NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

घोराही उपमहानगर : कांग्रेस र माओवादीबीच तालमेल नभए फेरि पनि एमाले नै मजबुत

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा चुनावी माहोल तात्न थालेको छ । दलहरूले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । नगरमा कार्यकर्ता भेला तथा प्रशिक्षण चलिरहेका छन् । सत्तारूढ दल गठबन्धनको अन्तिम गृहकार्यमा छन् भने एमालेले राप्रपा नेपाल र परिवार दलसँग गठबन्धन गर्ने निर्णय गरिसकेको छ । नेता–कार्यकर्तालाई आफ्नो पार्टी प्रवेश गराउने होड पनि देखिन्छ । यो उपमहानगरमा एमाले, कांग्रेस र माओवादी केन्द्रबीच प्रतिस्पर्धा छ । गत निर्वाचनमा एमालेबाट निर्वाचित घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र सीता सिग्देल न्यौपाने यसपटक पनि पार्टीबाट सिफारिस भएका छन् । अन्य दल वा गठबन्धनबाट अहिलेसम्म उम्मेदवार चयन हुन सकेको छैन ।

अघिल्लो चुनावको मतपरिणाम

०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेका नरुलाल चौधरी निर्वाचित भए । उनले कांग्रेसका उम्मेदवार भूपबहादुर डाँगी क्षेत्रीलाई चार हजार पाँच सय ४६ मतान्तरले पराजित गरे । चौधरीले २२ हजार ३० मत ल्याउँदा डाँगीको १७ हजार चार सय ८४ मत आयो । माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ र राप्रपाका भोलानाथ योगीले एक हजार एक सय ३६ मत पाए । मेयरमा १२ जना प्रतिस्पर्धामा रहेकोमा अन्यको मत उल्लेख्य रहेन ।

उपमेयरमा पनि एमालेकै सीता सिग्देल न्यौपानेले कांग्रेस उम्मेदवार पुष्पा श्रेष्ठलाई तीन हजार एक सय ८९ मतान्तरले पराजित गरिन् । सीताले २० हजार सात सय ९२ र पुष्पाले १७ हजार ६ सय तीन मत पाइन् । माओवादी उपमेयरमा पनि तेस्रो स्थानमा रह्यो । माओवादीकी सीता शर्माले १२ हजार आठ सय २४ मत पाइन् । राप्रपाका प्याउलीदेवी खत्रीले सात सय ३२ मत मात्रै ल्याइन् । १९ वडा रहेको घोराहीमा वडाध्यक्ष पनि एमालेले धेरै जित्यो । उसले १० वडाध्यक्ष जित्दा कांग्रेसले ६ मा कब्जा ग¥यो । माओवादीले तीन वडाध्यक्षमा सफलता पायो ।

गठबन्धन र सम्भावित रणनीति

चुनाव आउन अब एक महिनाभन्दा पनि कम समय हुँदा पनि सत्तारूढ दल गठबन्धन गर्ने भनिरहेका छन् । तर, स्पष्ट खाका बनाउन सकेका छैनन् । गठबन्धनबारे निर्णय नहुँदा सत्तासाझेदार दललाई उम्मेदवार तय गर्नसमेत समस्या भएको छ । यसले नेताहरू प्रचारप्रसार र आफ्नो पार्टीका उम्मेदवारलाई खुलेर भोट माग्न पनि सकेका छैनन् । विगतको मतपरिणाम हेर्दा एमाले सबैभन्दा बलियो पार्टी हो । गठबन्धन नगर्ने हो भने एमालेलाई हराउन सकिन्न भन्नेमा सत्तासाझेदार दलले बुझेका छन् । तर, मेयरमा कांग्रेस र माओवादी दुवै दलको दाबीले समस्या बल्झाएको छ । माओवादीले दाङको अर्को उपमहानगरमा कांग्रेसलाई मेयर छाडेर घोराही आफूलाई दिनुपर्ने अडान राखिरहेको छ । कांग्रेसले भने दुवैमा मेयर आफैँले पाउनुपर्ने ढिपी गरिरहेको छ । गठबन्धन भयो भने एमालेलाई सकस पर्ने पनि निश्चित छ । किनकि विगतको मतपरिणाम केलाउँदा कांग्रेस र माओवादी मिल्दा मात्र एमालेभन्दा बलियो अवस्थामा पुग्न सक्छन् ।

