NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

विराटनगर महानगरपालिका : पूरा भएनन् धेरै प्रतिबद्धता, प्रदेश र संघीय सरकारले सहयोग नगरेको गुनासो

काठमाडौं । कार्यकाल सकिनै लाग्दा चुनावको समयमा गरिएका बाचा, घोषणापत्र र जनअपेक्षा सम्बोधनमा विराटनगर महानगरपालिका पछाडि परेको छ । महानगर नेतृत्वले जनतासँग गरेका केही बाचा पूरा भएका छन्, केही सुरु भएका छन्, तर धेरै अपूरै छन् । प्रदेश १ को एक मात्र यो महानगरपालिकाको बजेट चार अर्ब हाराहारी छ, तर त्यसको सदुपयोग गरेर पूर्वाधार निर्माणमा भने कमजोर देखिएको छ । गत चुनावमा यो महानगरमा कांग्रेसले पकड जमाएको थियो । मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की निर्वाचित भएका थिए । जनप्रतिनिधिको काम औसत देखिएको छ । कांग्रेस नेतृत्वको महानगरमा पाँच वर्षमा कस्तो काम भयो त ? हेरौँ–

यी थिए चुनावी प्रतिबद्धता

– महानगरमा पर्ने कोसी राजमार्गमा अकासे पुल बनाउने
– पार्किङसहितको २१ तले सपिङ कम्प्लेक्स बनाउने
– बैजनाथपुर रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने
– नगरमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने
– वधशाला निर्माण गर्ने
– केसलिया र सिंघिया खोलामा तटबन्ध गर्दै ग्रिनबेल्ट बनाउने
– महानगरभित्रका सबै ग्राभेल सडकलाई चार वर्षभित्र कालोपत्रे गर्ने
– भूउपयोगी नीति लागू गरी बजारको विकास र विस्तार गर्ने
– रुग्ण उद्योग सञ्चालनमा ल्याउने
– विराट राजाको दरबारलाई विश्वसम्पदा सूचीमा राख्ने
– किसान, महिला उद्यमीलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने

अपूरै रहे बाचा

निर्वाचनमा जारी गरिएको ४५ बुँदे प्रतिज्ञापत्रमा मेयर पराजुलीले ताररहित विराटनगर, बालउद्यान, पौडीपोखरी, बाइपास रोड, औद्योगिक क्षेत्र, खेलमैदान तथा मनोरञ्जन पार्क निर्माण गर्ने बाचा पनि गरेका थिए, तर यी कुनै पनि पूरा भएनन् । त्यस्तै, फोहोरमैला व्यवस्थापन, दुई वर्षभित्र औद्योगिक कृषि प्रदर्शनी स्थल निर्माण, सुपथ मूल्य पसल र सुक्खा बन्दरगाह निर्माणलगायत प्रतिबद्धता पनि अलपत्र परे ।

घाँसचोक, बरगाछी र कञ्चनबारी क्षेत्रमा अकासे पुल बनाउने प्रतिबद्धता थियो, तर प्रयास नै गरिएन । मेयर पराजुलीले अन्डरग्राउन्ड पार्किङसहित २१ तले सपिङ सेन्टर बनाउने ठूलो सपना देखाएका थिए । त्यसका लागि यहाँ रहेका पसल पनि हटाइयो । तर, निर्माणको कुनै संकेत नै छैन ।

संरचना बनाइए पनि वधशाला सञ्चालनमा आउनै सकेको छैन । केसलिया र सिंघिया खोलामा तटबन्ध गर्दै ग्रिनबेल्ट बनाउने सपना अधुरै रह्यो । भूउपयोगी नीति लागू गरी बजारको विकास र विस्तार गर्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि मेयर पराजुलीले बिर्सिए । किसान, महिला उद्यमीलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने बाचा पनि कागजमै सीमित भयो ।
संघ र प्रदेशले सहयोग नगरेकाले प्रतिबद्धता पूरा गर्न नसकेको पदाधिकारीको दाबी छ ।

अलपत्र योजना

पोल हटाएर ताररहित महानगर बनाउने अभियान र नगर बस सञ्चालन गर्ने काम सुरु नै हुन सकेन । ०५४ सालदेखि निर्माणाधीन चक्रपथको कामले पनि गति पाउन सकेको छैन । जोगबनीदेखि चीन सीमा किमाथांकासम्म जोड्ने सडक निर्माणको काममा पहल नै भएन । वधशाला अर्थात् ‘स्लटर हाउस’ निर्माणको काम प्रतिबद्धतामै सीमित भयो । आधुनिक ब्याडमिन्टन कभर्ड हल निर्माण नै सुरु भएन । रानीपोखरी तथा मन्टापोखरी मन्दिर निर्माणको गुरुयोजना पनि अलपत्र छ । सहरको स्वरूप सुधार गर्ने गरी गरिएका प्रतिज्ञा अधिकांश कागजमै सीमित बने ।

सुरु गरियो, पूरा गरिएन

विराटनगर महानगरपालिकाले केही कामको सुरुवात भने गरेको छ । बैजनाथपुर रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने काम सुरु मात्र भएको छ । कोसी राजमार्गका तीन ठाउँ बसपार्क, बरगाछी र कञ्चनबारीमा अकासे पुल निर्माण कार्य सुरु भएको छ । घाँच चोकमा साझेदारीमा सुविधासम्पन्न अकासे पुल निर्माणको तयारी छ । वीरेन्द्र सभागृह प्रबलीकरण तथा पुनर्निर्माण कार्य सुरु भएको छ । एक करोड ६१ लाख ४२ हजार रुपैयाँ लागतमा हिमालय रोड सौन्दर्यीकरण सुरु भएको छ । ९६ लाख ११ हजार रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत एयरपोर्ट सडक ‘ब्युटिफिकेसन’ सुरु भएको र विराट राजा दरबारको अध्ययन तथा गुरुयोजनाअनुसार काम गर्ने तयारी भइरहेको छ । विराटनगर– १५ र १९ वडामा १५ शय्याको अस्पताल निर्माण सुरु भए पनि पूरा भएको छैन ।

पूरा भएका प्रतिबद्धता

महानगरमा नयाँ नेतृत्व आएपछि केही स्थानबाहेक सडक कालोपत्रेको काम भएका छन् । नगरभित्र खानेपानी पनि पु¥याइएको छ । विराटनगर– १५ मा नगर विकास कोषको आठ करोड ७४ लाख लागतमा बस टर्मिनल भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।
१९ वडामध्ये १५ वटा वडामा सुविधासम्पन्न भवन निर्माण भएका छन् । मदरसा, गुरुकुल तथा सामुदायिक विद्यालयमा भौतिक, प्राविधिक तथा शैक्षिक स्तरोन्नतिसहित अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिएको छ । पोखरिया माध्यमिक विद्यालयलाई जग्गा दिएर भवन निर्माण पनि गरिएको छ । आदर्श माध्यमिक विद्यालयमा अपांगमैत्री भवनसहित समावेशी शिक्षा कक्षा सञ्चालन गरिएको छ । जनप्रतिनिधिको पाँचवर्षे कालमा एक सय ५० किलोमिटर सडक बनाइएको छ ।६ हजार घर समेटिने गरी ढल प्रणालीसहित फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन

गरिएको छ । वडा नं. १५ र १९ मा १५ शय्याको स्वास्थ्य सेवा केन्द्रको स्तरोन्नति गरिएको छ । वडा– १९ मा महानगर आवास कार्यक्रमअन्तर्गत ३२ सुकुमबासीका लागि आवास निर्माण गरेर हस्तान्तरण गरिएको छ । बालमैत्री पार्क तथा सूचना केन्द्र स्थापना र ‘इको फाउन्टेन पार्क’ निर्माण भएको छ ।

कोरोना महामारीमा महानगरको सक्रियता प्रशंसनीय देखिएको थियो । घरदैलोमा कोभिड स्वाब संकलन, संक्रमित भएका परिवारलाई औषधि तथा चिकित्सकको सुझावअनुसार अक्सिजन सिलिन्डर, बेरोजगार तथा अति विपन्न ३० हजार परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको थियो ।

