NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

गठबन्धनविरोधी शेखर कोइराला पक्षले भोट नहाले के होला विराटनगरमा ?

काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्लो समय हार्ड लाइनरको रूपमा देखा परेका नेता डा. शेखर कोइराला । देशभर एमाले हराउने नीतिस्वरुप सत्ता गठबन्धनको चुनावी तालमेलको कोइराला पक्षले विरोध गर्दै आएको छ ।

कांग्रेस देशभर एक्लै चुनाव लड्न सक्षम रहेको भन्दै कोइराला पक्षले कार्यकर्ताको भावना गठबन्धनको पक्षमा नरहेको बताउँदै आएको छ । कांग्रेसलाई कम्युनिष्टहरूसँग गठबन्धन गर्न आवश्यक नभएको उनीहरूको तर्क छ ।

१४ औं महाधिवेशनमा सभापति उम्मेदवार बनेर पराजित भएयता संस्थापन इतर पक्षको नेतृत्व शेखरले गर्दै आएका छन् । कृष्णप्रसाद कोइरालाका कान्छीपटिका छोरा केशव–नोनापुत्र हुन् शेखर । पेशाले चिकित्सक हुन् उनी । बहुदल स्थापनापछि ०४७ पछि राजनीतिमा सक्रिय रहेका उनी पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए ।

उनलाई कोइराला परिवारका सदस्य डा. शशांक र सुजाता कोइरालालेसमेत साथ दिएनन् । डा. कोइरालाले रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवारीमा साथ नदिँदा कांग्रेसभित्र कोइराला र पौडेल समूह छिन्नभिन्न भएको थियो । पौडेल महाधिवेशन प्रक्रियामै सहभागी भएनन् ।

उनी सभापतिमा देउवासँग ८७८ मतले पराजित भएका थिए । दोस्रो चरणमा खसेको मत ४ हजार ६२३ मध्ये देउवाले २ हजार ७३३ मत ल्याएर सभापतिमा विजयी भएका थिए । कोइरालाले १ हजार ८५५ मत ल्याएका थिए । पहिलो चरणमा देउवाले २ हजार २५८ मत पाएका थिए । कोइरालाले १ हजार ७०२ मत ल्याएका थिए ।

त्यस्तै गत संघीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा एमाले नेता लालबाबु पण्डितसँग पराजित भएका थिए । पण्डितले ३३ हजार ९४१ मत ल्याइ विजयी भए । कोइरालाले ३३ हजार २६६ मत ल्याएका थिए । पण्डितले पाएको मत माओवादी केन्द्रकोसमेत हो । पण्डित गठबन्धनको साझा उम्मेदवार भएपनि कोइरालासँग ६७५ को झिनो मतान्तरले विजयी भएका थिए ।

यसैगरी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोहि क्षेत्रबाट कोइराला विजयी भएका थिए । कोइरालाले १२ हजार ९८२ ले विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक)ले १० हजार ५६४ मत ल्याएका थिए । तेस्रोमा माओवादीले ५ हजार ६४४ र एमालेले ४ हजार ५६५ मत ल्याएका थिए ।

यस्तो थियो ०७४ को चुनावी नतिजा

०७४ को स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा प्रमुख र उप्रमुख दुवै कांग्रेसले जितेको थियो । कांग्रेस उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवारले १७ हजार ३२१ ल्याएका थिए । संघीय समाजवादीले १४ हजार ९२८ मत ल्याएका थिए । राप्रपाले पाएको मत ५ हजार ५२४ मत पाएका थिए ।

स्तै उपप्रमुखमा कांग्रेसकै इन्दिरा कार्की २० हजार १४६ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारले ११ हजार ५२४ मत ल्याएका थिए । फोरम लोकतान्किका उम्मेदवारले १० हजार ५३६ मत पाएका थिए । राप्रपाले ४ हजार १०२ मत ल्याएका थिए ।

कोइरालाको घर रहेको वडा नम्बर ७ मा कांग्रेसका उम्मेदवार मधुबाबु तिवारी विजयी भएका थिए । तिवारीले १ हजार ७९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका उम्मेदवारले ४९५ मत ल्याएका थिए । एमालेले ३२९ मत पाएका थिए । राप्रपाले २७६ मत ल्याएका थिए । माओवादी केन्द्रले १७० मत पाएका थिए । अन्यले जम्मा १०६ मत ल्याएका थिए ।

१९ वडा रहेको यस महानगरमा कांग्रेसले १, ३, ४, ७, ८, ९ र १६ वडा जितेको थियो । त्यस्तै संघीय समाजवादी फोरमले १२, १३, १४, १५, १७ र १८ मा विजयी भएको थियो । एमालेले २, ५ र ११ वडा जितेको थियो । स्वतन्त्रका उम्मेदवारले १० र १९ र माओवादी केन्द्र ६ नम्बर वडामा विजयी भएको थियो ।

महानगर र उपमहानगरको उम्मेदवार चयन गर्न कांग्रेस बैठक भोलि, कहाँ कसको सम्भावना बढी ?

वैशाख ३० मा हुने निर्वाचनमा कोइराला समूहले साथ नदिए विराटनगरमा गठबन्धनका साझा उम्मेदवार पराजित हुन सक्छन् । तर शेखर पक्षले देशभरमा भइरहेको गठबन्धनप्रति असन्तुष्टि जनाए पनि गठबन्धनको विपक्षमा जानेबारे कुनै निर्णय गरेका छैनन् । आफ्नो पक्षले स्वतन्त्र उम्मेदवार दिनेबारे पनि केही बताएका छैनन् । पार्टी विभाजन भएपनि प्रमुख प्रतिपक्षी दल एमालेको महाधिवेशन पछि संगठन मजबुत बनेको छ । उसले माओवादी, एकीकृत समाजवादी, जसपा लगायत दलहरूबाट नेता तथा कार्यकर्ता प्रवेश गराएर क्षतिपूर्ति असुल गरेको दावी गर्दै आएको छ ।

आगामी दिनमा सम्भावित चुनावी परिणाम

गत निर्वाचनमा १९ वडा मध्ये ७ वडामा मात्र कांग्रेस विजयी भएको छ । ६ वडामा संघीय समाजवादी फोरम विजयी भएको थियो । त्यस्तै ३ वटा वडामा एमाले, २ वटा वडामा स्वतन्त्र र १ वटा वडामा माओवादी केन्द्र विजयी भएको थियो । यसपटक एमाले विभाजन भएर बनेको नयाँ दल एकीकृत समाजवादी र राजमोसमेत गठबन्धनमा रहेका छन् ।

यदि कांग्रेसभित्र कोइराला समूह गठबन्धनको विपक्षीमा गए त्यसको फाइदा एमालेले लिने सम्भावना छ । गठबन्धनभित्र बाँकी दलहरूबीच चुनावी मोर्चाबन्दी भए कांग्रेसलाई क्षति पुग्ने देखिन्छ । थपिएका नयाँ मतदाताको मनोविज्ञान, उम्मेदवारको लोकप्रियता, पार्टीको घोषणापत्र र गत पाँच वर्षमा जनप्रतिनिधिले गरेका कामको आधारले पनि मतदाता विभाजित हुन सक्छन् ।

कांग्रेसको बलियो प्रभाव रहेको विराटनगरमा डिला संग्रौला बन्लिन् मेयरको उम्मेदवार ?