NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सरकारको दोहोरो चाल, पाइप उद्योगको बेहाल

काठमाडौं । निर्माणका लागि आवश्यक अधिकांश कच्चा पदार्थ आयात गरेरै भए पनि नेपाल पाइप र फिटिंग्समा पूर्ण आत्मनिर्भर बनेको छ । स्वदेशी उत्पादनले माग धान्ने अवस्था हुँदाहुँदै पनि भारतलगायत मुलुकबाट यसको आयात भने जारी छ ।

व्यापार घाटा बढेको भन्दै सरकारले अहिले आयात प्रतिस्थापन नीति अघि सारेको छ । तर आफ्नो घोषित नीतिविपरीत सरकारले पाइपमा आत्मनिर्भर हुँदाहुँदै आयात जारी राखेको छ । नेपाल आयातमा आत्मनिर्भर भनिरहँदा नेपालमा कति पाइप र फिटिंग्स उत्पादन हुन्छ भन्ने यकिन तथ्यांक छैन । तर पाइप व्यवसायीहरू माग धान्न सक्षम रहेको बताउँछन् ।

पाइप र फिटिंग्समा मुलुक आत्मनिर्भर भए पनि अर्बौं रूपैयाँबराबरको पाइप र फिटिंग्स नेपाल भित्रिरहेका छन् । चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा मात्रै ८ अर्ब २८ करोड ९९ लाख रूपैयाँभन्दा बढी मूल्यका पाइप र फिटिंग्स आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

मुलुक पाइप उत्पादनमा आत्मनिर्भर हुँदाहुँदै सरकारले त्यसको आयात अनुमति दिँदा स्वेदशी उद्योग बजारको पिरलोले सताइएका छन् । पाइप उत्पादक कम्पनीका एक व्यवसायीका अनुसार नेपालमा पर्याप्त मात्रामा पाइपको उत्पादन हुँदाहुँदै सरकारले आयात गरिरहेको गुनासो गर्छन् । उनका अनुसार, भारत, चीन, भियतनामलगायत मुलुकबाट अहिले पाइप आयात भइरहेको छ ।

‘पाइपमा नेपाल आत्मनिर्भर छ । तैपनि, अहिले स्वदेशी उत्पादन प्रयोग नगरेर भारत, चीनलगायत मुलुकबाट आयात गरिरहेको छ,’ उनले गुनासो गरे । उनका अनुसार नेपालमा अहिले पिभिसी, सिभिसीको २० भन्दा बढी उद्योगहरू छन् । पिपिआरका ४ वटा छन् । ‘यी उद्योगले उत्पादन गर्ने पाइप नेपालका लागि छेलोखेलो हुन्छ,’ ती उद्योगीले नेपालवाचलाई बताए ।

एकातिर आयात प्रतिस्थापनको नीति अघि सार्ने र अर्कातिर आत्मनिर्भर वस्तुको आयात जारी राखेर सरकारले द्वेध रवैया देखाएको छ । यसले सरकारको ‘कथनी’ र ‘करनी’बीच अन्तर देखिएको छ । सरकारको अस्पष्ट नीतिले अनावश्यक वस्तुको आयात भइरहेको पाइप व्यवसायीहरूको भनाइ छ । आत्मनिर्भर हुँदाहुँदै पनि आयात गर्ने परिपाटीले स्वदेशी उद्योगीलाई हतोत्साहित गर्ने भएकाले पाइपजस्तै आत्मनिर्भर अन्य वस्तुको आयातमा कडाइ गर्नुपर्ने उद्योगीहरूको माग छ । यसबारे सरकारी अधिकारीलाई पटकपटक घच्घच्याए पनि सुनुवाइ नभएको पाइप कम्पनीहरूको गुनासो छ ।

‘कुनै वस्तुको ‘आयात नै बन्द गर’ भन्न त मिल्दैन । सरकारले पनि आयात बन्द गर्न सक्दैन । तर आयात गर्न नपर्ने वस्तुमा कडाइ गर्नुपर्छ,’ अर्का पाइप उद्योगीले भने । यसका लागि ड्युटी संरचनासँगै भन्सार दर वृद्धि गर्न सकिने उनको भनाइ छ । नेपालमा उत्पादित पाइपको गुणस्तरमाथि प्रश्न उठाउने पनि भेटिन्छन् । तर पाइप कम्पनीहरू यसमा सहमत छैनन् । स्वदेशी पाइप कम्पनीहरूका अनुसार नेपालमा अन्तर्राष्ट्रियस्तरको पाइप उत्पादन भइरहेको दाबी गर्छन् ।

मुलुक पाइप उत्पादनमा आत्मनिर्भर हुँदाहुँदै सरकारले त्यसको आयात अनुमति दिँदा स्वेदशी उद्योग बजारको पिरलोले सताइएका छन्

‘आज पनि एचडिपीई पाइपका लागि ग्लोबल टेन्डर आउँछन्,’ नेपाली पाइपको गुणस्तरबारे उठेका प्रश्नको जवाफ दिँदै ती व्यवसायीले भने, ‘तर सरकारले स्वदेशी उद्योगले उत्पादन गरेको पाइपलाई कम आँकिरहेको छ । आफूले नै भारतबाट आयात गरिरहेको छ । यसलाई रोक्नुपर्छ ।’ नेपालमा पाइप र फिटिंग्सको आयात सानो भोलुममा हुन्छ । सानो आकारको भए पनि यस्तै–यस्तैबाट आयात रोक्दै जानुपर्ने उनीहरू सुझाउछन् ।

सरकारले स्वदेशी पाइप उद्योगको उपेक्षा गर्दा विदेशीले पनि आफ्नै देशको उत्पादन प्रवद्र्धन गर्ने गरेको एक पाइप व्यवसायीको भनाइ छ । ‘भारतबाट जति पनि इन्जिनियरर्सहरू आउँछन्, तिनले आफ्नै देशको ब्राण्ड माग गर्छन्,’ उनले अगाडि थपे, ‘नेपालको उद्योगलाई सरकारले नै साथ नदिएको स्थितिमा विदेशीले कसरी गरोस् ।’

आयातलाई प्रोत्साहन गरेर सारा उद्योगलाई निरुत्साहित गरिएकाले नीति बनाएर नै त्यसलाई रोक्नुपर्ने उनीहरूको भनाइ छ ।

उद्योगमा बाढी, प्रतिस्पर्धा भारी

नेपालमा आवश्यकताको अध्ययन गरेर भन्दा पनि देखासिकीमा उद्योग, व्यवसाय सञ्चालन गर्ने रोग छ । विनाअध्ययन र अनुसन्धान उद्योग खोल्ने प्रवृत्ति नेपालमा माैलाउँदै गएको पाइएको छ । पाइप उद्योगकै उदाहरण दिँदै एक व्यवसायीले  ५० भन्दा बढी एचडिपिई पाइप कम्पनी नेपालमा सञ्चालन भइरहेको बताए । अन्य उद्योग सञ्चालनमा पनि यस्तै सोच हाबी भएको उनी बताउँछन् ।

उनका अनुसार, यसले दुई समस्या खडा गरेका छन् । पहिलो, उत्पादन गुणस्तरयुक्त नहुँदा स्वदेशी उत्पादनले विश्वास आर्जन गर्न सकेका छैनन् । अर्को, सानो बजारमा आवश्यकताभन्दा धेरै उद्योग हुँदा त्यसको विकास र विस्तारमा अवरोध भइरहेको छ । उनले आफ्नै क्षेत्रको उदाहरण दिँदै प्रश्न गरे– नेपालजस्तो सानो बजार किन चाहियो ५० एचडिपिई पाइप कम्पनी ?

इन्टर टेक ग्रुप अफ कम्पनी : युएनको जागिर त्यागेर बाबुले जन्माए, फुलाउँदैछन् पुत्रहरू

‘नेपालमा अध्ययनविनै उद्योग खुलेका छन् । एक जनाले खोल्छ, त्यसपछि अर्कोले ‘ए… उसले त कमाइ राखेको छ । म पनि त्यही गर्छु’ भनेर उद्योग खोल्छ,’ उनले अगाडि थपे । आवश्यकताभन्दा बढी उद्योग स्थापना हुँदा अस्वस्थ प्रतिस्पर्धा झाँगिएको उनको अनुभव छ । ‘गुणस्तर र रेट घटाएर वस्तु दिनु अस्वस्थ प्रतिस्पर्धा हो । उद्योग धेरै हुँदा यस्ता घटना बढेका छन् । यस्ता कुरामा सरकारले ध्यान दिनुपर्छ । त्यसमा उद्योगहरूले के सहयोग गर्नुपर्ने हो, तयार छौं,’ ती व्यवसायीले भने ।

यो प्रवृत्ति रोक्न सरकारी तबरबाट हुने अनुगमन प्रभावकारी हुने भए यसमा ध्यान नपुगेको उनको भनाइ छ । उनका अनुसार, अनुगमनका क्रममा देखिएका कमजोरीमाथि कारबाही गर्ने हो भने अस्वस्थ प्रतिस्पर्धा अहिलेजस्तो हुने थिएन । नेपालमा चाहिने पाइप र फिटिंग्स नेपालमै पर्यात्त पुग्ने भएपछि सरकारले विदेशी उत्पादनलाई निरुत्साहित गर्नुका साथै नेपाली उद्योग क्षेत्रलाई केही क्षेत्रमा छुट दिनुपर्ने व्यवसायीहरूको माग छ ।

उद्योग सञ्चालनमा सबैभन्दा महँगो खर्च हुने क्षेत्र बिजुली भएको र विनाबिजुली उद्योग नै नचल्ने भएकाले यसको शुल्कमा छुट दिन पाइप व्यवसायीहरूको माग छ । बेलाबेला विद्युत् आवागमन अवरुद्ध हुने समस्या पनि उद्योगीले झेलिरहेका छन् । पाइप उद्योगी सरकारले यो समस्याको शीघ्र समाधान हुनुपर्ने बताउँछन् ।

गुणस्तरमा भन्दा पनि मूल्यमा प्रतिस्पर्धा
नेपालमा एक त आवश्यकताभन्दा बढी उद्योग छन्, त्यसमाथि अस्वस्थ प्रतिस्पर्धा छ । यसले क्वालिटीमा भन्दा मूल्यमा प्रतिस्पर्धा बढ्न थालेको पाइप व्यवसायीहरू दुःखेसो गर्छन् । यो प्रवृत्ति नेपाली उद्योग र उपभोक्ताका लागि हानिकारक हुने उनीहरूको भनाइ छ ।  नेपाली उद्योगले मूल्यमा नभएर गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने पाइप कम्पनीहरू सुझाव दिन्छन् ।

गुणस्तरीय सामान उपभोक्ताको हातमा थमाउन सके मूल्यमा कुनै सम्झौता नगर्ने पाइप कम्पनीहरू बताउँछन् । ‘वस्तुको गुणस्तरमा प्रतिस्पर्धा हुनुपर्छ न कि मूल्यमा,’ पाइप कम्पनीका एकजनाले भने, ‘गुणस्तरयुक्त सामान दिने हो भने उपभोक्ता महँगोमा किन्न तयार हुन्छन् ।’