NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चुनावको ‘इपिसेन्टर’ भरतपुर : के ३० वैशाखपछि सत्ता गठबन्धन भत्किएला ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मुखमा पत्रकार सम्मेलन गरी सत्तापक्षीय गठबन्धनलाई चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

आइतबार बिहान केन्द्रीय कार्यलय ललितपुरमा गरेको पत्रकार सम्मेलनमा ओली कांग्रेस र निर्वाचन आयोगको भूमिकाप्रति निकै आक्रामक देखिए । कांग्रेस नेतृत्वको सरकारले बहुदलपछिको २७ वर्षमा देशलाई अँध्यारो सुरूङमा धकेलेको आरोप उनले लगाए ।

आयोगका पदाधिकारी कांग्रेसको निर्देशनमा चलेको, जारी गरेको आचारसंहिता मुद्दा लगाउने खालको भएको गम्भीर टिप्पणी गरे । गठबन्धनका शीर्ष नेताहरू भोट माग्न देश दौडाहामा निस्किएकै बेला ओलीले रणनीतिक हिसाबले पत्रकार सम्मेलन गर्दै गठबन्धनका दलमाथि विषवमन गरेका हुन् ।

मतदान गर्ने दिन ४ दिन बाँकी मात्र रहँदा ओलीले एमालेका उम्मेदवारलाई जिताउन ६७ बुँदे अपिल जारी गरेका छन् । गठबन्धनदलभित्र भागबण्डालाई लिएर एकअर्काप्रति आशंका उब्जिएको छ । गठबन्धनका उम्मेदवारविरुद्ध सत्ता नेतृत्वकर्ता कांग्रेसभित्रै असन्तुष्टि र केही ठाउँमा विद्रोही उम्मेदवार खडा छन् । यहीबेला ओलीले अपिल जारी गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
ओलीको भविष्यवाणी यस्तो छ

ओलीले विपक्षी नेताहरूलाई आलोचनामात्र गरेका छैनन्, वर्तमान गठन्धन असार १७ सम्ममा भताभुङ्ग हुने भविष्यवाणीसमेत गरेका छन् । तीनपटक प्रधानमन्त्री भइसकेका कम्युनिष्ट नेताले ज्यातिषीको हवाला दिँदै तिथि–मिति तोकेरै गठबन्धन भत्किने भविष्यावाणी गर्नुले तरंग ल्याएको छ ।

‘हामीले चाह्यौ भने गठबन्धन ढाल्न एक हप्ता पनि लाग्दैन । एक हप्तामा त ढल्छ ढल्छ । वैशाख ३० मा गठबन्धनको ढाड भाँचिनेछ । यो मेरो भनाइ होइन, मैले ज्योतिषीहरूले भनेको कुरा गरेको हुँ’, ज्योतिषीको हवाला दिँदै ओलीले भने, ‘प्रधानमन्त्रीजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ । नपत्याए प्रधानमन्त्रीका आफ्ना ज्यातिषीलाई गएर सोध्नुहोस् ।’

ओलीले ग्रह दशा हेर्ने र राजनीति हेर्ने दुइथरी ज्योतिषी हुने भन्दै अहिले दुवै प्रकारका ज्योतिषीहरूले गठबन्धनका अगाडि महासंकट उत्पन्न हुँदैछ भन्ने गरेको खुलासा गरे । तर यसबारे पत्रकार थप बुझ्न खोज्दा तर्किए । यसअघि एक अन्तर्वार्तामा ओलीले वैशाख ३० को खड्गो टरेपनि असार १७ मा गठबन्धन भत्किने भविष्यवाणी गरेका थिए ।

‘ज्योतिषीहरूको भनाइअनुसार सबैभन्दा ठूलो खड्गो वैशाख ३० मा छ । कस्तो दिन छानेर उहाँहरूले चुनावको मिति घोषणा गर्नुभएछ’, ओलीले भने, ‘निर्वाचन परिणाम घोषणापछि गठबन्धनले खाँबो बोक्न थाल्छन् । एउटाले एउटा खाँबो बोक्न थाल्छन् । अर्कोले अर्को खाँबो बोक्न थाल्छन् । असार १७ मा गठबन्धन भताभुङ्ग हुन्छ । नपत्याए यस विषयमा ज्योतिषलाई गएर सोध्नुहोस् ।’

देशीविदेशी षड्यन्त्रमा सर्वोच्च अदालतबाट परामादेश जारी गरी आफू नेतृत्वको सरकारलाई अपदस्थ गरेको आरोप ओलीले लगाउँदै आएका छन् । विपक्षीमाथि ओलीको पछिल्ला अभिव्यक्तिमा राजनीतिक संस्कार भन्दापनि अस्वभाविक र अन्धविश्वासको भावोत्तेजना झल्किएको देखिन्छ । तर ओलीले कुन ज्यातिषीको भविष्यवाणीलाई लिएर यस्तो अभिव्यक्ति दिएको भन्ने खुलाएका छैनन् । यस विषयमा पत्रकारले प्रश्न गर्दा प्रधानमन्त्रीका ज्योतिषीलाई सोध्न उनले सुझाए । इतिहास, भूगोल, विज्ञान, राजनीति, भाषा, संस्कृति र जीवनशैलीबारे हाँस्यव्यंग्य शैलीमा धाराप्रवाह प्रवचन दिदै आएका ओली पछिल्लो समय हिन्दू धर्म, धामीझाँक्री र ज्योतिषीप्रति विश्वास गर्न थालेका छन् ।
गठबन्धनविरुद्ध भरतपुर, वीरगञ्ज महानगरपालिका र उपमहानगरपालिकाका केही स्थानबाहेक देशभर एक्लै चुनाव लडेको एमालेले यो पटक ५५ देखि ६० प्रतिशत स्थानमा चुनाव जित्ने दावी गरेको छ । भरतपुर र वीरगञ्जमा राप्रपा र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)सँग चुनावी तालमेल गरेको छ ।

त्यस्तै एमालेलाई जनमतबाट नै ठेगान लगाउने रणनीति अनुसार सत्ता गठबन्धनले महानगरपालिकासहित प्रायः सबै पालिकामा चुनावी तालमेल गरेका छन् । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्वको लागि उम्मेदवार उठाएको छ । त्यस्तै गठबन्धनको निर्णायक शक्ति रहेको माओवादी केन्द्रले भरतपुरको मेयरमा उम्मेदवारी दिएको छ । एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्जमा भगबण्डामा मेयरको उम्मेदवार उठाएका छन् ।

ओलीको भविष्यावाणीको ‘इपिसेन्टर’ भरतपुर

शनिबार विराटनगरमा चुनावी सभालाई सम्बोधन गर्दै ओलीले प्रचण्डकै कारण गठबन्धन टु्ट्ने ठोकुवा गरेका थिए ।
‘चितवनमा गएर प्रचण्डले मेरो छोरीलाई जिताउनुभयो भने म उत्साहित हुनेछु । गठबन्धन १० वर्षसम्म लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्छु भनेछन्’, ओलीले प्रचण्डको अभिव्यक्तिप्रति इंगित गर्दै भने, ‘यदि कांग्रेसका मतदाताले छोरीलाई भोट दिएनन् भने देश दुर्घटनामा जान्छ भनेर धम्की दिएछन् । विचरा प्रधानमन्त्रीले भोलिपल्ट काठमाडौंमा भएको सभामा लगलग काँप्दै रेनुलाई प्रचण्डले नभइ आफूले मेयरको उम्मेदवार बनाएको अभिव्यक्ति दिएछन् ।’

उनले प्रचण्ड कस्ता व्यक्ति हुन भन्ने कुरा आफूलाई राम्रोसँग थाहा भएको जिकिर गरे । गत निर्वाचनको प्रसंग कोट्याउँदै उनले भने– ‘उनलाई छोरी–बुहारीबाहेक अन्यको चिन्ता छैन । गत निर्वाचनमा तपाईंसँग सहकार्य गर्न म तयार छु तर भरतपुरमा मेरो छोरीलाई मेयर दिनुपर्छ भन्नुभयो । मैले रेनुलाई मेयर दिन सक्दिनँ भनेपछि उहाँ कांग्रेससँग घाँटी जोड्न जानुभयो । प्रचण्डलाई इमान्दार र योद्धा कार्यकर्ताको कुनै मतलब छैन ।’

आलीको माथिको दुई प्रसंगबाट नै बुझ्न सकिन्छ कि ६ महानगरमध्ये सबैको ध्यान अहिले चितवनको भरतपुरले खिचेको छ । अर्थात भरतपुर ७५३ स्थानीय तहमध्ये ‘इपिसेन्टर’ नै भएको छ । भरतपुर प्रचण्डकोसमेत गृहनगर हो । उनकै पुत्री रेनु दाहाल पुनः भरतपुरको मेयरको उम्मेदवार बनेकी छिन् । रेनुको जित वा हारले नै सत्ता गठबन्धनको मात्रै होइन प्रदेश र संघीय निर्वाचनको चुनावी तालमेललाईसमेत असर गर्नेछ । भरतपुरमा रेनुलाई हराउन सकिए गठबन्धन भत्किने र त्यसको फाइदा आगामी संघीय निर्वाचनमा उठाउने दाउमा ओली छन् ।

कांग्रेसको राम्रो जनमत रहेको भरतपुर माओवादीलाई दिएकोमा आपत्ति जनाउँदै कांग्रेसका जिल्ला नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । रेनुलाई हराउनकै निम्ति एमालेले अन्तिम समयमा राप्रपासँग चुनावी तालमेल गरेको छ । गत निर्वाचनमा मतपत्र च्यातिएपछि १९ नम्बर वडामा पुनः निर्वाचन भएपछि रेनुले २०३ को मतान्तरले एमालेका उम्मेदवारलाई हराएकी थिइन् ।

ओलीले भविष्यवाणी गरेजस्तै भरतपुरमा रेनुले हारे गठबन्धनको औचित्य सकिने र त्यसको फाइदा एमालेले लिन सक्ने त्रास प्रधानमन्त्री देउवालाई सबैभन्दा बढी देखिन्छ ।

रेनुलाई हराउन स्वतन्त्र उम्मेदवारी दिएका पौडलको उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री देउवाले गृहमन्त्रीदेखि रामचन्द्र पौडेलसम्मलाई चितवन पठाएका थिए । आफैं फोन पनि गरेका थिए । तर पनि पौडेल ‘टसको मस’ नहुँदा गठबन्धनका शीर्ष नेताको टोली लिएर शुक्रबार देउवा आफैं चितवन पुगेर रेनुलाई भोट मागेका थिए ।

‘रेनुले भरतपुरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । राम्रो काम गरेको उम्मेदवारलाई हराएर तपाईंले के पाउनुहुन्छ ?’, प्रधानमन्त्री देउवाले भनेका थिए, ‘उहाँलाई अत्याधिक मतले जिताउन सम्पूर्ण मतदातालाई आग्रह गर्छु ।’

रेनुको पक्षमा भोट माग्नका लागि चितवनमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरूको लर्को लागेको थियो । यसले पनि सत्तापक्ष र प्रतिपक्ष दुवैको ‘इपिसेन्टर’ भरतपुर रहेको प्रष्टै देखाउँछ ।

चुनावी तालमेल हुने वा नुहने आशंकाबीच अन्तिम समयमा ६ महानगर र ११ उपमहानगरमा गठबन्धन दलका नेताहरूले भागबण्डा मिलाएका थिए । भागबण्डालाई लिएर सत्तारुढ दलभित्र अन्तरपार्टी र आन्तरिक असन्तुष्टि वैशाख ३० मा हुने मतदानमा पोखिने अनुमान ओलीको छ । त्यही रणनीति अनुसार ओलीले आफ्ना रणनीतिहरू ‘मुभ’ गरिरहेका छन् । ओलीकै अभिव्यक्तिलाई सापटी लिँदा यो स्थानीय तहको चुनावबाट आगामी दिनमा कस्तो राजनीतिक समीकरण बन्छ भन्ने तय गर्छ ।

निर्वाचनलाई दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका छन् । यसैले जित्नैपर्ने दवाब उनीहरूमा देखिन्छ । आगामी राजनीतिक समीकरण र भविष्यको निर्धारण भरतपुरले नै गर्ने शीर्ष नेताहरूको अभिव्यक्तिबाट पनि यहाँको चुनाव पेचिलो बन्ने पक्का छ ।