NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नौ पालिकामा यसकारण भएको छैन मतगणना

काठमाडौं । मधेस प्रदेशका नौ पालिकामा मतगणना सुरु नै हुन सकेको छैन । यी पालिकाका केही केन्द्रमा ३० वैशाखमा मतदान रद्द भएकाले मतगणना रोकिएको हो । जसमा रौतहटका मात्रै ६ पालिका छन् । रौतहटका गढीमाई नगरपालिका, देवाही गोनाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गरुडा नगरपालिका, बैधीमाई गाउँपालिका र यमुनामाई गाउँपालिकाका गरी २० मतदान केन्द्रमा निर्वाचन रद्द भएको थियो । विभिन्न दलका कार्यकर्ताबीच झडप र मतपेटिका नै तोडफोड भएपछि निर्वाचन रोकिएको थियो । ती केन्द्रमा बुधबार पुनः निर्वाचन हुँदै छ ।

मतगणना हुन नसकेका अन्य तहमा सिराहाको गोलबजार नगरपालिका, बाराको पचरौता नगरपालिका र सर्लाहीको बरहथवा नगरपालिका छन् । ३० वैशाखमा गोलबजारको वडा नं. ११ स्थित बल्कवा मतदानस्थलको क, ख, ग र घ केन्द्रमा दलीय विवाद तथा हावाहुरीका कारण मतदान नै रोक्नुपरेको थियो । यी केन्द्रमा मंगलबार पुनः मतदान भइसकेको छ र बुधबारबाट मत गन्ने तयारी छ । पचरौता नगरपालिकाको वडा नं. २ स्थित श्रीनगर बैरिया मतदानस्थलको श्रीनगर प्रावि र बरगाछी केन्द्र तथा वडा नं. ४ को बेलडाँडीस्थित नेपाल राष्ट्रिय प्रावि क र ख केन्द्रमा मतदान रद्द भएको थियो । यी ठाउँमा बुथ कब्जा गरेर मत हाल्ने प्रयास भएपछि मतदान रोकिएको थियो । बुधबार पुनः निर्वाचन हुँदै छ । त्यस्तै, बरहथवा नगरपालिका वडा नं. १७ को आधारभूत विद्यालय परोरिया मतदानस्थलका दुई केन्द्रमा जसपा र अन्य दलबीच विवाद हुँदा मतदान रद्द भएको थियो । यहाँ मंगलबार पुनः मतदान भएपछि बुधबारदेखि मतगणनाको तयारी भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।