NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

डिजीले ब्रेक सम्झेर एक्सिलेटर दबाए, एफएम स्टेशन भत्कियो, गाडी क्षतविक्षत

काठमाडौं । पशु सेवा विभागका महानिर्देशक (डिजी) डा. रामनन्दन तिवारीले भयानक सवारी दुर्घटना गराएका छन् । दुर्घटनामा सरकारी गाडी क्षतविक्षत छ भने भवन र एफएम स्टुडियोमा क्षति पुगेको छ । गाडी चलाएका डिजीको हात र साइडमा बसेका चालकको खुट्टामा चोट लागेको छ । दुर्घटनामा गाडी र भवनमा गरी लाखौं रूपैयाँबराबरको क्षति भएको अनुमान छ ।

तिवारीले यही साउन ४ गते हरिहर भवनस्थित विभागको कार्यालय परिसरमा सवारी सिक्ने (हातसाफ) क्रममा बाग्मती प्रदेशको बि.एबी. १४५९ नं. को टोयटा हाइलक्स गाडी दुर्घटना गराएका हुन् । गाडीको ठक्करबाट विभागअन्तर्गतको क्वारेन्टाइन कार्यालयको भवनमा समेत क्षति पुगेको छ । विभागको तालिम केन्द्रले एफ.एम.रेडियो सञ्चालन गर्न केही वर्षअघि निर्माण गरेको भवनको भित्ता र स्टुडियो ठक्करले भत्किएको हो ।

तुलनात्मक रूपमा सुरक्षित मानिने टोयटा कम्पनीको हाइलक्स गाडीको तीनवटै एयर व्याग खुलेका कारण मानवीय क्षति हुनबाट भने जोगिएको विभागका एक अधिकारीले बताए । दुर्घटनामा तिवारीको हात भाँचिएको छ भने सिकाउन सँगै बसेका चालक सख्त घाइते छन् ।

विभागका एक अधिकारीले गाडी र भवन गरी करिब ४२ लाख रूपैयाँबराबरको क्षति हुन पुगेको बताए ।

‘डिजी सा’बले कार्यालयको गाडी ठोक्काउँदा भवन भत्किएको छ । गाडी पनि क्षत विक्षत भएको छ । यसबाट करिब ४२ लाखबराबरको क्षति भएको हाम्रो अनुमान छ,’ ती अधिकारीले भने ।

महानिर्देशक तिवारीले सवारी चलाउन दक्षता हासिल गर्दागर्दै पनि पार्किङ गर्ने क्रममा झुक्किएर दुर्घटना हुन पुगेको दाबी गरे । ‘म गाडी सिकेको र चलाउन पनि जानेको मान्छे हुँ । तर त्यो दिन कसरी झुक्किएँ, आफैंलाई थाहा छैन,’ सवारी दुर्घटना गराएकोबारे राखिएको जिज्ञासामा उनले भने ।

महानिर्देशक डा. तिवारीले सरकारीस्तरबाट तालिम लिई लाइसेन्स प्राप्त गरेको बताए ।

कसरी भयो दुर्घटना ?

पशु सेवा विभागको कार्यालय हरिहर भवन र महानिर्देशकको आवास बूढानीलकण्ठमा छ । तिवारी महानिर्देशक भएयता बूढानीलकण्ठस्थित सरकारी निवासबाट कार्यालय आउजाउ गर्छन् ।

गत साउन ४ गते विभागका चालक सुमन अधिकारी तिवारीलाई बोकेर विभागतर्फ आउँदै थिए । यूएन पार्कसम्म अधिकारीले गाडी चलाइरहेका थिए भने तिवारी सँगैको सिटमा थिए । त्यहाँ पुगेपछि तिवारीले हठात् चालकलाई गाडी रोकेर झर्न र आफू बसेको सिटमा बस्न आग्रह गरे । चालक अधिकारी ओलिएर अगाडि आइनसक्दै तिवारीको हातमा गाडीको स्टेरिङ परिसकेको थियो । गाडी हाँकेर उनी हरिहरभवनस्थित कार्यालयतर्फ अघि बढे ।

यूएन पार्कबाट विभागको कार्यालय मात्रै केही किलोमिटर भित्र छ । त्यहाँसम्म उनले राम्रैसँग गाडी चलाएर लगेका थिए । परिसर प्रवेश गरेपछि भने चालकले गाडी धुनुपर्ने भन्दै त्यही छाडिदिन डिजीलाई आग्रह गरे । तर गाडी सञ्चालनको अनुभव भर्खर भर्खर सँगालिरहेका डिजी तिवारीले पार्किङसम्म आफैंले लैजाने ढिपी गरे । विभागको पार्किङस्थलमा पुग्न केही उकालो चढ्नु पर्छ । राम्रोसँग उकालोबाट गाडी पार गराएका डिजीले पार्किङमा अर्को गाडीसँग ठोक्याउन खोज्छन् । त्यसक्रममा चालकले सचेत गराउँदै ब्रेक हान्न आग्रह गर्छन् । तर बेहोसी डिजीले ब्रेक नहानेर जोडले एक्सिलेटर दबाइदिन्छन् । शक्तिशाली पावर इन्जिन भएको गाडी बेजोडले क्वारेन्टाइन कार्यालयको भवनमा गएर बज्रन पुग्छ ।

दुर्घटनामा गाडी क्षतविक्षत हुन्छ भने ठोक्किएको भवनमा क्षति पुग्छ । डिजी स्वयंको हात भाँचिएको छ भने चालकको खुट्टामा चोट लागेको छ । घटनापछि डिजी तिवारीलई अर्को गाडीमा राखेर ट्रमा सेन्टर पुर्याइएको थियो । हातमा प्लास्टर गरिएका उनी अहिले स्वास्थ्यलाभ गरिरहेका छन् ।

महानिर्देशक डा. तिवारी प्रदेश १ को कृषि सचिवको जिम्मेवारीमा छँदै मन्त्रालयको स्वीकृत कार्यक्रमअनुसार सरकारी खर्चमै सवारी सिकेको बताउँछन् । उनका अनुसार, सवारी सञ्चालन गर्न जान्ने भएपछि उनले चालक अनुमतिपत्रका लागि आवेदन दिएका थिए । यसक्रममा पहिलोपटक अनुत्तीर्ण भएको र दोस्रो प्रयासमा सफल भएको उनको दाबी छ । तर स्रोत उनी दोस्रोपटक ट्रायल नै नदिई लाइसेन्स निकाल्न सफल भएको दाबी गर्छ ।

४२ लाखको नोक्सान, भाग्यले मानवीय क्षति टर्यो

कार्यालय प्राङ्गणमा आफूले गराएको दुर्घटनामा तिवारी र चालक अधिकारीको ज्यान त बचेको छ तर यसबाट लाखौंको सरकारी सम्पत्तिमा भने नोक्सान पुगेको छ । क्षतिग्रस्त गाडी मर्मतका लागि अहिले गोपाल अटोवर्क सप, ज्वागलमा लगिएको छ ।

वर्कसपका सञ्चालकका अनुसार, दुर्घटनाग्रस्त गाडीको अगाडिको भाग पूर्ण रूपमा क्षतविक्षत छ । तीनवटा एयरव्याग, बनोट, बम्पर ,च्यासिसलगायत अगाडिका कुनै पनि पार्टपुर्जा काम लाग्ने अवस्थामा रहेको वर्कसप सञ्चालकले बताए । वर्कसपले टोयटाको जेन्यून पार्टस नराखी मर्मतको कोटेसन उपलब्ध गराएको छ र पनि त्यसको मर्मत खर्च १७ लाख निकालिएको छ । टोयटाका ब्राण्डेड पार्टपुर्जा रिप्रेस गर्दा ३० लाख खर्च निस्किने भएपछि अन्य कम्पनीको राख्न लागिएको हो । वर्कसप सञ्चालकका अनुसार, गाडी मर्मतको इस्टिमेट प्रारम्भिक हो । योभन्दा बढी पनि लाग्न सक्छ ।

छैन गाडीको बीमा, मर्मत गर्न ऐन बाधक

 

नियमतः हरेक सरकारी गाडीको बीमा गर्नुपर्छ । सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका, २०७२ मा कार्यालयमा रहेका सबै सवारीसाधन हरेक वर्ष बीमा र तेस्रोपक्षको बीमा सम्बन्धित कार्यालयले गराउनुपर्ने उल्लेख छ ।

तर करिब पाँच वर्षअगाडि खरिद गरिएको उक्त गाडीको बीमा नवीकरण गत वर्षदेखि नै नगरिएको महानिर्देशक डा. तिवारी बताउँछन् । तेस्रो पक्षको बीमा भने नवीकरण भएको उनको भनाइ छ । यस्तो बीमाले सवारी साधन, चालक र त्यसमा सवार व्यक्तिको जोखिम वहन गर्दैन । तेस्रो पक्षलाई क्षति पुर्याएको अवस्थामा पाँच लाख रूपैयाँबराबरको क्षतिपूर्ति भने वहन गर्छ ।

नियमानुसार कुनै पनि सरकारी सवारी साधन मर्मत गर्दा सवारीको कुल मूल्यको २५ प्रतिशतभन्दा बढी देखिएको खण्डमा सो गाडी मर्मत गर्न मिल्दैन, लिलामी गर्नुपर्छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा भनिएको छ– ‘क्षतिग्रस्त सवारी साधन मर्मत गर्न बजार मूल्यअनुसार २५ प्रतिशतभन्दा बढी खर्च हुने प्राविधिक प्रतिवेदनमा उल्लेख भएमा कार्यालय प्रमुखले लिलाम बिक्री गर्नुपर्नेछ ।’

राम्रोसँग सञ्चालन भइरहेको, लाखौं रूपैयाँको गाडी महानिर्देशकको लापरबाहीका कारण अब मर्मत नगरी लिलामी गर्नुपर्ने भएको छ ।

तिवारी भने सरकारी खर्चमा नै दुर्घटनाग्रस्त गाडी मर्मत गर्न लागिएको बताउँछन् ।

दुर्घटनाका क्रममा भवन र त्यसमा रहेको एफएफ स्टुडियो प्वाल परेकाले त्यसको मर्मतका लागि १२ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको विभागका एक अधिकारीले बताए ।