NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

देउवालाई प्रश्न : तपाईं कतिपटक प्रधानमन्त्री भएपछि आरजुले स्वदेशमै उपचार पाउँछिन् ?

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा उपचारको सिलसिलामा असार २६ मा भारत गइन् । नेपाल एयरलाइन्सको जहाजमार्फत भारत पुगेकी राणाले दिल्लीस्थित म्याक्स अस्पतालमा शल्यक्रिया गराएको जानकारी उनी आफैंले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएकी हुन् ।

बालुवाटार स्रोतका अनुसार पाठेघरसम्बन्धी समस्या देखिएपछि राणाको शल्यक्रिया गरिएको बताइएको छ । तर आरजु स्वयंले आफूले के को शल्यक्रिया गराएको हो भनेर खुलाएकी छैनन् । उनले आफ्नो उपचार सफल बनाएको भन्दै प्रा.डा. हरित चतुर्वेदी र डा. कन्किता बत्रा मोदीलाई धन्यवाद दिएकी छन् ।

शल्यक्रियापछि राणा अहिले राजनीतिक भेटघाटमा व्यस्त छिन् । तीनदिने भारत भ्रमणमा गएका माओवादी अध्यक्ष प्रचण्डले राणालाई नेपाली राजदूतावासमा भेटेरै स्वास्थ्य लाभको कामना गरेका थिए । राणाको भारत भ्रमणको विषयलाई लिएर कुटनीतिक क्षेत्रमा आशंका नजरले हेरिएको छ । तर सामाजिक सञ्जालमा उनले सार्वजनिक गरेको फोटोलाई लिएर राणाको स्वास्थ्यलाभको कामनासहित थ्रपै सवाल उठाइएको छ ।

राणाका आफ्नै श्रीमान् देउवा अहिले देशका प्रधानमन्त्री छन् । देउवाको यो पाँचौं पटक सत्तारोहण हो । सातपटकसम्म प्रधानमन्त्री बन्ने भविष्यवाणीको पर्खाइमा रहेका देउवा आगामी प्रतिनिधिसभा निर्वाचनपछि छैटौंपटक प्रधानमन्त्री बन्ने दौडमा छन् ।

तर देउवा पाँचौपटक प्रधानमन्त्री भइसक्दासमेत सामान्य उपचारको लागि उनकै पत्नी आरजु भारत पुग्नुपर्ने बिडम्बना छ । जसले सामाजिक संजालमा असन्तुष्टि र देउवाप्रति आक्रोश देखिएको हो । राणाले राखेको तस्बिरमा एक सर्वसाधारण सुरेश खड्काले उनलाई स्वास्थ्यलाभको कामना गर्दै गम्भीर प्रश्न तेस्र्याएका छन् ।

‘तिमीलाई, तिम्रो श्रीमान् ५ पटक नेपालको प्रधानमन्त्री र तिमीले गर्वका साथ यो तस्बिर पोस्ट गर्दैछौ । यति लामो प्रधानमन्त्रीको कार्यकालमा नेपालमा राम्रो अस्पताल खोल्न प्रोत्साहन पनि गर्नुभएन । लाज लाज लाज’, उनले सामाजिक संजालमा लेखेका छन् ।

२०५२ भदौ २७ मा देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा ४९ वर्षका थिए । देउवा सुदूरपश्चिमको डडेलधुराको गन्यापधुरास्थित विकट गाउँमा २००३ सालमा जन्मिएका हुन् । ज्यातिषीले सातौंपटकसम्म प्रधानमन्त्री हुने भविष्यबाणी गरेको विषयलाई उनले गर्वसाथ सुनाउँदै आएका छन् । सामान्य परिवारमा हुर्केको मानिसले २७ वर्षमा पाँचौंपटक प्रधानमन्त्री हुन पाउन आफैंमा सौभाग्य हो । तर सामान्य समस्याको उपचार गर्न प्रधानमन्त्री पत्नी नै भारतमा जानुपर्ने उत्तिकै बिडम्वनाको विषय पनि हो ।

यस्तो अमिल्दो र लज्जास्पद परिस्थितिलाई लिएरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रोष प्रकट गरेका हुन् । यस्तो रोष विरोधभन्दा पनि हाम्रो राज्यले सहजै उपचारको भरोसा दिलाउन नसेकेको सन्देश हो ।

कार्यकारी प्रमुखकै अर्धाङिगनीले विदेशमा गएर उपचार गर्नु बाध्यता हो ? वा नेपालको स्वास्थ्य उपचारमा विश्वास नभएर हो ? सर्वसधारणले गम्भीर सवाल उठाएका छन् । प्रतिष्ठित व्यक्तिलाई नै नेपालको उपचार प्रणालीप्रति विश्वास छैन भने सर्वसाधरण नागरिकको अवस्था कस्तो होला ? यो प्रश्न सरकारमाथिनै ।
अर्का सामाजिक प्रयोगकर्ता रमेश चन्दले राणालाई स्वास्थ्य लाभको कामना गर्दै चोटिलो व्यंग्य गरेका छन् । नेपालमा एउटा राम्रो अस्पताल बनाउन सकेनौं भन्ने योभन्दा उत्कृष्ट उदाहरण के हुनसक्छ ? उनको प्रश्न छ ।

‘हामीले नेपालमा एउटा राम्रो अस्पताल बनाउन सकेनौं भन्ने योभन्दा उत्कृष्ट उदाहरण के हुन सक्छ हजुर । राणाशासन, बहुदल गणतन्त्रमात्र भनेर कसरी चल्छ । चाँडै निको हुनुहोस्’, चन्दले लेखेका छन् ।

त्यस्तै नरेन्द्र चन्दले पाँचौंपटक प्रधानमन्त्री हुँदा एउटा राम्रो अस्पताल बनाएको भए भारत किन चाहर्नुपथ्र्यो भन्दै प्रतिक्रिया दिएका छन् । यी त सहानुभूतिसहित प्रतिक्रिया दिने प्रतिनिधि पात्र मात्र हुन् । त्यस्ता प्रतिक्रिया दिनेमा सयौं छन्, जसले नेपालको जर्जर स्वास्थ्य अवस्थाबारे सरकारको गम्भीर ध्यानार्षण गराएको छ ।

संयोग नै मान्नुपर्छ नेपालकै जेठो अस्पताल वीर अस्पतालले प्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यमा बिहीबार १३३ औं वार्षिक उत्सव मनाएको छ । तर राज्यको अर्बौ लगानी भएका यस्ता अस्पतालको उपचारमा राज्यका पहुँचवालालाई भर छैन । भर पर्ने गर्ने विश्वास दिलाउन नेतृत्वकर्ताले विश्वास दिलाउन सकेका छैनन् । राज्यका भिभिआइपीलाई उपचार गराउने भन्दै वीर अस्पतालमा सुविधासम्मपन्न उपचार कक्ष छन् । तर यी कक्ष प्रयोगविहीन अवस्थामा छन् । बरु राज्यकोषको करोडौं रुपैयाँमा नेताहरू उपचारको लागि विदेश जाने गरेका छन ।

यही जेठो अस्पतालमा प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवामा सर्वसुलभ ढंगले सेवा सुविधा उपलब्ध गराउन सरकार कटिबद्ध रहेको बताए । भविष्यमा सर्ने र नसर्ने रोगको पहिचान गरी घातक रोगको समयमै उपचार गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता पनि जनाए ।

‘भविष्यमा सर्ने भन्दा नसर्ने रोगको समस्या धेरै छन् । विश्व स्वास्थ्य संगठनको पूर्वाअनुमान पनि यही छ’, उनले भने, ‘नसर्ने गम्भीर प्रकृतिका रोगका बिरामीहरूलाई सहज उपचारको विकास गर्दै जानुपर्ने आवश्यक छ ।’ तर देउवाले उपचारको भरोसा दिलाउन आग्रह गरिरहँदा उनकै पत्नीले पनि यहाँको उपचारमा विश्वास मान्न सकिनन् ।

दरबारिया तथा आम नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने हिसाबले तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले वीर अस्पताल खोलेका थिए । सरकारी स्तरमा खोलिएको यो अस्पताल नै नेपालको पहिलो अस्पताल हो । एक सय ३३ वर्ष लामो इतिहास भएको अस्पताल एकातिर छ । अर्कोतिर नेपालका दूरदराजमा नागरिकले सामान्य सिटामोलसमेत खान नपाएर मर्नुपर्ने स्थिति छ । साथै पहुँचवालालाई यहाँको उपचारमा भरोषा नभएर विदेशमा उपचार गर्न जानुपर्ने अवस्था टिठलाग्दो छ ।

तर नेपालको उपचार पद्धतिको विषयमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतम धारणा फरक छ । उनी नेपालको स्वास्थ्य सुविधा पहिलेको जस्तो नभएको दाबी गर्छन् । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको अस्पताल निर्माण तथा सुविधा भएपनि विदेश गएर उपचार गर्नु चिन्ताको विषय भएको उनले बताए ।

‘म दाबीको साथ भन्छु अहिले जटिल रोगको उपचार नेपालमै सम्भव छ । राज्यका उच्च तहका व्यक्तित्वहरू उपचारका लागि विदेश जान आवश्यक छैन’, उनले भने, ‘उहाँहरूलाई अफ्नै देशका उपचार पद्धतिप्रति विश्वासै छैन । सायद आफ्नो रोगबारे जाकारी हुन्छ भनेर विदेश गएका हुनसक्छ । त्यस्तो मानसिकता त्याग्नुपर्छ ।’

राणाले भारतमा जुन प्रविधिबाट उपचार गराएकी छन्, ती उपचार नेपालमै गर्न सक्ने उनको भनाइ छ । उनका अनुसार भारत र युरोपमा प्रयोग हुने प्रविधि नेपालका सरकारी र निजी अस्पतालमा भएकाले धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन । तर बिडम्वना नेपालका अगुवा नेतालाई यहाँको उपचारमा भरोसा छैन ।