८४ वर्षमाथिका ज्येष्ठ नागरिकलाई आन्तरिक स्रोतबाट मासिक एक हजार पोषण भत्ता वितरण गर्ने व्यवस्था महानगरले गरेको छ । जनप्रतिनिधि आएपछि ‘छोरी बचाऊ, छोरी पढाऊ’ कार्यक्रमअन्तर्गत पहिलो छोरी जन्माउने आमाबुबालाई प्रोत्साहन रकम दिन थालिएको छ । यस्तै, दुई छोरी जन्माएर बन्ध्याकरण गर्ने आमाबुबाका छोरीलाई उच्च शिक्षा हासिल गराउन २५ हजार रुपैयाँ मुद्दती खातामा जम्मा गरी प्रोत्साहन गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

मेयर–उपमेयरबीच सम्बन्ध

मेयर र उपमेयर नै कांग्रेसबाट निर्वाचित भए पनि सम्बन्ध भने सुमधुर देखिएको छैन । मेयरले विनासल्लाह योजना थप्नेलगायत काम गरेको भन्दै उपमेयर कार्कीले असन्तुष्टि जनाउँदै आएकी छिन् । केही समयअघि उनीहरूबीच असमझदारी हुँदा बोचचालसमेत बन्द भएको थियो ।

मेयर–उपमेयर भन्छन्– सोचेजति काम गर्न सकिएन

विराटनगरका मेयर–उपमेयरले कोरोना महामारीलगायत कारण सोचेजति काम गर्न नसकेको बताँउछन् । मेयर पराजुली विराटनगरको पहिलो प्राथमिकता सडक रहेकाले बजार र आसपास क्षेत्रका सडक निर्माणको काम करिब–करिब पूरा भएको बताउँछन् । संघीय र प्रदेश सरकारले सहयोग नगरे पनि आफ्नो कार्यकालमा धेरै विकास निर्माणका काम भएको मेयर पराजुलीको दाबी छ ।

उनले भने, ‘आन्तरिक स्रोत र दातृ निकायसँगको सहकार्यमा भएका विकास निर्माणका काम छर्लंग छन्, कोरोना महामारी र बाढीले पनि काम गर्न दिएन ।’ संघीय र प्रदेश सरकारको असहयोग र बाढी तथा कोभिड– १९ महामारीको चपेटाले लक्ष्य राखिएजति काम गर्न नसकेको उनको भनाइ छ । मेयर पराजुलीले प्रतिकूल समयमा पनि आफूहरूले गरेको काममा सन्तुष्ट रहेको बताए ।

उपमेयर इन्दिरा कार्कीले पनि शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा पाँचवर्षे आफ्नो कार्यकालमा निकै काम भएको दाबी गर्छिन् । तर, आफू यति कुरामा मात्र सीमित हुन नचाहेको उनको भनाइ छ । विभिन्न समस्याका कारण आफूले सोचेजस्तो गर्न भने नसकेको उपमेयर कार्कीको भनाइ छ ।

प्रतिपक्षीको प्रतिक्रिया

गत निर्वाचनमा पराजुलीसँग पराजित एमाले नेता विनोद ढकालले जनताले चाहेजस्तो काम महानगरले गर्न नसकेको बताए । अधिकारसम्पन्न पालिकामा जनप्रतिनिधिको पहिलो कार्यकालमा नै धेरै काम गर्न सक्ने भए पनि सन्तोषजनक मान्न सक्ने खालको नभएको ढकालको प्रतिक्रिया छ ।

पराजुलीसँगै चुनाव लडेका जनता समाजवादी पार्टीका नेता उमेश यादवले पनि जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल खासै उत्साहजनक नभएको प्रतिक्रिया दिए । ‘कतिपय विकास निर्माणका काम पहिलेदेखि नै सुरु भएका हुन्,’ उनले भने, ‘महानगरमा धेरै काम गर्न सकिन्थ्यो, तर नगर नेतृत्वले सकेन ।’