NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

यस्ता छन् एमालेले छनोट गरेका ६ महानगरका प्रमुख/उप्रमुख

काठमाडौं । नेकपा (एमाले)ले काठमाडौंसहित ५ महानगरपालिका र ९ उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार ओली निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले महानगर र उपमहानगरपालिकाको प्रमुख (मेयर)-उपप्रमुख (उपमेयर)को टुंगो लगाएको हो ।

महानगरपालिकामा केशव स्थापित मेयर र सुनीता डंगोल उपमेयर बनाउने निर्णय भएको छ । ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार, उपमेयरमा मञ्जली शाक्य, पोखराको महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई एमालेले मैदानमा उतार्ने भएको छ । भरतपुर र वीरगञ्जको मेयरमा यसअघि नै क्रमशः विजय सुवेदी र विजय सरावगी उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको थियो ।

संघीय राजधानीसमेत रहेको काठमाडौं महानगर प्रमुखको उम्मेदवार पूर्वमेयर केशव स्थापितलाई बनाउने निर्णय गरेको छ । वाग्मती प्रदेशसभा सदस्य रहेका उनी पूर्वभौतिक पूर्वाधानर मन्त्रीसमेत हुन् । ०५४ सालमा काठमाडौंको मेयरमा निर्वाचित भएपछि सडक चौंडा गर्ने, अव्यस्थित घर–टहरा भत्काउनेलगायत केही राम्रा काम गरेका थिए । राम्रा कामका साथसाथै उनी विवादमा पनि आइराख्ने व्यक्ति हुन् । अभिव्यक्तिकै कारण वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद उत्पन्न हुँदा मन्त्रीबाट बर्खास्त भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली भातृसंगठन प्रजातान्त्रिक युवा संघका संस्थापक अध्यक्ष हुँदा उनी महासचिव थिए । ०५१ मा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव भएका स्थापित राजाको प्रत्यक्ष शासनकालमा काठमाठौंको मेयरमा मनोनीत भएका थिए । ०६९ मा उनी काठमाडौं विकास प्राधिकरण प्रमुखसमेत भएका थिए । स्थापित विसं २०१६ सालमा काठमाठौं जन्मेका हुन् ।

एमालेले प्रदेश १ अन्तर्गत विराटनगर महानगरपालिका प्रमुख-उप्रमुखको टुंगो लगाएको छैन । एमाले महानगर कमिटीले मेयरमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईलाई उम्मेदवारमा सिफारिस गरेको छ ।

त्यस्तै उपप्रमुखको उम्मेदवार बनेकी सुनीता डंगोल पूर्वमिस नेवाः हुन् । लिपी क्विनको उपनामले चिनिले डंगोल गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकी थिइन् । उनले रन्जना लिपीलाई अन्तर्राष्ट्रिकरण गरेकी थिइन् । उपत्यकाको जात्रा, संस्कृतिलाई प्रविधिमार्फत विश्वमा प्रचारप्रसार गर्दै आएकी डंगोलले सामाजिक विज्ञानमा स्नाकोत्तर गरेकी छिन् ।

यसैगरी ललितपुरको उम्मेदवारमा एमालेले हरिकृष्ण व्यञ्जनकारलाई बनाउने निर्णय गरेको छ । उनलाई यसअघि नै सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको थियो । व्यन्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सहइन्चार्जसमेत हुन् । गत ०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार चिरीबाबु महर्जनसँग ३ मतको अंकको झिनो अन्तरले पराजित भएका थिए ।

त्यस्तै उपमेयरको उम्मेदवार बनेकी मञ्जली शाक्य एमाले ललितपुर महानगर कमिटी अध्यक्ष हुन् । उनी गत कात्र्तिकमा भएको अधिवेशनमा नगर कमिटी अध्यक्षमा सर्वसम्मत चयन भएकी थिइन् ।

