NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

१२ हजारबढी फराकिलो मतान्तरले भरतपुरको मेयरमा निर्वाचित रेनु को हुन् ?

काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाल फराकिलो मतान्तरले दोस्रो पटक मेयरमा विजयी भएकी छिन् । माओवादी केन्द्रकी उम्मेदार रहेकी उनले १२ हजार ४४९ फराकिलो  मतान्तरसहित एमालेका उम्मेदवार विजय सुवेदीलाई पराजित गरेकी हुन् । रेनुले ५२ हजार ३० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुवेदीले ३९ हजार ५८१ मत पाए । रेनुले १२ हजार ४४९ मतान्तरले विजयी भइन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले ५२ हजार ८०३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ३० हजार ६१२ मत पाइन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरीसमेत रहेकी रेनु गठबन्धन दलका साझा उम्मेदार हुन् । उनका उम्मेदवारीलाई लिएर असन्तुष्टि जनाएका चितवन कांग्रेसका नेता पौडेलले स्वतन्त्र उम्मेदारी दिएका थिए । रेनुलाई हराउनका लागि एमालेले ‘हेवी वेट’का उम्मेदवार विजय सुवेदीलाई वाग्मती प्रदेश सभा सदस्यबाट राजिनामा दिन लगाएको थियो । चुनाव जित्नकै लागि एमालेले निर्वाचनको मुखमा राप्रपासँग तालमेल ग¥यो ।

रेनुको उम्मेदवारीलाई लिएर कांग्रेस भित्रै असन्तुष्टि बढ्दै गएपछि शीर्ष नेताहरू नै चितवन गएर भोट मागेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले हसिया हतौडामा भोट नहाले देश दुर्घटनामा जाने चेतावनी दिएका थिए ।
अघिल्लो पटक २०३ मतको झिनो अन्तरले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेकी थिइन् । विभिन्न आशंकाबीच योपटक उनले फराकिलो मतान्तरले एमाले उम्मेदवारलाई पराजित गरिन् । अघिल्लो कार्यकालमा उनको नेतृत्वमा चितवनको भौतिक पूर्वाधार विकासमा राम्रो कामको सुरुवात भएको मानिन्छ ।

को हुन् नवनिर्वाचित मेयर रेनु ?

नवनिर्वाचित मेयर रेनु २०३३ साल असार २३ गते चितवनको शिवनगरमा जन्मेकी हुन् । उनी अध्यक्ष प्रचण्डकी माहिली छोरी हुन् । प्रवेशिका परिक्षा उत्रिण गरेकी रेनुले विद्यालय तहबाटै राजनीतिमा प्रवेश गरेकी थिइन् । ०५३ पछि माओवादीमा पूर्णकालीन सदस्य भएकी उनी जनयुद्धभर भारतमा रहेर काम गरेकी थिइन् । रेनु युद्धकालिन समयमा बुवा प्रचण्ड र आमा सीतासँगै देशभित्रै र प्रवासमा विभिन्न स्थानमा पुगेकी छिन् ।

उनले प्रवास भारतमै रहदा गुल्मीका अनिल कुमार पाठकसँग बिवाह गरेकी थिइन् । उनको परिवारमा सासु, ससुरा, श्रीमान, एक छोरा र एक छोरी छन् । उनी ०५६ मा जिल्ला कमिटी सदस्य भइन् । उनी ०६४ मा समानुपातिक संविधानसभा सदस्य रहेकी थिइन् । रेनु ०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भइन् ।

अहिले उनी माओवादी केन्द्रको केन्द्रीय  सदस्य रहेकी छिन् ।  रेनु संगठन निर्माणमा राम्रो प्रभाव रहेको मानिन्छ । देशको विकट ग्रामिण क्षेत्रमा संगठनात्मक काममा सक्रिय हुन रुचाउने उनी कम बोल्ने र बोलेको कुरा पूरा गर्ने नेतृको रुपमा परिचित छिन् ।