NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

पूर्वमाओवादी पाँच एमाले नेताका पालिका : सिनियरले गुमाए, जुनियरले जोगाए

काठमाडौं । यतिबेला सबैको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित छ । सातै प्रदेशमा ६८५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कांग्रेस ३०५, एमाले १८६ सहित दोस्रो, माओवादी केन्द्र ११७ सहित तेस्रो र एकीकृत समाजवादी १७ सहित चौंथो स्थानमा विजयी भएको छ ।

गठबन्धनबाट सबैभन्दा बढी कांग्रेसलाई फाइदा पुगेको छ । गत निर्वाचनको तुलनामा माओवादीले पनि गठबन्धनबाट लाभ लिएको देखिन्छ । पार्टी विभाजनको क्षति योपटक एमालेले व्यहोरेको छ । ०७४ को निर्वाचन २९४ प्रमुख÷अध्यक्षसहित ४० प्रतिशत स्थान जितेको एमालेले अहिले २०० को हाराहारीमा जित्ने देखिन्छ ।

महत्वपूर्ण ६ महानगरपालिका शून्य हुने लगभग प्रष्ट भएको छ । संख्याको हिसाबले एकीकृत समाजवादीलाई बढी क्षति पुगेको छ । एमाले अध्यक्ष ओलीको कार्यशैलीविरुद्ध विद्रोह गरेका माधव–झलनाथले गठबन्धनको सहयोगमा धेरै स्थानमा कब्जा गर्ने रणनीति बनाएका थिए । तर यसमा धक्का पुगेको छ । यद्यपि समाजवादीले हेटौंडा उपमहागरपालिकामा जित निकालिसकेको छ । अब पोखरा पनि जित्न सके समाजवादीलाई ठूलो राहत मिल्नेछ ।

महानगर र उपमहानगरमा गठबन्धनका कारण एमालेलाई नसोचेको धक्का लागेको छ । माधव–झलनाथ समूह अलग भएपनि अन्य पार्टीबाट नेता तथा कार्यकर्ता प्रवेश गराएर क्षतिपूर्ति लिइसकेको ओलीको दावी झुट सावित हुन पुगेको नतिजाले देखाउँछ । एमालेको पाहुना उम्मेदवार रहेको वीरगञ्ज गठबन्धनका उम्मेदवारभन्दा धेरै पछाडि छन् । गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २४ हजार बढी मत पाउँदा एमालेका विजय सरावगीले १३ हजार मत कटाउन सकेका छैनन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा एमालेका उम्मेदवार झण्डै दोब्बर मतले पराजित भए । एमालेबाट काठमाडौंमा उपमेयरका उम्मेदवार सुनिता डंगोल र ललितपुरकी मञ्जली शाक्यले भने उत्साहजनक मतान्तरले अग्रता लिइरहेका छन् ।

अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ लगायत एमाले पृष्ठभूमिका शीर्ष नेताहरूको वडा र पालिकामा नै एमाले पराजित भएको छ ।

स्थानीय तहको निर्वाचनको मतपरिणाम समापनतर्फ उन्मुख हुँदै गर्दा नेकपा विभाजन पश्चात् एमालेमा गएका माओवादीका पूर्वप्रभावशाली नेताहरूको पालिकाको अवस्था पनि सुखद् छैन । पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरूको पालिका वा वडामा एमालेको अवस्थाबारे चासो हुनु स्वभाविकै देखिन्छ ।

२०७७ फागुन २३ मा नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज गरिदिएपछि साविक पार्टी एमाले र माओवादी केन्द्र ब्यूँतिए । माओवादीका प्रभावशाली नेता रामबहादुर थापा, टोबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगाए नेताहरू एमालेमा गएका थिए । ओलीले यिनै नेताहरूको सहयोगमा माओवादीलाई कमजोर बनाउने र नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गराउने रणनीति लिए । तर माओवादी केन्द्र झनै बलियो देखियो भने एमाले खुम्चियो ।
यस्तो छ पूर्वमाओवादी नेताहरूको पालिकामा चुनावी परिणाम

रामबहादुर थापा बादल

एमालेका उपाध्यक्षसमेत रहेका रामबहादुर थापा बादल प्रचण्डका विश्वासिला नेता थिए । दुवै नेता चितवनका भएकाले सानैदेखिका साथी हुन् । प्रचण्डले माओवादी युद्धको नेतृत्व गर्दा बादल योजनाकार थिए । शान्तिप्रक्रियामा आएपछि पनि लामो समय प्रचण्डको सहयोगी रहेका बादल ०६९ असारमा वैद्यसँगै पार्टीबाट अलग भएका थिए । ०७४ को निर्वाचन अघि बादल पुनः मूल घर माओवादी केन्द्र फर्किएका थिए । नेकपा विघटनसँगै उनी एमालेमै रहेका थिए । बादलको गृहनगर चितवनको भरतपुर–१० मा एमालेलाई पराजित गर्दै कांग्रेस विजयी भएको छ । एमालेका उम्मेदवार भक्तिप्रसाद गौतमलाई कांग्रेसका उम्मेदवार परमेश्वर खनालले २ हजार ४२८ मतसहित पराजित गरे ।
मेयरमा माओवादीका उम्मेदवार रेनु दाहाल ५ हजारको मतान्तरले अग्रता कायमै राखेकी छन् । उपमेयरमा पनि कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतको अग्रता लिएका छन् ।

लेखराज भट्ट

एमाले सचिव लेखराज भट्ट सुदूरपश्चिम कैलालीका युद्धकालदेखि नै प्रचण्डका विश्वास पात्र थिए । नेकपा गठन हुँदा प्रचण्डले सुदूरपश्चिममा भीम रावललाई विश्वास गर्न थालेपछि उनी चिढिएका थिए । पूर्वमाओवादीका प्रभावशाली नेता रहेका उनी नेकपा विघटनपछि माओवादीमा फर्किएनन् ।

उनी कैलालीका जमिन्दार हुन् । युद्धकालमा भट्टकै सहयोगमा प्रचण्डले आर्थिक सहयोग तथा हातहतियारको बन्दोबस्त गरेका थिए ।
भट्टले आफ्नै गृहनगर कैलालीको गोदावरी नगरपालिकामा एमालेलाई विजयी गराउन सकेनन् । प्रमुखमा कांग्रेसका वीरेन्द्र भट्ट १५ हजार ५०१ मतसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत पाए । उपमेयर एमालेका शारदादेवी रोकायले १० हजार ६७० मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार रत्न कडायतले ९ हजार ९८३ मत पाए ।
भट्टको वडा नम्बर १ मा कांग्रेसका गोपालदत्त भट्ट १ हजार ४७८ सहित विजयी भए । । एमालेका शर्मानन्द भट्टले १ हजार ३९१ मत पाए ।

टोपबहादुर रायमाझी

एमालेका सचिव रहेका टोपबहादुर रायमाझीले लामो समय डा. बाबुराम भट्टराई निकट रहेर काम गरे । भट्टराईका अत्यन्तै विश्वासिलो पात्र रहेका रायमाझी पहिल्यैदेखि प्रचण्डका कटु आलोचक थिए । भट्टराई ०७२ असोजमा माओवादी परित्याग गरी नयाँ शक्ति पार्टी गठन गर्दा रायमाझीले साथ दिएनन् । नेकपा विघटन भएपछि रायमाझी एमालेमै बसे ।

रायमाझीको गृहनगर सन्धिखर्कमा मेयर र उपमेयर दुवै एमाले विजयी भएका छन् । एमालेका उम्मेदवारले ११ हजार १३५ मत पाउँदा कांग्रेसका उम्मेदवारले ९ हजार ३३४ मत पाए । उपमेयरमा एमालेका उम्मेदवार ९ हजार ६४६ मतसहित विजयी भए । माओवादीका उम्मेदवारले ९ हजार १६८ मत पाए ।

स्थानीय तह निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका रायमाझी चुनावी परिणामलाई आफ्नो पोल्टामा पार्न महिनौं गृहनगर बसेका थिए । उनको वडामा पनि एमाले विजयी भएको छ । एमालेका उम्मेदवार पदमबहादुर भुसाल ७८६ सहित विजयी भए । माओवादी उम्मेदवार देवीबहादुर रायमाझीले ६६० मत पाए ।

मणिचन्द्र थापा

माओवादी युद्धमा लामो समय साँस्कृतिक कार्यक्रम चलाएका मणिचन्द्र थापा २०६२ मा पार्टीसँग विद्रोह गरी अलग्गिएका थिए । त्यसपछि ११ वर्ष लामो ‘रिभोल्युसनरी लेफ्ट विङ’ र पछि ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ गठन गरे । ०७३ मा पुनः माओवादी फर्केका थापा अहिले एमालेका स्थायी कमिटी सदस्य हुन् । नेकपा विघटन पछि एमालेमै रहे ।

प्युठान–८ का स्थायी बासिन्दा रहेका थापाको गृहनगरमा एमाले पराजित भयो । माओवादी बिष्णुबहादुर योगी ९ हजार ३२३ सहित विजयी हुँदा एमालेका विजयविराज विष्टले ७ हजार ८१६ मत पाए । उपमेयरमा कांग्रेसका देवेन्द्र बर्मा ९ हजार ४९० मतले वियजी भए । एमालेका उम्मेदवार पवित्रा जिसीले ७ हजार १८२ मत पाइन् ।

पालिकामा एमाले पराजित भएपनि थापाको वडा नम्बर ८ मा एमाले विजयी भयो । एमाले उम्मेदवार पदमबहादुर थापाले १ हजार ३२४ कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् ।

प्रभु साह

पूर्वमाओवादीका प्रभावशाली नेता प्रभु साह एमालेका स्थायी कमिटी सदस्य छन् । माओवादीमा लामो समय बाबुराम भट्टराई निकट रहेर काम गरेका थिए । रौतहट मौलापुर–५ स्थायी घर भएका साहको प्रभाव घटेको छैन । आफू एमालेको पदाधिकारीमा नपरेको र मधेस प्रदेशको जिम्मेवारीसमेत रघुवीर महासेठले पाएपछि पछि उनी ओलीसँग असन्तुष्ट छन् ।

स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा एमालेले जित हासिल गरेको छ । एमालेका उम्मेदवार रिनाकुमारी साह विजयी भइन् । साह प्रभुका श्रीमतीसमेत हुन् । गत निर्वाचनमा उनी माओवादीबाट मेयरमा निर्वाचित भएकी थिइन् । नेकपा विघटनसँगै एमालेमा लागेकी उनलाई प्रचण्डले निष्कासन गरेका थिए । तर सर्वोच्च अदालतले कारवाही बदर गरेपछि साह पुनः काममा फकिएकी थिइन् । मौलापुरमा प्रमुख, उपप्रमुखसहित प्रभुको वडामासमेत एमालेका उम्मेदवार विजयी भएका छन् ।