काठमाडौंपछि सबैभन्दा बढी मतदाता रहेको पोखरा महानगरपालिकामा दीपक पौडेल मेयरका उम्मेदवार बनेका छन् । सबैभन्दा बढी १२ जना आकांक्षी रहेको पोखरामा पार्टी उपमहासचिव एवं पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीच टसल परेको थियो । शनिबार बसेको सचिवालय बैठकले पौडेलको नाममा सर्वसम्मत निर्णय भएको हो । पौडेल प्रदेश कमिटी सदस्य हुन् । उनी एमालेनिकट शिक्षक संगठनका पूर्वउपाध्यक्ष रहेका थिए । त्यस्तै उपमेयरमा वर्तमान उपप्रमुख मञ्जु गुरुङलाई नै निरन्तरता दिएको छ । मेयरकी दाबेदार रहेकी उनले पार्टीको निर्णयपछि उपप्रमुखमै चित्त बुझाएकी छिन् ।

एमालेले चितवनको भरतपुर महानगरमा विजय सुवेदीलाई प्रमुखमा उठाउने निर्णय गरेको छ । उनलाई एमाले केन्द्रीय सदस्य एवं चितवन इन्चार्ज देवी ज्ञवालीले मेयरको सर्वसम्मत उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए । ज्ञवालीको प्रस्तावलाई भरतपुर महानगर कमिटीले सर्वसम्मत पारित गरेको थियो ।

हाल वाग्मती प्रदेश कमिटी सचिव रहेका सुवेदी एमाले चितवनमा तीन पटक पार्टी नेतृत्व हाकेको अनुभव रहेको छ । गत चुनावमा कांग्रेस–माओवादी गठबन्धनविरुद्ध चुनावी मैदानमा उत्रिएका ज्ञवाली यसपटक प्रतिस्पर्धाको रिङबाट पछि हटेका छन् । सुवेदीलाई भरतपुर महानगरको भूगोलमा राम्रो छवि बनाएका नेताको रूपमा हेरिएको छ । उनले वाग्मती प्रदेशसभा सदस्यबाट वैशाख ८ मा राजीनामा दिइसकेका छन् । भरतपुरमा राप्रपासँग तालमेल गर्ने प्रयास गरिराखेको एमालेले उपमेयरको टुंगो लगाएको छैन ।

वीरगञ्ज महानगरमा एमालेले नवप्रवेशीलाई उम्मेदवार बनाएको छ । वीगगञ्ज महानगरपालिकाका मेयरसमेत रहेका विजय सरावगी गत महिनामात्र जसपा परित्याग गरी एमाले प्रवेश गरेका थिए । उनी २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । उनले १९ हजार ३९३ मत पाएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले १२ हजार १६५ मत पाएका थिए ।

गत निर्वाचनमा लोकतान्त्रिक फोरमको तेस्रो स्थान, एमाले चौंथो र माओवादी केन्द्र पाचौं स्थानमा रहेको थियो । यसपटक एमालेले जित्ने हिसाबले अन्य पार्टीबाट आएका लोकप्रिय नेताहरू तथा सामाजिक अभियान्ताहरूलाई टिकट दिने रणनीति बनाएको छ । वीरगञ्जमा एमालेले लोसपासँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । लोसपाको भागमा उप–मेयर परेको छ ।

त्यस्तै एमालेले प्रदेश १ अन्तर्गत विराटनगर महानगरपालिका प्रमुख-उप्रमुखको टुंगो लगाएको छैन । एमाले महानगर कमिटीले मेयरमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईलाई उम्मेदवारमा सिफारिस गरेको छ । साह केन्द्रीय सदस्य, बस्नेत र भट्टराई प्रदेश कमिटी सदस्य, कार्की जिल्ला उपाध्यक्ष र थापा महानगर कमिटी अध्यक्ष हुन् । बस्नेत ‘गुण्डानाइके’ पृष्ठभूमिका हुन् ।