गुल्मीको जिल्ला समन्वय समितिकाे निर्वाचन असारमा
तम्घास । जिल्ला समन्वय समिति (जिसस) गुल्मीको निर्वाचन आगामी असार १ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १ गते निर्वाचन हुने गरी जिसस निर्वाचन-0७९ को कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिकाअनुसार बुधबार आयोगले यही जेठ २४ मतदाताको नामावली सार्वजनिक गरेको छ । त्यस्तै २७ गते मतदाता नामावली सच्याउन निवेदन दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
२८ गते मतदाताको विरोधमा उजुरी दिने र उजुरीउपर जाँचबुझ गर्ने एवं २९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
३० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । जेठ ३१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिए ।
कार्यालयले मतदानका लागि २४ मतदाताको नाम सार्वजनिक गरेको छ । जसअनुसार जिल्ला १२ पालिकाका २४ मतदाता छन् । स्थानीय तहका प्रमुख–अध्यक्ष एवं उपप्रमुख-उपाध्यक्ष जिल्ला समन्वय समितिको निर्वाचनका लागि मतदाता हुन पाउँछन् ।
समन्वय समितिको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) का १०/१० एवं नेकपा (माओवादी केन्द्र) का चार मतदाता छन् ।
कालीगण्डकीमा माओवादी केन्द्र, एमाले तालमेलबाट ‘सूर्य’ चिह्नबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएकाले माओवादी केन्द्रले आफ्नो पाँच र एमालेको नौ मत रहेको दाबी गरेको छ ।
पाँचदलीय गठबन्धनको तर्फबाट कांग्रेसका दोर्ण खत्रीलाई प्रमुख बनाउने तयारी छ । गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार भने अझै टुङ्गो लागेको छैन ।
शुक्रबार बस्ने बैठकले उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउने माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए । एमालेका सचिव गणेश श्रीपालीले भने पार्टीको तर्फबाट प्रमुख-उपप्रमुखमा उम्मेदवारी दिने वा नदिने भन्ने विषय नै टुङ्गो नलागेकाले उम्मेदवार नटुङ्ग्याएको प्रतिक्रिया दिए ।
गत वैशाख ३० को निर्वाचनमा कालीगण्डकी र धुर्कोट गाउँपालिकामा माओवादी एमाले तालमेल भएको थियो भने अन्य १० पालिकामा पाँचदलीय गठबन्धन भएको थियो ।
प्रतिक्रिया