गाडी चलाउन जहाजबाट इन्धन

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा ५ वर्षदेखि इन्धन कारोबार गरिरहेका लक्ष्मण ऐडीले महिनामा १५ लाख रुपैयाँ हवाई भाडा मात्रै तिर्छन् । हिमपात र वर्षाको समयमा उडान अवरुद्ध भइरहने हुँदा खच्चडबाट समेत इन्धन बोकाउँदा मासिक ३५ लाखसम्म खर्च हुन्छ ।
हवाई र खच्चड भाडा महँगो पर्ने भएकाले हुम्लामा पेट्रोल प्रतिलिटर ४ सय र डिजेल ३ सय ५० रुपैयाँमा किनबेच हुन्छ । ग्यास पनि उस्तै महँगो पर्छ । नयाँ ग्यास सिलिन्डर १४ हजार र फेरेकोलाई ९ हजार रुपैयाँ पर्ने स्थानीय कमला रोकाया बताउँछिन् ।
‘हुम्लामा मोटर नपुग्दासम्म हामीलाई भात खान पनि धौधौ छ,’ उनले भनिन्, ‘हुम्लामा गाडी ल्याउने सरकारको वाचा कहिले पूरा हुने हो हामी त्यही प्रतीक्षामा छौं ।’ ऐडीले हेलिकोप्टरमा १५ मिनेटको १ सय ५० रुपैयाँसम्म प्रतिलिटर इन्धनको ढुवानी भाडा तिर्नुपरेको बताए । सुर्खेत र नेपालगन्जमा डिजेल प्रतिलिटर १ सय ८७ र पेट्रोल १ सय ८० रुपैयाँमा बिक्रीवितरण भइरहेको छ । तर हुम्लामा त्यसको दोब्बरभन्दा बढी तिर्नुपर्ने बाध्यता भएको उनले बताए । स्थानीय पर्यटन व्यवसायी विजय लामाको अनुमानअनुसार वर्षमा हेलिकोप्टरमा मात्रै झन्डै एक करोड रुपैयाँ भाडा तिरेर इन्धन ढुवानी भइरहेको छ । लामासँग १४ बोलेरो, १५ वटा टिपर र २० वटा ट्र्याक्टर छन् । सुर्खेत र नेपालगन्जबाट उनले डिजेल बोकेर भए पनि हुम्लाजस्तो विकट क्षेत्रमा गाडीहरू सञ्चालनमा ल्याएको बताए । भदौको पहिलो साताबाट असोजसम्म विभिन्न १७ देशका झन्डै १४ सय नागरिकहरू यो बेलामा हुम्लामा मानसरोवर कैलाश दर्शन गर्न पुगेका छन् । जसका लागि लिमीको लाप्चासम्म ट्र्याक्टर र ट्रिपरमा पर्यटक ओसार्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार हुम्लामा वर्षमा झन्डै १० करोड मूल्यको इन्धन आइरहेको छ ।
अहिले हुम्ला सदरमुकाम र आसपासका क्षेत्रमा झन्डै एक सय वटा विभिन्न गाडी चलिरहेका छन् । पहिलोपल्ट नाम्खा गाउँपालिका–१ का सोनाम लामाले २०७५ मा काठमाडौंबाट चीन हुँदै हुम्लाको सिमकोटमा टिपर र बोलेरो पुर्याएका थिए । उनले अहिले सिमकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म झन्डै ५ वटा गाडी चलाइरहेका छन् । ‘राष्ट्रिय सञ्जालमा सडक जोडिएको भए यस्तो दुःख न हामीलाई हुन्थ्यो, न यात्रुलाई,’ उनले भने, ‘अब सदरमुकामसम्म गाडी पुग्न ७ किलोमिटर मात्र सडक खोल्न बाँकी छ, जति छिटो गाडी खुल्छ, त्यति छिटो हुम्लीले सुख पाउँछन् ।’ सिमकोटमा इन्धनको भाउ मात्रै महँगो छैन, दैनिक उपभोग्य सामग्रीको भाउ पनि अचाक्ली छ । ‘सुर्खेतबाट जहाजमा प्रतिकिलो १ सय ५० रुपैयाँ ढुवानी भाडा तिर्नुपर्छ,’ सिमकोटकै आदित्य जनरल स्टोर्सका सञ्चालक आनन्द महतले भने, ‘हामीले खाने नाफाभन्दा पनि ढुवानी भाडा महँगो भएपछि उपभोक्ता मारमा छन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया