NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भीम रावलको नगरमा एमालेको शर्मनाक हार हुनसक्ने, यस्तो छ अंकगणित

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री डा. भीम रावलको निर्वाचन क्षेत्र रहेको अछाम–१ मा स्थानीय तह निर्वाचनको सम्भावित परिणामबारे लेखाजोखा सुरू भएको छ । वैशाख ३० मा हुने चुनावमा रावलको गृहनगरसमेत रहेको साँफेबगर नगरपालिकामा एमाले भर्सेज गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

०७४ को स्थानीय तहको चुनावमा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो । भदौ ९ मा पार्टी विभाजन भएपछि मेयर कुलबहादुर कुँवर र उपमेयर विर्मलादेवी बुडथापा दुवै एकीकृत समाजवादीमा लागेपछि रावललाई ठूलो धक्का लागेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार करिब ५० प्रतिशत निर्वाचित प्रतिनिधि एकीकृत समाजवादीमा लागेका छन् । प्रदेशसभामा २४ मध्ये १३ जना सांसदले रावलको साथ छोडेका छन् ।

०७४ मा भएको संघीय संसदको चुनावमाा रावल २४ हजार ८९३ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसले १७ हजार ६८९ मत पाएका थिए । ०७० को निर्वाचनमा नेपाली कांग्रेसलाई झण्डै ५ हजार मत अन्तरले हराएका उनी ०६४ को चुनावमा समानुपातिक सभासद रहेका थिए ।

आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्न महत्वपूर्ण भूमिका खेलेका रावलले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि साउन ३ मा निर्वाचित सांसद पदबाट राजीनामा दिएका थिए । उनी ०६६ र ०७२ मा गृहमन्त्री भएका थिए । एमालेको नवौं महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए । मंसिरमा भएको १० औं महाधिवेशनमा अध्यक्ष ओलीसँग पराजित भएका थिए । उनी पार्टीभित्र र बाहिर निकै प्रखर, नीर्भिक नेताको रूपमा चिनिएका छन् । सुदूरपश्चिमा प्रभावशाली नेता रहेका रावल पार्टी विभाजनसँगै निकै कमजोर भएका छन् ।
यस्तो छ ०७४ को हिसाबकिताब

साँफेबगर नगरपालिकामा एमालेबाट निर्वाचित मेयर कुँवरले ५ हजार ८३८ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका ध्वजबहादुर कुँवरले ५ हजार ४१२ मत ल्याएका थिए । दुवै उम्मेदवारबीचको मतान्तर जम्मा ४२६ को मतान्तर रहेको छ । माओवादी केन्द्रका खकेन्द्र वडले जम्मा ५६३ मत पाएका थिए ।

यस्तै उपमेयरमा एमालेका बुडथापाले ५ हजार ९८४ मत ल्याइ विजयी भएका थिए । निकटतम प्रतिदवन्दी रुपा आउतीले ५ हजार २६५ मत ल्याएकी थिइन् । माओवादी केन्द्रका बैजन्ती कुँवरले ५७८ मत पाएका थिए ।

वडागत तहको हिसाब गर्दा एमालेले ४, ५, ६, ८, ९, १०, १३ र १४ वडामा जित हासिल गरेको थियो । कांग्रेसले १, २, ३, ७, ११ र १२ वडामा विजयी भएको थियो ।

एमालेका उम्मेदवारले पाएको मतपरिणाम

एमालेका उम्मेदवारले ६३७ मत ल्यायी विजयी भएको थियो भने कांग्रेसको उम्मेदवारले ५१३ मत ल्याएको थियो । वडा ५ मा एमालेले ३२९, कांग्रेसले ३१५ र माओवादी केन्द्रले ७९ मत पाएका थिए । रावलको घर रहेको वडा नम्बर ६ मा एमालेका उम्मेदवारले ४८२ मत ल्याएर विजयी भएका थिए । कांग्रेसले जम्मा ६४ र माओवादी केन्द्रको ३४ मत पाएका थिए । त्यस्तै ८ मा एमाले उम्मेदवारले ३३६ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका उम्मेदवारले ३६० मत पाएका थिए । माओवादीले जम्मा १४ भोट पाएका थिए । यस वडामा मतान्तर जम्मा ६ भोट रहेको छ ।

वडा ९ मा एमालेले ६०२ ल्याएर जितेको छ भने कांग्रेसले जम्मा २१८ मत पाएको छ । माओवादी केन्द्रले ३७ मत पाएको छ । यसैगरी १० मा एमालेले ५४९, कांग्रेसले ४८३ र माओवादी केन्द्रले ३२ मत पाएको छ । वडा १३ मा एमालेले ५८७, कांग्रेसले ४९२ र माओवादी केन्द्रले जम्मा ३६ मत पाएको छ । त्यस्तै १४ वडामा एमाले उम्मेदवारले ४९६ मत ल्याइ विजयी भएको छ । कांग्रेसका उम्मेदवारले ३४८ र माओवादीका उम्मेदवारले जम्मा ३९ मत पाएको छ ।

कांग्रेसका उम्मेदवारले जितेको वडामा मतपरिणाम

वडा १ मा कांग्रेसका उम्मेदवारले २८५ मत ल्याइ विजयी भएका थिए । निकटतम प्रतिदवन्दी एमालेले २२४ मत पाएको थियो । २ मा कांग्रेसका उम्मेदवारले ३२२ मत ल्याइ विजयी हुँदा माओवादीका उम्मेदवारले २४२ मत ल्याएको थिए । यस वडामा तेस्रो स्थानमा रहेको एमालेका उम्मेदवारले जम्मा २३९ मत पाएका थिए ।

त्यस्तै ३ मा कांग्रेसको ६७५, एमालेको ४६० र माओवादी केन्द्रको १६० रहेको छ । ७ मा कांग्रेसको ५०८, एमालेको १८८ रहेको छ । वडा ११ मा कांग्रेसका उम्मेदवारले ३९६, एमालेको उम्मेदवारले ३५९ र माओवादी केन्द्रले जम्मा १० मत पाएका थिए । वडा १२ मा कांग्रेसका उम्मेदवारले ३२८ मत ल्याइ विजयी हुँदा एमालेका उम्मेदवारले ३१५ मत पाएका थिए ।

अबको सम्भावित परिणाम

गत चुनावमा सबै वडामा झिनो मतान्तरले जितेको एमालेले यस पटक चुनाव जित्न निकै कठिन देखिन्छ । स्थानीय तहमा उम्मेदवारको व्यक्तित्व, पार्टीको प्रभाव, योग्यता र क्षमतालेसमेत प्रभाव पार्ने भएपनि पार्टी विभाजन भएकाले एमालेका लागि अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ । कांग्रेसको निकै प्रभाव रहेको अछाममा एकीकृत समाजवादीको पक्षमासमेत जनमत देखिन्छ । यदि गठबन्धन गरी चुनाव लडेको खण्डमा एमालेले शर्मनाक हार व्यहोर्न सक्ने देखिन्छ ।

इटहरी उपमहानगरमा सत्ता गठबन्धनबीच तालमेल भए तीव्र प्रतिस्पर्धा, एमालेलाई नेकपा एसको डर

ताजा अपडेट

नेपालवाच विशेष