NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

संस्कृत विषय अनिवार्य गर्न माग

काठमाडौं । राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलनले संविधान र कानूनले निषेध गरेको धर्म परिवर्तन नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ ।

राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घद्वारा आयोजित दुई दिवसीय सम्मेलनले आज सङ्कल्प प्रस्ताव पारित गर्दै संविधानमा नै व्यवस्था भएको परम्परादेखि चलिआएको धर्म, संस्कृति र परम्पराको रक्षा गर्न आवश्यक अध्ययन तथा सुझावसहितको प्रतिवेदन पेस गर्न अविलम्ब एक समिति गठनका लागि माग गरेको हो ।

सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र पुनःस्थापना गर्ने कार्यमा मन, वचन र कर्मले प्रतिबद्ध रहने सङ्कल्प गरेको सम्मेलनले सर्वपक्षीय सहमतिका आधारमा सनातन हिन्दू राष्ट्र स्थापना गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।

धर्म संस्कृतिको आडमा कायम रहेको सामाजिक सांस्कृतिक विभेद, छुवाछूत प्रथा र अन्धविश्वासले सनातन धर्म संस्कृतिलाई कमजोर बनाइरहेको ठहर गर्दै सम्मेलनले यस्ता समस्या र चुनौतीको निराकरण गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

सनातन हिन्दू राष्ट्रको पहिचान संवैधानिकरूपमा पुनःस्थापना गर्न एवं सनातन धर्म, संस्कृति र परम्परामाथि भइरहेको आक्रमण रोक्न सम्पूर्ण धार्मिक सङ्घसंस्था, धार्मिक गुरु, स्वामी, पण्डितहरुका बीचमा एकता, समन्वय र सहकार्यको निमित्त आग्रह गरेको सम्मेलनले गौरक्षाका निम्ति प्रत्येक पालिकामा कम्तीमा एउटा गौशाला निर्माण गर्न देशका सम्पूर्ण पालिकाहरुलाई आग्रह गरेको छ ।

सर्वधर्म समभाव मान्यताअनुसार हिन्दू, बौद्ध, किरात, जैन, शिख इस्लाम, इसाई समुदायसँग परस्पर सद्भाव, एकता र सहकार्य गरेर देशको मौलिक चरित्रलाई नष्ट पार्ने धर्म परिवर्तन कार्य तत्काल रोक्न सम्मेलनले अपिल गरेको छ ।

नेपाल हिन्दू, बौद्ध र किरातजस्ता विश्वका महानतम आदर्श, दर्शन र धर्महरुको उद्गमस्थल भएकाले वेद, उपनिषद्, भागवत गीता, अष्टावक्र गीता, मुन्धुम जस्ता महान् ग्रन्थहरूको महिमा र महत्वका विषयमा नयाँ पिँढीलाई जागरुक तुल्याउनका साथै माध्यमिक तहसम्म अधिकांश भाषाको जननी मानिएको संस्कृत विषय अनिवार्य गर्न सम्मेलनले माग गरेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष