गण्डकीका एकै मन्त्रीको वडामा ३० करोडमा योजना

कास्की । गण्डकीका अधिकांश पालिकामा प्रदेश सरकारका नगण्य योजना समेटिँदा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काको वडामा भने चालु आर्थिक वर्षका लागि ३० करोडका योजना परेका छन् । पोखरा महानगरपालिका–१६ घर भएका मन्त्री खड्काको वडामा भौतिक पूर्वाधारलगायत विभिन्न मन्त्रालयबाट कार्यान्वयन हुने गरी ७८ वटा योजनामा रकम विनियोजन गरिएको हो ।
प्रदेशको अर्थमन्त्रालयबाट जारी किताबअनुसार पोखरा–१६ मा २९ करोड ४३ लाखका योजना समेटिएका छन् । गण्डकी प्रदेश सरकरको कुल बजेटको ३६ दशमलव ३४ प्रतिशत रकम खड्काकै मन्त्रालयबाट खर्च हुन्छ । १३ अर्ब ५ करोड ८६ लाख रूपैयाँ बजेट रहेको उक्त मन्त्रालयको चालुतर्फ ३८ करोड ८६ लाख रूपैयाँ छ भने बाँकी पुँजीगत हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री खड्काले आफ्नै मन्त्रालयको चालु बजेट हाराहारीका योजना पोखरा–१६ मा पारेका हुन् ।
वडाभित्र समेटिएका योजना भने ५ लाखदेखि ४ करोड रूपैयाँसम्मका छन् । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन हुने गरी ३ वटा सडक पुल, २ वटा झोलुंगे पुल र सडक निर्माा, स्तरोन्नति, मर्मतका योजना, सामुदायिक भवन निर्माणका योजना उक्त वडामा पारिएका छन् । यसका लागि मात्रै ६ करोड ३४ लाख रूपैयाँ विनियोजन गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया