NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एमालेमा १० भाइले टिकट पाउनै कठिन, पाए जित्नै मुस्किल

काठमाडौं । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार छनोटका लागि एमाले यतिबेला आन्तरिक छलफलमा व्यस्त छ । प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० सदस्यका लागि तल्ला कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारबारे छलफल गर्न ओली निवास बालकोटमा बुधबार र बिहीबार सचिवालय बैठक बस्यो ।

बिहीबार रातिसम्म बसेको बैठकमा ओलीले एकता पक्षधर भनिएका नेताहरूले माफि नमागेसम्म टिकट नदिने अडान राखिएको समाचार बाहिरिएपछि एमालेभित्र तरंग उत्पन्न भएको छ ।

१० भाइ नेतामध्ये ओलीको कटु आलोचकका रुपमा भीम रावल र घनश्याम भुसाल देखिएका छन् । यी दुई नेताले गत मंसिरमा चितवनमा भएको महाधिवेशनमासमेत ओली विरुद्ध उम्मेदवारी दिएका थिए । स्थानीय तह निर्वाचनमा ओलीको पराजय भएको भन्दै नैतिकताको आधारमा उनले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

भुसालको अभिव्यक्तिबाट चिडिएका ओलीले अनुशासनको कारवाही गर्ने सार्वजनिक चेतावनी दिएका थिए । आफ्नै पार्टीको सरकार ढालेर विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर अनुसाशनहीन काम गरेको ओलीले आरोप लगाउँदै आएका छन् ।

बुधबारको बैठकमा पनि यीनै नेतालाई टिकट दिने विषयमा ओलीले विशेष चासो राखेको समाचार बाहिरिएको थियो । एकता पक्षधर भनिएका नेताहरूले पार्टी अनुशासनहीन काम गरेकाले माफीनामा नगरेसम्म टिकट दिँदा पछि समस्या आउने विषय ओलीले बैठकमा राखेको सूचना चुहिएको थियो ।

तर ओलीका सचिवालयले समाचारको खण्डन गर्दै प्रायोजित र नियोजित समाचार बनाएर मिडियाले एमालेभित्र खेल्लन खोजेको आरोप लगाएका छन् । ओलीका सञ्चार विज्ञ रामशरण बजगाइँले झुटा सामाग्री प्रकाशन गर्नुभन्दा पार्टीकै चुनाव प्रचारमा लाग्न सम्पादकहरूलाई सुझाव दिएका छन् ।

‘एमालेको समानुपातिक सूचीबाट पूर्वमाओवादी असन्तुष्ट भएको, १० बुँदे वालालाई टिकट दिँदा ओलीले माफीनामा खोजेको’ आदि झुटा सामग्री प्रकाशित गर्नु भन्दा बरु त्यस्तो लेखाउने पार्टीकै चुनाव प्रचारमा लाग्न सम्पादकहरुलाई सुझाव दिन्छु । तपाईंहरुले कुन पार्टीको लागि लेख्नुहुन्छ भन्ने नखुलेको भए पो यस्ता दुश्प्रचार पत्याइन्थ्यो’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सचिवालय सदस्य पद्यमा अर्यालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेताहरूले माफी माग्नुपर्ने भन्ने विषय निराधार भएको जिकिर गरेकी छन् । बिहीबारको बैठकमा उम्मेदवारबारे घनिभूत छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको उनले बताइन् ।

‘उम्मेदवार छनोटको जिम्मा बैठकले अध्यक्षज्यूलाई दिएको छ । आवश्यकता अनुसार उहाँले पार्टीका नेताहरू र सम्बन्धित कमिटीसँगको परामर्शमा उम्मेदवार चयन गर्नुहुन्छ’, अर्यालले भनिन्, ‘चुनावमा केही दलहरू पनि एमालेसँग सहकार्य गर्न इच्छुक रहेकाले ती दललाईसमेत ध्यानमा राखि उम्मेदवार छनोट गरिन्छ । तर एकता पक्षधर भनिएका नेताहरूलाई माफी नमागेसम्म टिकट दिन नसकिने ओलीको अडान भनेर जसरी बाहिर मिडियाबाजी भएका छन्, ती निराधार हल्ला हुन् ।’

चुनावको मुखमा एमालेको आन्तरिक एकता खलबल्याउनका लागि सुनियोजित प्रचार भएको हुनसक्ने उनले बताइन् । सर्तनामा पुरा गरेमात्र एकता पक्षधरहरूलाई ओलीले टिकट दिने भन्नेबारे आफूहरूलाई १० बुँदेका संयोजकसमेत रहेका नेता भीम रावलले बताए ।

‘माफीनामा गरेमात्र एकता पक्षधरलाई टिकट दिने भन्ने विषय मैले पनि मिडियामार्फत थाहा पाएको हो । म पार्टी कामको शिलशिलामा अहिले सुदूरपश्चिमा छु । पार्टीबाट यो विषयमा मलाई अहिलेसम्म कसैले जानकारी दिएका पनि छैन । मैले अध्यक्षलाई भेटेको पनि छैन । अध्यक्षज्यूले पनि हामीसँग कुनै कुरा गर्नुभएको छैन । यदि बैठकमा अध्यक्षले त्यस्तो प्रस्ताव राख्नुभएको हो भने हास्यस्पद हो । सर्तनामा गरेर टिकट लिने पक्षमा हामी छैनौं ।’

सुदूरपश्चिका सहइन्चार्ज तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले एमालेलाई कमजोर बनाउन सुनियोजित रुपमा मिडियाबाजी भएको बताए ।

‘अध्यक्षले नचाहेको भए रघुजी पन्त समानुपातिकमै पर्ने थिएनन् । भीम रावलाई कसरी सर्वसम्मत उम्मेदवार छनोट भएर आए । तीमध्ये युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले चुनाव निकै खर्चिलो भएकाले आफैले चुनावमा भाग नलिने भनेका हुन् । अन्य नेताहरू जिल्लाबाट सिफारिस भएर आएकै छन् । निर्वाचनमा भाग लिन चाहिरहेकै छन्’, उनले भने, यी सबै निराधार कुरा हुन् । एमालेलाई कमजोर बनाउन सुनियोजित रुपमा गरिएको प्रचारबाजी हो । यसमा कुनै सत्यता छैन ।’

के हो १० बुँदेको वास्तविकता ?

तत्कालिन प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा हठात संसद विघटन गरेपछि नेकपाभित्र प्रचण्ड–माधव समूहले ओली विरुद्ध देशव्यापी सडक संघर्ष चलाएका थिए । नेकपा विवादसम्बन्धी सर्वोच्चमा परेको मुद्दामाथि सुनुवाइ गर्दै अदालतले नेकपा खारेज गरेको थियो । नेकपा खारेज भएसँगै साविक एमाले र माओवादी अलग पार्टीको अस्तित्वमा आएको थियो ।

एमाले ब्यूँतिएसँगै माधव–झलनाथ समूह साविक पार्टीमै फर्किका थिए । ओलीले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी १० औं आयोजक कमिटी बनाए । ओलीका कदमबाट झस्किएका माधव–झलनाथ समूह ओली विरुद्ध देशव्यापी समानन्तर कमिटी बनाए । जेठ ८ २०७८ मा ओलीले दोस्रोपटक संसद विघनट गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि माधव–झलनाथ समूहका २७ सांसदले संसद पुनस्र्थापना र विपक्षी दलका नेतासमेत रहेका देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर राष्ट्रपतिको कार्यालयमा बुझाएका थिए ।

राष्ट्रपतिले गठबन्धनको निवेदनलाई खारेज गर्दै प्रधानमन्त्रीमा ओलीलाई निरन्तरता दिएकी थिइन् । सोही कदम विरुद्ध देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा सशरिर उपस्थित भएर हस्ताक्षर बुझाएका थिए । आफू नेतृत्वको सरकार ढाल्न आफ्नै सांसदले अदालतमा हस्ताक्षर बुझाएपछि आक्रोसित भएका ओलीले माधवसहित १४ सांसदलाई कारवाही गरेका थिए ।

