठमाडौँको आफ्नै महत्व छ । किनकि यहीँबाट स्थानीय चुनावको सुरुवात भएको थियो ।

मेयर विद्यासुन्दर शाक्यको चरम अलोकप्रियता पनि एमालेका लागि अर्को टाउको दुखाइको विषय हो । पाँच वर्षमा काम गर्न नसकेको भनी शाक्यको जनस्तरबाटै चर्को आलोचना भइरहेको छ

२००४ जेठ २९ गते काठमाडौँ म्युनिसिपालिटीका नाममा यहाँ निर्वाचन भएको थियो । जुन इतिहासकै पहिलो स्थानीय चुनाव थियो । प्रजातन्त्र पुनस्र्थापनापछि राजा ज्ञानेन्द्रले गराएकोलाई नमान्ने हो भने तीनवटा स्थानीय चुनाव भएका छन् । ०४९ सालमा भएको पहिलो चुनावमा काठमाडौँको मेयरमा कांग्रेसले बाजी मार्यो । सर्वोच्च नेता गणेशमानसिंहका धर्मपुत्र मानिने पिएल सिंह मेयर बने ।

२०५४ सालमा भएको चुनावमा भने कांग्रेसलाई उछिन्दै काठमाडौँ महानगरमा एमालेले जित निकाल्यो । केशव स्थापित मेयर बने । बीचमा लामो समय चुनाव हुन सकेन । २०७४ सालमा भएको चुनावमा एमालेले इतिहास दोहोर्याउँदै आफ्नो वर्चस्व कायमै राख्यो । विद्यासुन्दर शाक्य मेयर बने ।

सम्भावित समीकरण र परिणाम

प्रजातन्त्र स्थापनापछि काठमाडौँ महानगरमा कांग्रेसको पकड समयक्रममा खस्कँदै गएको देखिन्छ । एमालेले कांग्रेसको स्थान लिएको छ ।

गत चुनावमा उसले पाएको जित अन्तरले पनि त्यसलाई पुष्टि गर्छ । यस आधारमा काठमाडौँ महानगरमा अहिले पनि एमाले सबैभन्दा ठूलो दल हो । तर, एमालेका लागि सबैभन्दा ठूलो टाउको दुखाइ भने सत्ता गठबन्धन नै हो ।

एकातिर पार्टीमा आएको विभाजन र अर्कातिर कांग्रेस र माओवादीसहितको गठबन्धनका कारण काठमाडौँ महानगरमा पनि एमालेलाई पिरोलिरहेको छ । महानगरमा दलहरूबीच सहमति भएन र एक्लाएक्लै लड्ने अवस्था आए एमालेको पल्ला भारी हुने देखिन्छ । तर, गठबन्धन बन्यो भने उसका लागि काठमाडौँ जित्नु फलामको चिउरा चपाएजस्तै हुनेछ । मेयर विद्यासुन्दर शाक्यको चरम अलोकप्रियता पनि एमालेका लागि अर्को टाउको दुखाइको विषय हो । पाँच वर्षमा काम गर्न नसकेको भनी शाक्यको जनस्तरबाटै चर्को आलोचना भइरहेको छ । यसको सीधा असर आगामी चुनावमा एमालेलाई पर्न सक्छ ।

गत चुनावमा राप्रपासँग तालमेल गरेर एमालेले मेयरमा करिब २० हजार अन्तरको जित निकालेको थियो । यसपटक राप्रपा पनि विभाजित भएको छ । तेस्रो र चौथो स्थानमा रहेका विवेकशील र साझा पार्टी एकीकृत भएर फेरि फुटको अवस्थामा पुगेका छन् । जसका कारण यी दलप्रति पनि काठमाडौँमा मतदाताको उत्साह देखिँदैन ।

विवेकशील र साझामा मत दिएकाहरूले दलभन्दा पनि उम्मेदवारको अनुहार हेरेका थिए । यस अर्थमा यसपटक पनि माथिका सबै कारणहरूभन्दा सबैभन्दा ठूलो फ्याक्टर उम्मेदवारको अनुहार नै हुनेछ ।

एमालेमा आएको विभाजनको असर अन्यत्रभन्दा काठमाडौँमा अलि बढी देखिन्छ । मेयरकै दाबेदार मानिएका जीवनराम श्रेष्ठदेखि प्रदेश सांसद वसन्त मानन्धरसम्म एकीकृत समाजवादीमा लागेका छन् । एक्लाएक्लै चुनाव लड्ने अवस्थामा पनि एमालेका हजारौँ मत एकीकृत समाजवादीमा जान सक्छन् ।

अहिलेसम्मको अवस्था हेर्दा सत्ता साझेदार पाँच दलबीच स्थानीय चुनावमा तालमेल हुने सम्भावना बढी छ । त्यसमा पनि काठमाडौँमा त झन् त्यो सम्भावना बढी छ । किनकि यहाँ कांग्रेसको तुलनामा गठबन्धनकारी दल कमजोर रहेकाले बढी बार्गेनिङ गर्ने अवस्था छैन ।
कांग्रेसले बढीमा माओवादी केन्द्रलाई उपमेयर र अन्य दललाई केही वडाध्यक्ष दियो भने पनि सहमति बन्न सक्छ ।

यस्तो अवस्थामा गठबन्धनको पल्ला भारी हुनेछ । तर, यस्तो पनि थपिएका नयाँ र विगतमा विवेकशील र साझा पार्टीमा हालेका मतदाता नै निर्णायक हुनेछन् । विवेकशील साझाले विगतको विरासत जोगाउन नसक्ने स्पष्ट भइसकेको छ । यस्तो अवस्थामा यी दललाई दिएकामध्ये धेरै मत बाँडिन सक्नेछन् । ती मत कता जान्छन् अहिले नै भन्न सकिँदैन । किनकि विवेकशील र साझामा मत दिएकाहरूले दलभन्दा पनि उम्मेदवारको अनुहार हेरेका थिए । यस अर्थमा यसपटक पनि माथिका सबै कारणहरूभन्दा सबैभन्दा ठूलो फ्याक्टर उम्मेदवारको अनुहार नै हुनेछ ।

काठमाडौँ महानगरमा अर्को महत्वपूर्ण फ्याक्टर जातीय जनसंख्या हो । यहाँ नेवार समुदायको जनसंख्या बढी छ । सोही समुदायबाटै उम्मेदवार बनाउँदा बढी मत आउँछ भन्ने दलहरूको मनोविज्ञान पनि छ ।

विगतमा विवेकशीलकी रञ्जु दर्शना र साझाका किशोर थापाले संगठनका आधारमा भन्दा पनि व्यक्तिगत रूपमै धेरै मत बटुलेका थिए । अहिले यी व्यक्ति र दलको आकर्षण निकै घटेको छ । अब कुन दलले कस्तो उम्मेदवार अघि सार्छन् भन्ने कुराले पनि काठमाडौँको परिणाम प्रभावित हुने स्पष्ट छ । संगठनका आधारमा मात्र अहिले पनि एमाले नै बलियो देखिन्छ । विभाजनपछि उसको र कांग्रेसको साङ्गठनिक आधार लगभग उस्तै अवस्थामा पुग्नेछ । तर, मुख्य दलको अहिलेको समस्या भनेको आम मतदातामा पनि लोकप्रिय देखिने क्षमतावान उम्मेदवारको खडेरी हो ।

गत चुनावमा पनि मुख्य तीनवटै दलले औसत खालका उम्मेदवार मात्रै उतारेका थिए । त्यसैले मतदाताले विवेकशील र साझाका उम्मेदवारलाई अघि बढाउन प्रयास गरे । काठमाडौँ महानगरमा अर्को महत्वपूर्ण फ्याक्टर जातीय जनसंख्या हो । यहाँ नेवार समुदायको जनसंख्या बढी छ । सोही समुदायबाटै उम्मेदवार बनाउँदा बढी मत आउँछ भन्ने दलहरूको मनोविज्ञान पनि छ । यी सबैका आधारमा निष्कर्ष निकाल्दा सत्ता गठबन्धनबीच सहमति बनेर क्षमतावान उम्मेदवार उतार्न सके यसपटक काठमाडौँ महानगरमा एमालेलाई संकट हुनेछ ।

तर, गठबन्धन बनेर पनि कमजोर उम्मेदवार भयो र एमालेले तुलनात्मक रूपमा राम्रो उम्मेदवार खडा गर्न सक्यो भने कडा टक्कर हुनेछ । गठबन्धन बन्न सकेन र कांग्रेसले गत चुनावकै जस्तो औसत खालका उम्मेदवार मात्रै खडा गर्यो भने काठमाडौँ महानगर फेरि पनि एमालेकै पोल्टामा जान सक्नेछ ।

२०७४ मा दुई लाख ७९ हजार तीन सय नौ मतदाता रहेकामा यसपटक बढेका छन् । तर, यसपटक कति मतदाता थपिए भन्ने कुरा भने निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छैन । थपिएका मतदाता पनि अहिलेको निर्वाचनमा निर्णायक हुन सक्छन् ।

काठमाडौं महानगरपालिका : मेयर शाक्यका गफ ठूला, काम शून्य