बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि भएन

काठमाडौं । संसदीय विशेष छानबिन समितिले चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश भएको पुष्टि हुने आधार नभेटिएको निष्कर्ष निकालेको छ । समितिले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउँदै छ ।
समितिले १७ दिन लगाएर छानबिन गरेको हो । ‘बिहीबार दिनभर नमिलेका विषय मिलाउनमा बैठक केन्द्रित रह्यो । प्रतिवेदन तयारी गर्ने काम सम्पन्न भएको छ । सचिवालयबाट केही प्राविधिक पक्ष मिलाउन मात्रै बाँकी छ,’ समितिका सचिव सुरेन्द्र अर्यालले भने, ‘त्यो मिलाएपछि भोलि (शुक्रबार) बिहान सभामुखसँग समय मागेर प्रतिवेदन बुझाउँछौँ ।’
समितिको निष्कर्षमा प्रमुख प्रतिपक्षी एमाले सांसदहरूले भने फरक मत दर्ज गराउने तयारी गरेका छन् । समितिमा सदस्य रहेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कतिपय विषयमा आफूहरूको विमति रहेको बताए । तर, उनले असहमतिका विषय भने बताएनन् ।
‘ती विषयमा सम्भवतः हाम्रो फरक मत रहन्छ । कतिपय निष्कर्षमा हाम्रो कुरा मिलेन । ती विषय प्रतिवेदनको प्राविधिक पाटो टुंग्याउँदासम्म समेटियो भने सहमत हुन सकिन्छ, नत्र कतिपय विषयमा हाम्रो असहमति रहन्छ भनेर उहाँहरू (समितिमा रहेका सत्तारूढ दलका सदस्यहरू)लाई भनेका छौँ । तर, अहिलेसम्म हेर्दा हाम्रो कुरा सम्बोधन हुने देखिएन । त्यसकारण फरक मत रहने लगभग स्पष्ट नै छ,’ ज्ञवालीले भने ।
बजेट आउनुभन्दा अघिल्लो दिन १४ जेठको राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो । ११ सदस्यीय समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक, कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सीताराम महतो, माओवादीबाट देव गुरुङ र शक्ति बस्नेत, एकीकृत समाजवादीबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।
६ मध्ये पाँच दलका सदस्य अनधिकृत व्यक्ति प्रवेशको पुष्टि प्रमाणबाट नभएको निष्कर्षमा पुगेका छन् । तर, एमालेले भने छानबिनमा सरकारी निकायबाट असहयोग भएको, प्रमाण लुकाइएको र बनावटी कुरा लेखिएको भन्दै असहमति जनाएको छ । समितिका एक सदस्यले भने, ‘ल्याबबाट आएको सिसिटिभी फुटेजको आधार, २२ जनासँग लिइएको बयान, पहिलेको परम्परालगायतका सबै कुरा हेर्दा कतैबाट पनि अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि हुने आधार देखिएन । हामीले त्यही आधारमा निष्कर्ष निकालेका छौँ । उहाँहरू (एमाले)ले प्रवेश भएको छ भन्ने कुरा गर्नुभएको छ । तर, प्रमाण पनि देखाउनुहुन्न । जिद्दी मात्रै गर्नुहुन्छ । उहाँहरूको फरक मत जान्छ कि ।’
प्रतिक्रिया