राजनीतिक खिचातानिले पार्टी नै विभाजन हुने अवस्थामा पुग्यो । एमाले विभाजनबाट रोक्न २७ असार २०७८ मा डा. भीम रावलको संयोजनमा १० बुँदे सहमति भएको थियो । सहमति भएको मशी सुक्न नपाउँदै ओलीले दोस्रोपटक विघटन गरेको संसद सर्वोच्चले असार २८ मा पुनस्र्थापना गर्यो । २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

तर भदौ २ गते माधव–झलनाथ समूह एमालेबाट अलगिने निर्णय गर्यो । पार्टी विभाजन रोक्न १० बुँदे सहमति गरेका माधव समूहका रावलसहित १० जना नेताहरूले माधवलाई साथ दिएनन् । उनीहरू एमालेमै फर्किए । एमाले फर्किनेमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, घनश्याम भुसाल, रघुजी पन्त, अमृत बोहरा रहेका छन् । त्यस्तै सांसद पवित्रा निरौला खरेल, यज्ञराज सुनुवार, नारायण खतिवडा, गणेश पाहाडी, झपट रावल, दीपकप्रकाश भट्ट पनि एमालेमै फर्र्किका थिए ।

यी हुन् अदालतमा हस्ताक्षर बुझाउने एमालेका सांसदहरू

१ झलनाथ खनाल
२ माधव नेपाल
३ पवित्रा निरौला खरेल
४ भीम रावल
५ यज्ञराज सुनुवार
६ घनश्याम भुसाल
७ विरोध खतिवडा
८ कृष्णलाल महर्जन
९ मुकुन्द न्यौपाने
१० जीवनराम श्रेष्ठ
११ नारायण खतिवडा
१२ गणेश पहाडी
१३ गोकर्ण विष्ट
१४ सोमप्रसाद पाण्डे
१५ मेटमणी चौधरी
१६ झपट रावल
१७ भवानी खापुङ
१८ दिपकप्रकाश भट्ट
१९ सुरेन्द्र पाण्डे
२० रामकुमारी झाँक्री
२१ सरला यादव
२२ पुष्पाकुमारी कर्ण
२३ कल्याणी खड्का
२४ निरादेवी जैरु
२५ कलिला खान
२६ लक्ष्मीकुमारी चौधरी

भदौ ११ मा बसेको एमाले केन्द्रीय कमिटी बैठकले एक महिलासहित बढीमा ३ जना उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । तर आकांक्षी धेरै भएपछि जिल्लाले सबै उम्मेदवारहरू केन्द्रमा सिफारिस गरेर पठाएका थिए । जिल्लाबाट सिफारिस भएर आउनेमा प्रत्यक्षतर्फ पूर्वमाओवादी पृष्ठभूमिका सबै सर्वसम्मत भए । १० बुँदेपक्षका नेताहरूमध्ये अछामबाट रावलबाहेक कोही पनि सर्वसम्मत छनोट भएनन् ।

रघुजी पन्त समानुपातिकतर्फ ओत लागेका छन् । उपाध्यक्षद्ववय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले प्रत्यक्षमा उठ्ने मनस्थिति बनाएका छैनन्। एमाले सल्लाहकार परिषद्का अध्यक्षसमेत रहेका अमृत बोहोरा चुनावी प्रतिस्पर्धाबाटै बाहिरिएका छन् ।

अहिले टिकट हत्याउन ओली निवासमा आकांक्षीहरूको दिनहुँ भीड लाग्ने गरेको छ । आकांक्षीहरूसँग ओलीले एकल संयुक्त रूपमा भेटघाटलाई तीव्रता दिएका छन् । सचिवालय सदस्यहरूसँग पनि एकल र सामूहिक भेटघाट गर्दै आएका छन् । प्रतिनिधिसभामा १६५ निर्वाचन क्षेत्रमध्ये ५६ वटा क्षेत्रबाट मात्र एकल उम्मेदवार सिफारिस भएका छन् । यीमध्ये ओलीसँग सहानुभूति राख्ने र उनी पक्षीय नेतामात्र सिफारिस भएका छन् ।

