NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

शेखरको दाबी– देउवाले राज्य शक्ति दुरूपयोग गरेर पार्टीका विरोधी फसाउन खोजे

काठमाडौं । नेपाली कांग्रेसको गत महाधिवेशका सभापति प्रत्यासी शेखर कोइरालाले राज्य र पार्टी दुवैतिरका संयन्त्र दुरूपयोग गरेर सभापति शेरबहादुर देउवाले फरक विचार राख्ने नेता–कार्यकर्तालाई जालझेल मुद्दामा फसाउन खोजेको आरोप लगाएका छन् ।

स्थानीय तह निर्वाचनमा पार्टीले गरेको उम्मेदवार चयनलाई लिएर कांग्रेसमा असन्तुष्टि चुलिरहेका बेला कोइरालाले आफूसँग असहमत भएकै कारण संस्थापन पक्षले कैयन नेता–कार्यकर्ताको राजनीतिक जीवन समाप्त पार्न योजनाबद्ध प्रयत्न गरिरहेको संगीन आरोप लगाए ।

‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरूको राजनीतिन जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएका छन् । कैयन साथीहरूलाई राज्य र पार्टी संयन्त्रको दुरूपयोग गरी अनेकन जालझेल र मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षड्यन्त्र भएका छन्,’ बुधबार जारी विज्ञप्तिमा कोइरालाले भनेका छन् ।

कोइरालाले यस्ता कार्य तत्काल बन्द गर्न पनि संस्थापन पक्षसँग माग गरेका छन् । साथै उनले पार्टीभित्रका ज्यादतिविरुद्ध लड्ने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

असन्तुष्टलाई शेखरको ढाडस–अन्यायविरुद्ध म लड्छु, पार्टीमा फर्कंनुस्

‘हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं । तर पनि हामी लड्छौं । जित सत्य र न्यायको हुन्छ । हामी निराश हुनेछैनौं,’ कोइरालाले भने ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापतिमाथि कोइरालाले संगीन आरोप लगाए पनि पुष्ट्याइ हुने विवरण भने समावेश छैनन् ।

स्थानीय तह निर्वाचनको टिकट वितरणमा कांग्रेसभित्र आर्थिक चलखेल भएको दाबी पनि कोइरालाले गरेका छन् । उनका अनुसार, कांग्रेसभित्र आर्थिक चलखेलमा टिकट वितरण भएका विवरण सार्वजनिक भइरहेका छन् । सार्वजनिक भइसकेको कोइरालाले विज्ञप्तिमा उल्लेख गरे पनि त्यसबारे थप केही खुलाएका छैनन् ।

न्यायपूर्ण तरिकाले स्थानीय तहमा टिकट वितरण गर्ने पक्षमा आफू उभिए पनि नेतृत्वले सुनुवाइ नगरेर मनोमानी गरेको गुनासो कोइरालाको छ ।

संस्थापन पक्ष मनोमानी ढंगले पेलेर अघि बढे पनि यसलाई थाती राखेर पार्टीलाई विजय गराउने अभियानमा जुट्न कोइरालाले नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।