सम्भावित परिणाम

घोराही उपमहानगरको नतिजा मूलतः गठबन्धनमा निर्भर देखिन्छ । ०७४ मा ५३ हजार नौ सय ८८ सदर मतमध्ये एमालेले पाएको मत २२ हजार ३० हो । कांग्रेस, माओवादीसहित सत्तासाझेदार दलको मत जोड्दा ३० हजारभन्दा बढी हुन्छ । यो एमालेले पाएको मतभन्दा करिब आठ हजार बढी हो । पार्टी विभाजन भएका कारण एमालेको मत एकीकृत समाजवादीले पनि काट्ने निश्चित छ । घोराहीमा एकीकृत समाजवादीले पनि वडा तहसम्मै संगठन विस्तार गरिसकेको छ । त्यसैले एकातिर एमालेको मत घट्नेछ भने अर्कातिर गठबन्धनको मत बढ्नेछ । यदि गठबन्धन भयो भने घोराहीमा एमाले बढारिन सक्ने सम्भावना छ । तर, गठबन्धन भएन भने फेरि पनि एमाले नै मजबुत देखिन्छ । त्यस्तो अवस्थामा तीन दलबीच नै प्रतिस्पर्धा हुने र एमाले जित्न सक्ने बढी सम्भावना हुन्छ । कांग्रेसले एमाले फुटेका कारण एक्लै पनि जित्न सकिन्छ कि भन्ने आकलन गरिरहेको छ । तर, फुटको प्रभाव त्यति ठूलो भने देखिँदैन ।

गठबन्धन नगर्ने हो भने एमालेलाई हराउन सकिन्न भन्ने सत्तासाझेदार दलले बुझेका छन् । तर, मेयरमा कांग्रेस र माओवादी दुवै दलको दाबीले समस्या बल्झाएको छ 

०४९ यता भएका तीनवटा निर्वाचनमा एमालेले घोराहीमा दुईपटक र कांग्रेसले एकपटक प्रमुख जितेका थिए । ०४९ मा चुनाव जितेयता कांग्रेसले नगर प्रमुखमा चुनाव जित्न सकेको छैन । यदि जिल्लाभरि नै तालमेल हुने अवस्थामा र केन्द्रबाटै निर्णय भए कांग्रेसले घोराहीको मेयर माओवादीलाई दिने सम्भावना छ । तर, स्थानीय स्तरमा भने अहिलेसम्म त्यस्तो देखिएको छैन । जसका कारण एमाले केही हौसिएको छ । थपिएका मतदाता र उम्मेदवारको प्रभावले पनि केही हजार मत तलमाथि हुन सक्नेछ । थारू समुदायका मतदाता धेरै रहेकाले सोही समुदायका उम्मेदवार अलि बलियो हुने निश्चित छ । त्यही बुझेर एमालेले फेरि पनि अहिलेकै मेयरलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

मतदाता र जनसंख्या

तथ्यांक विभागको प्रारम्भिक जनगणनाअनुसार घोराही उपमहानगरको जम्मा जनसंख्या दुई लाख एक हजार ७९ छ । ०७४ मा ७८ हजार चार सय २७ मतदाता रहेकोमा अहिले ३४ हजार पाँच सय थपिएका छन् । थपिएका मतदातासहित अब घोराही उपमहानगरमा मतदाताको संख्या एक लाख १२ हजार नौ सय २७ पुगेको छ ।

भौगोलिक अवस्था

लुम्बिनी प्रदेशको दाङस्थित घोराही क्षेत्रफलका हिसाबले देशकै ठूलो उपमहानगरपालिका हो । चुरे र महाभारत पर्वतले घेरेको देशकै ठूलो उपत्यकामा अवस्थित यो उपमहानगर ५२२.२१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । उपमहानगरको पूर्वमा बंगलाचुली गाउँपालिका, पश्चिममा तुलसीपुर उपमहानगरपालिका, उत्तरमा रोल्पा जिल्ला र दक्षिणमा लमही नगरपालिका छन् ।

विविधतापूर्ण जातीय पहिचान रहेको घोराही उपमहानगरमा खस–आर्य, थारू, दलित, जनजाति, मधेसी, मुस्लिमलगायतको बसोवास छ । सबैभन्दा बढी यहाँ करिब २५ प्रतिशत थारू समुदायको जनसंख्या छ । सरकारको ०७३ फागुन २२ गतेको निर्णयअनुसार साबिक घोराही नगरपालिका, त्रिपुर नगरपालिका, सौडियार गाविस, सैघा गाविस, धर्ना गाविस, रामपुर गाविस र लक्ष्मीपुर गाविस समायोजन गरी घोराही उपमहानगरपालिका बनाइएको हो ।