परिस्थितिको मूल्याङकन गरी आवश्यक स्थानमा भरपर्दो शक्तिसँग चुनावी तालमेल गर्ने नीतिलाई एमालेले त्यागिसकेको छैन । त्यसका लागि एमालेले राप्रपा, राप्रपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग छलफल जारी राखेको छ । यी शक्तिहरूसँग चुनावी तालमेल भए प्रत्यक्ष मारमा १० जना नेताहरू पर्ने देखिएका छन् । उनीहरू आफैं टिकट पाउनेमा ढुक्क छैनन् । ओलीविरूद्ध खरो रूपमा उत्रिंदै रावल र भुसाल टिकटकै लागि ओली निवास नधाउने बताएका छन् ।

बाँकीको हकमा पनि ओलीको दृष्टिकोण त्यति राम्रो नदेखिएको १० भाइ निकटस्थहरूको भनाइ छ । परिस्थिति हेरेर आफ्नो धारणा तय गर्न तयारी गरिरहेका छन् ।

श्रीमान र श्रीमती नै चुनावी प्रतिस्पर्धाबाट बाहिरिए

अष्टलक्ष्मी शाक्य/अमृत बोहोरा

एमालेका उपाध्यक्ष तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेकी अष्टलक्ष्मी शाक्यका श्रीमान÷श्रीमती नै योपटक चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । लामो समय माधव नेपालनिकट रहेर काम गरेका दुवै नेता मंसिर ४ मा हुने निर्वाचन प्रक्रियाबाट बाहिरिएको नेता अमृतकुमार बोहराले जानकारी दिए ।

तर आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएपनि आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन चुनावी कमाण्डर बन्ने घोषणा शाक्यले गरेकी छिन् । अघिल्लोपटक वागमती प्रदेशका मुख्यमन्त्रीको बलियो दाबेदार हुँदाहुँदै अध्यक्ष ओलीले आफूपक्षीय जुनियर सदस्य डोरमणि पौडेललाई मुख्यमन्त्री बनाएपछि उनी रुष्ट भएकी थिइन् । थोरै समय शाक्य मुख्यमन्त्री भएपनि विश्वासको मत पाउन सकिनन् ।

अघिल्ला निर्वाचनमा काठमाडौं– ८ बाट निर्वाचन जित्दै आएका शाक्य चुनावी प्रतिस्पर्धाबाट पछि हट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।अनुशासन आयोगका पूर्वअध्यक्ष तथा जेष्ठ नागरिकमञ्चका अध्यक्ष अमृतकुमार बोहोराले चुनाव लड्ने चाहना देखाएका छैनन् ।

अघिल्लोपटक समानुपातिकमा रहेका उनले समग्र परिस्थितिको मूल्यांकन गरी चुनावमा भाग नलिने निष्कर्षमा पुगेको बताए ।
‘समानुपातिकतर्फ धेरै विकृति भयो । एउटै व्यक्ति धेरै पटक दोहोरिनुभन्दा नयाँलाई अवसर दिनुपर्छ । योपटक प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उठ्ने मेरो चाहना छैन’, उनले भने ।

सिन्धुपाल्चोकका बोहोरा एमालेका पुराना नेता हुन् । कार्यवाहक महासचिवसमेत भएका उनले बारम्बार एउटै व्यक्तिले अवसर लिनुभन्दा नयाँलाई ठाउँ छोड्दिएको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै शाक्य काठमाडौं क्षेत्र नं. ८ र ९ बाट जित्ने सम्भावना बलियो भएपनि चुनावी प्रतिस्पर्धामा नरहेको जानकारी उनले दिए ।
‘आगामी विर्नाचनमा उहाँ समानुपातिक र प्रत्यक्ष दुवैमा बस्नु हुन्न । एउटै व्यक्तिले पटक–पटक अवसर लिनुभन्दा नयाँलाई ठाउँ छोड्दिनुपर्छ’, उनले भने ।

