NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सोसल मिडियामा आउने अश्लील म्यासेजसँग कसरी डिल गर्ने ?

काठमाडौं । यदि तपाईको पार्टनर हुनुहुन्छ, एकअर्कालाई राम्ररी चिन्नुहुन्छ, रोमान्टिक सम्बन्ध छ, सम्बन्धमा उत्तेजना र कामुकताको मात्रा बढाउन एक अर्कासँग अश्लिल कुरा गर्नुहुन्छ भने त्यसले हानि नपुर्याउन सक्छ तर तपाई महिला हुनुहुन्छ र केहि अपरिचित व्यक्तिले फेसबुक, इन्स्टाग्राम वा व्हाट्सएप जस्ता कुनै पनि सोशल मिडियामा अश्लिल, भद्दा किसिमका सन्देश पठाउँदै छन् भने यो साँच्चै गलत हो ।

तपाई यसकाे विरुद्ध बोल्नु आवश्यक हुन्छ । चुपचाप बस्नुहुँदैन, किनकी एकपटकको मौनताले कसैलाई फेरि अर्कोपटक पनि त्यस्तै गलत काम गर्ने मौका दिन्छ ।

यौन शिक्षा विशेषज्ञ पल्लवी भन्छिन्, ‘मेरो एकाउन्ट इन्स्टाग्रामदेखि सबै सामाजिक सञ्जालमा सार्वजनिक छ । यौन शिक्षा दिनु मेरो काम हो तर कतिपय पुरुषले यसलाई ‘उपलब्ध’ हुने अनुमान गरेका छन् र यही कारणले गर्दा कहिलेकाहीँ राति १२ वा २ बजे पनि अपरिचित व्यक्तिबाट म्यासेज आउँछ ।

यी म्यासेजहरु अश्लील हुन्छन् । डर्टी म्यासेजको दायरा निकै ठूलो छ । यसमा भद्दा म्यासेज, अश्लील तस्बिर, सांकेतिक तस्बिरहरु हुन्छन् । यस्ता सन्देशहरु आउँदा महिलाहरुलाई हडबडीमा के गर्ने, के नगर्ने भन्ने हुन्छ । डिजिटल संसार जति पुरुषहरुको हो, उति नै महिलाको पनि हो ।

विज्ञका अनुसार अश्लील म्यासेजबाट बच्नका लागि आफ्नो प्रोफाइल लक गर्नुहोस् । प्रोफाइल फोटोमा शिल्ड लक लगाउनुपर्छ । अपरिचित व्यक्तिको फ्रेन्स रिक्वेस्ट स्वीकार गर्नुहुँदैन । भिडियो फोन उठाउनु हुँदैन । घरको ठेगाना कसैलाई दिनुहुँदैन र उनीहरुले पठाएको कुनै पनि उपहार स्वीकार गर्नु हुँदैन ।

म्यासेज आएपछि प्रहरी चौकी जानुभन्दा अगाडि थोरै सर्तकता अपनाउनु आवश्यक हुने साइबर विशेषज्ञहरु बताउँछन् । यदि तपाई सामाजिक सञ्जालमा कुनै व्यक्तिको दुर्व्यवहारबाट विचलित भएर प्रहरीमा उजुरी गर्न चाहनुहुन्छ भने पहिले त्यो व्यक्तिलाई ब्लक गर्नुहुँदैन ।

यदि तपाईंले रिपोर्ट र ब्लक विकल्प चयन गर्नुभयो भने त्यस व्यक्तिको खाता सामाजिक सञ्जालबाट सदाका लागि मेटिनेछ । त्यसपछि प्रहरीले त्यो अपरिचित व्यक्तिको बारेमा कुनै जानकारी पाउन सक्नेछैन । तिनीहरूले उनको डाटा प्राप्त गर्न सक्षम हुँदैनन र कानुनी कारबाही अगाडि बढ्दैन ।

कुनै पनि च्याट, क्युआर कोड वा फोटोहरू डिलिट गर्नुहुँदैन । प्रहरीमा जानु अघि यी सबैको स्क्रिनसट लिनुहोस् । फोन विवरण पनि सुरक्षित राख्नुपर्छ । फोनको रेकर्डिङ पनि राख्नुहोस् ।