NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

२ हजार भत्ता पक्का गरेर सांसद हिँडे, कोरम नपुगेर एकै दिन दुईपटक संसद् स्थगित

काठमाडौं । कार्यकाल सकिनै लाग्दा सांसदहरूले बैठक ‘बंक’ गर्ने क्रम पनि बढेको छ । महत्त्वपूर्ण छलफल चलिरहँदासमेत धेरै सांसद हाजिर गरेर ‘टाप कस्ने’ गरेका छन् । जसका कारण संसद्को कामकारबाही नै प्रभावित हुने गरेको छ ।

आइतबार त गणपूरक संख्या नपुगेर एकै दिन दुईपटक प्रतिनिधिसभा बैठक स्थगित भयो । बैठकमा हाजिरी जनाएपछि प्रत्येक सांसदले दुई हजार भत्ता पाउँछन् ।

आइतबारको बैठकमा एक सय ८८ सांसदले हाजिरी जनाएका थिए । दिउँसो १ बजे बैठक सुरु भएपछि गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको संशोधन प्रतिवेदनसहित कारागार विधेयक छलफलका लागि पेस गरे । त्यतिखेरसम्म अधिकांश सांसद उपस्थित थिए । तर, छलफल चल्दै जाँदा सांसदको संख्या पनि घट्दै गयो । हाजिर गरेका सांसद एक–एक गर्दै बाहिरिए । छलफलमा उठेका प्रश्नको गृहमन्त्री खाणले जवाफ दिने पालो आउँदासम्म त धेरै सांसद बैठक छाडेर हिँडिसकेका थिए ।

गृहमन्त्रीको जवाफपछि सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रतिवेदनसहित विधेयक निर्णयार्थ पेस गर्न लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले बैठकमा गणपूरक संख्या नरहेको भन्दै नियमापत्ति गरे । उनको मागअनुसार सभामुखले सांसदको संख्या गणना गर्न लगाए । संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभाको बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा कुल संख्याको एकचौथाइ अर्थात् ६९ सांसदको अनिवार्य उपस्थिति चाहिन्छ । तर, यो विधेयक निर्णयार्थ प्रस्तुत गर्दा ६७ सांसद मात्रै उपस्थित थिए । त्यसपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

१५ मिनेटपछि सुरु भएको बैठकमा भने बल्लबल्ल गणपूरक संख्या पुग्यो । संसद् परिसरमै रहेको चमेनागृहमा बसिरहेका र बानेश्वरवरिपरि रहेका केही सांसद बैठकमा फर्किएका थिए । यो बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा पनि गणपूरक संख्या नपुग्ने भन्दै नियमापत्ति गरेका थिए । तर, गणना गर्दा सांसदको संख्या ७१ रहेको यकिन भयो । यो बैठकले संशोधन प्रतिवेदनसहित कारागार विधेयक, २०७८ सर्वसम्मतिले पारित गर्‍यो ।

त्यसपछि राष्ट्रिय सभाबाट संशोधनसहित आएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि बैठकमा छलफल भयो । यसलाई पनि आइतबार नै पारित गर्ने कार्यसूची थियो । तर, बल्लबल्ल जुटेका सांसदमध्ये केहीले फेरि सुइँकुच्चा ठोकिसकेका थिए । संख्या गणना गर्दा बैठक कक्षमा ५७ सांसद मात्रै देखिए । आवश्यक संख्या ६९ पुग्न १२ सांसद अपुग भए । दोस्रो बैठकमा पनि गणपूरक संख्या नपुगेपछि सभामुख सापकोटाले कार्यसूचीमा रहेका बाँकी कार्यक्रम हटाएर मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको घोषणा गरे ।

राजनीतिक दाउपेचका कारण लामो संसद् प्रभावित हुँदा कार्यकालको अन्तिममा हतारमा धेरै विधेयक टुंगो लगाउने सरकारको योजना छ । तर, सत्तापक्षकै सांसदसमेत बैठकमा बस्ने गरेका छैनन् । यस्तो प्रवृत्तिले एक त संसद्को काम–कारबाही प्रभावित भइरहेको छ भने अर्कोतिर सांसदहरूको ध्यान कानुन निर्माणभन्दा तलब–भत्तामा केन्द्रित देखिन्छ, नयाँ पत्रिकामा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष