NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

भारतीय मूलका सुनक बेलायतको प्रधानमन्त्री बन्लान् ?

काठमाडौं । एक समय बेलायतमा भारतीय मूलका मानिसहरूले धेरै प्रकारका भेदभावको सामना गर्नुपर्थ्यो । उनीहरूमध्ये कोही प्रधानमन्त्री बन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो ।

बेलायतमा विपक्षी लेबर पार्टीका सांसद वीरेन्द्र शर्मा अहिले ७५ वर्षका भए । उनी ५५ वर्षअघि पञ्जाबबाट लण्डन आएका थिए ।

प्रारम्भिक दिनहरूमा भोगेको भेदभावको निकै तीतो अनुभूति उनीसँग छ । ‘सन् १९६० को दशकमा ‘एसियालीका लागि घर भाडामा उपलब्ध छ तर कालाहरूका लागि होइन’ लेखिएको हुन्थ्यो । क्लबहरू बाहिर लेखिएको थियो, ‘कुकुर, आयरिश। घुमन्ते र कालाहरूलाई प्रवेश निषेध । जब अंग्रेजहरूले भारतका जनतालाई देख्ने गर्थे, उनीहरू हाम्रा गुलाम हुन् भन्थे, अहिले हामीसँगै बसेका छन्,’ विगत सम्झिँदै उनी विगत फर्किए ।

हिजो छिःछिः र दूरदूर सहेका वीरेन्द्र शर्माजस्ता भारतीय मूलका धेरै व्यक्ति अहिले बेलायतमा सांसद छन् । बोरिस जोन्सन सरकारमा मन्त्री बनेका धेरै भारतीय मूलका थिए ।

उनै जोन्सनको मन्त्रिपरिषद्मा रहेका भारतीय मूलका ऋषि सुनक त आज प्रधानमन्त्रीको दौडमा छन् । बेलायतको अर्थमन्त्री भइसकेका सुनक कन्जरभेटिभ पार्टीका प्रभावशाली नेता हुन् । प्रधानमन्त्रीको यो दौडमा ४२ वर्षीय ऋषि सुनकले अहिले लिज ट्रससँग प्रतिस्पर्धा गरिरहेका छन् । ट्रस पार्टीकी अनुभवी नेत्री हुन् ।

कन्जरभेटिभ पार्टीका १ लाख ६० हजार सदस्यहरूले बेलायतको भावी प्रधानमन्त्री चयन गर्न यी दुईमध्ये एकलाई छनोट गर्नेछन् । यसको छिनोफानो आगामी सेप्टेम्बर ५ मा हुनेछ ।

त्यसो भए के भारतीय मूलका सुनक बेलायतको प्रधानमन्त्री हुन सम्भव छ त ?

यस प्रश्नको जवाफ खोज्न, बीबीसी हिन्दीले समाजका हरेक समुदाय र कन्जरभेटिभ पार्टीका सदस्यहरूसँग कुरा गरेको छ ।

लन्डनबाट करिब एक सय किलोमिटर टाढा रहेको चेल्तेनहम सहर बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको गढ हो। लन्डन, बर्मिंघम, म्यानचेस्टर र लिभरपुलजस्ता ठूला सहरहरू बाहिर त्यस्ता साना सहरहरू र सहरहरूमा थोरै विविधता छ। यो मुख्यतया गोराको बाहुल्य रहेको सहर हो।

सुनक प्रधानमन्त्रीको दौडमा सहभागी भइरहँदा यिनै सहरमध्ये एककी गोरो महिलाले भनिन्, ‘सुनक अर्थशास्त्री हुन् । अर्थतन्त्रका लागि उनी राम्रो हुनेछन्। त्यसैले मलाई उनको मुद्दा बलियो छ जस्तो लाग्छ।’

उनकी अर्को सहकर्मी पनि प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्न सुनकको विकल्प नरहेको बताउँछिन् ।

अर्को एक महिलालाई सोधियो, के बेलायती समाज गैरगोरालाई प्रधानमन्त्रीका रूपमा स्वीकार गर्न तयार छ ?

उनले व्यक्तिगत रूपमा यस विषयमा नसोचेको उल्लेख गर्दै आफू स्वीकार गर्न पूर्ण रूपमा तयार रहेको बताइन् ।

बिबिसी हिन्दीका पत्रकारले सहरको बजारमा एक अर्को एक व्यक्तिलाई पनि ‘यहाँको समाज कालो जातिलाई प्रधानमन्त्रीका रूपमा स्वीकार गर्न तयार छ जस्तो लाग्छ रु भनी सोधेका थिए । जवाफमा ती व्यक्तिले आफू तयार रहेको बताए ।

बर्मिंघम बेलायतको दोस्रो ठूलो सहर हो। यहाँको जनसङ्ख्यामा विविधता छ । सहरमा भर्खरै सम्पन्न कमनवेल्थ खेलकुदको सांस्कृतिक समारोहमा यसको प्रतिविम्बि झल्किएको थियो ।

यहाँ पाकिस्तानी मूलका मानिसहरु धेरै छन् । के पाकिस्तानी मूलका मानिसहरू भारतीय मूलका सुनकलाई प्रधानमन्त्री बनाउन चाहन्छन् ?

शुक्रबारको नमाज पढेर मस्जिदबाट बाहिर निस्केका एक व्यक्तिले भने, ‘अब म आशा गर्छु कि पूरै समाजले उनको क्षमता देखेर स्वीकार गरिसकेको छ । मानिसको जात, रंग के हो, ऊ कहाँबाट आएको हो, त्यो हेर्ने छैन। ऋषि एक सक्षम व्यक्ति हुनुहुन्छ, त्यसैले मलाई उहाँमा विश्वास छ कि उहाँ राम्रो प्रधानमन्त्री बन्नुहुनेछ ।’

पाकिस्तान प्रशासित कश्मीरको मिरपुर सहरबाट बेलायतमा बसोबास गरेका अर्का एक व्यक्तिले सुनक प्रधानमन्त्री हुनुपर्ने बताए । भन्छन्, ‘मेरो विचारमा ऋषि सुनक प्रधानमन्त्री बन्नु पर्छ, किनभने विगत धेरै वर्षदेखि हामीले धेरैजसो गोराहरू प्रधानमन्त्री बनेको देखेका छौं। त्यसैले अब भारतीय मूलको वा एसियाली मूलको व्यक्ति प्रधानमन्त्री हुनुपर्छ । जसले धेरै परिवर्तन गर्न सकोस् ।’

सुनक हिन्दू हुन् र यसका विधिहरू मान्छन्। सन् २०१५ मा पहिलोपटक संसदको चुनाव जितेर उनले भगवद्गीतामा हात राखेर सपथ लिएका थिए । भारतीय मूलका मानिसहरूले सुनक प्रधानमन्त्रीमा चयन होऊन् भनेर अहिले प्रार्थनासभा आयोजना गरिरहेका छन्। तर के उनी साँच्चै प्रधानमन्त्री बन्लान् त रु प्रश्न यततत्र उब्जिएको छ ।

ऋषिको जन्म साउथह्याम्पटनमा १२ मे १९८० मा भएको थियो । उनी त्यहीँ हुर्किए । उनका आमाबाबु अझै पनि यही सहरमा बस्छन्। बुबा पेसाले डाक्टर हुन् भने आमाको अहिले पनि रासायनिक पसल छ । ऋषिको परिवार पूर्वी अफ्रिकाबाट आएर साउथह्याम्पटनमा बसोबास गरेको हो । उनी र उनको परिवारको वैदिक समाज हिन्दू मन्दिरसँग गहिरो सम्बन्ध छ।

यस मन्दिरमा पुगेको बिबिसी प्रतिनिधिले ७५ वर्षीय नरेश सोनचातलालाई भेटेको थियो । सोनचातला सुनकलाई बाल्यकालदेखि नै चिन्छन् ।
उनले भने, ‘मलाई लाग्छ उहाँ प्रधानमन्त्री बन्नुहुनेछ। तर यदि उहाँ बन्नुहुन्न भने यो उहाँको छालाको रंगको कारण हुन सक्छ।’

यस मन्दिरका अध्यक्ष सञ्जय चन्दराणालाई ऋषिमाथि भेदभाव होला भन्ने लाग्दैन । उनी भन्छन्, ‘बेलायतमा कसको नीति राम्रो छ, कसको मनोवृत्ति सही छ, कसले देशलाई अगाडि बढाउँछ भन्ने एजेण्डाले महत्त्व पाएको देखिन्छ। त्यसैले रंगले त्यति फरक नपार्ला कि ?’

समाजमा ऋषिको लोकप्रियता लिज ट्रसभन्दा बढी देखिए पनि जित–पराजय उनको पार्टीका सदस्यले नै तय गर्नेछन् । कन्जरभेटिभ पार्टीका युवा ऋषिको पक्षमा देखिन्छन् तर वरिष्ठ सदस्यहरूको ऋषिप्रतिको धारणा फरक छ ।

दलभित्रको माहोल
पार्टीले दुई नेतालाई मञ्चमा उतारेर देशका विभिन्न सहरमा बहस गराइरहेको छ । जसलाई हस्टिङ्स भनिन्छ।

चुनावमा लिज ट्रसको स्पष्ट अग्रता छ, तर हस्टिङ्सका क्रममा पार्टीका सदस्यहरूको झुकाव लिज ट्रसको तुलनामा ऋषि सुनकतर्फ बढी छ । अझ भनौ माहोल ऋषितर्फ नै बनेको छ ।

अभियान टोली पनि लिजको भन्दा सुनकको नै बढी व्यवस्थित देखिन्छ। ऋषिको टोलीमा युवाहरूको उपस्थिति पनि तुलनात्मक रूपमा बढी छ ।

लिजलाई भने धेरै पुराना नेताहरूको साथ छ । यति हुँदाहुँदै पनि ऋषिको शिविर आशावादी देखिन्छ ।

रिचर्ड ग्राहम ग्लुसेस्टर निर्वाचन क्षेत्रका कन्जरभेटिभ पार्टीका सांसद हुन् । उनी सुनकका घोषित समर्थक पनि मानिन्छन् । उनलाई मानिसहरू सुनकलाई प्रधानमन्त्री मान्न तयार छन् भनेर सोधिएको थियो । जवाफमा उनले आफू तयार भएको र अरू पनि धेरै सुनकलाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा रहेको बताँछन् । प्रधानमन्त्रीमा छनोट हुने या नहुने भन्नेमा रङको असर नपर्ने उनले बताए ।

ऋषि सुनकको प्रचार टोलीका एक सदस्यले भेदभावको विषयमा भने, ‘यो बहसको विषय हो भनेर पनि नसोच्नुहोस्। मलाई लाग्छ कि हामीले अहिले उम्मेदवारको नीतिमाथि बहस गरिरहेका छौं न कि रङ ।’

टोलीका एक युवा सदस्यले पनि सुनकको पृष्ठभूमि चिन्ताको विषय नभएको बताए ।

बहसमा लिज ट्रसको समर्थनमा केही व्यक्तिहरू पनि थिए । त्यसमध्ये एकले लिजले वास्तविक रुढीवाद देखाएकाले उनलाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहेको बताए । सुनकको पृष्ठभूमिले असर पार्ने, नपार्ने विषयमा बहस चलिरहेका बेला उनले यो गौण भएको सुनाए ।

मार्सिया जैको नामकी सेवानिवृत्त महिला शिक्षिकालाई सुनकको प्रधानमन्त्री बन्नमा कुनै समस्या छ कि भनेर सोधिएको थियो । उनले यसले थोरै असर गर्ने भए पनि यो सबै कुरा नभएको बताइन् ।

अहिले नभए २०२४ मा

गत जुलाईमा बोरिस जोन्सनले प्रधानमन्त्री पदबाट राजीनामा दिए । अहिले त्यहाँ उनको सरकार कामचलाउन छ भने त्यसपछि नयाँ प्रधानमन्त्रीको दौडको पहिलो चरणमा आठ उम्मेदवार खडा भएका थिए । आखिरी चरणभन्दा पूर्व पार्टीका सबै सांसदले भोट दिएका थिए, जसमा उनीहरूले ऋषि र लिजलाई छानेका छन् ।

अब अन्तिम चरणमा पार्टीका सबै १ लाख ६० हजार सदस्यले मतदान गर्नुपर्नेछ ।

मिडिलसेक्स युनिभर्सिटीकी डा। नीलम रैना गैर गोराका लागि यो देशको प्रधानमन्त्री बन्ने बाटो खुलेको बताउँछिन् ।

उनी भन्छिन्, ‘तपाईंले देख्नुहुन्छ कि ढोका खुला छ। यदि तपाईंसँग प्रतिभा छ भने, पहिलो नम्बरको ढोका खुला छ। तर यो ढोका अहिले एक धनी भारतीयका लागि खुला छ।’

ऋषि सुनक प्रधानमन्त्री बने भने त्यो ऐतिहासिक क्षण हुनेछ । एक अर्थमा यसलाई सन् २००८ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाको अमेरिकामा भएको विजयसँग तुलना गर्न सकिन्छ ।

डा. रैना भन्छिन्, ‘यस अर्थमा यो ऐतिहासिक हुनेछ, किनभने यसले विगत बीस वर्षदेखि चर्चामा रहेको विविधता र समावेशीकरणले साँच्चै काम गरिरहेको छ। हामीले जित्यौं भने ठूलो कुरा हुनेछ।’

तर पार्टीका सदस्यहरूको मत भने विभाजित देखिन्छ । अहिले सुनकको पल्लाभारी होला, नहोला भन्न सकिन्न । तर सन् २०२४ को चुनावमा भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावनालाई भने नकार्न सकिँदैन । (बिबिसी हिन्दीबाट)

ताजा अपडेट

नेपालवाच विशेष