अन्ततः समानुपातिकमा ओत

रघुजी पन्त

स्थायी समिति सदस्य रघुजी पन्त माओवादीसँगको गठबन्धनका कारण अघिल्लो निर्वाचनमा ललितपुर– ३ बाट चुनाव लड्न बञ्चित भएका थिए । माओवादी नेता पम्फा भुसालले टिकट पाएपछि उनी पछाडि हटेका हुन् । ललितपुरबाट २ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । लामो समय माधव नेपाल निकट रहेका उनी ओलीका कटु आलोचक थिए । योपटक उनी समानुपातिकतर्फ बसेकाले प्रत्यक्षतर्फको उम्मेदवार बन्ने च्याप्टर नै क्लोज भएको छ । यसअघि उनलाई काठमाडौं–७ बाट उम्मेदवारमा सिफारिस गरेको थियो । तर उनले प्रत्यक्षतर्फ चाहना नदेखाएकाले समानुपातिकतर्फ राखिएको हो ।

टिकट पाउनै मुस्किल, पाए जित्नै मुस्किल

पूर्वमाधव समूहका १० जना नेतामध्ये आगामी निर्वाचनमा ७ जना प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ तल्ला कमिटीबाट उम्मेदवार सिफारिस भएका छन् । तीमध्ये रावलमात्र सर्वसम्मत सूचीमा छन् । अन्य नेताहरूले ओलीलाई खुशी पारेर टिकट पाउन निकै मुस्किल रहेको बुझिएको छ । तल्ला कमिटीबाट सिफारिस भएर आएका सात जना नेतामध्ये रावल र भुसाल टिकटका लागि ओली निवास नै नजाने मनस्थितिमा रहेको उनी निकटस्थ बताउँछन् । गठबन्धनका उम्मेदवारसँग भिड्न लागेका उनीहरूले टिकट पाएपनि ओली पक्षकै असहयोगका कारण चुनाव जित्ने सम्भावना देखेका छैनन् ।

युवराज ज्ञवाली
अघिल्लो निर्वाचनमा प्रत्यक्ष निर्वाचन नउठी दाङ– ३ बाट समानुपातिक सूचीमा रहेका उपाध्यक्ष ज्ञवाली योपटक पनि सोही क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका छन् । तर उनी सर्वसम्मत हुन सकेन् । ज्ञवालीलाई घनश्याम पाण्डे र कोमल वलीले चुनौती दिएका छन् । पाण्डे तुलसीपुर उपमहानगपालिकाका निवर्तमान मेयर हुन् । वली राष्ट्रियसभाका पूर्वसदस्य हुन् । पूर्वस्थानीय विकासमन्त्रीसमेत भएका ज्ञवाली एमालेभित्र सादगी र इमान्दार नेतामा चिनिन्छन् ।

अघिल्लो निर्वाचनमा दाङ–३ बाट एमालेका हीराचन्द्र केसी निर्वाचित भएका थिए । स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका उनी अहिले एकीकृत समाजवादीमा गएका छन् । अघिल्लो निर्वाचनमा उनी ४० हजार २८७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीले ३३ हजार ७३० मत पाएका थिए । केसीको मतान्तर ६ हजार ५५७ रहेको छ ।

स्थानीय तह निर्वाचनमा दाङ ३ मा एमालेको ३८ हजार ६५८, कांग्रेसको ३० हजार ९८९, माओवादीको १२ हजार ८८०, नेकपा एसको १ हजार ९३८, राप्रपाको १ हजार ४४४ र जसपाको १८२ रहेको छ । गठबन्धनको जम्मा मत ४५ हजार ९८९ रहेको छ । यहाँ गठबन्धन ७ हजार ३३१ मतले अगाडि रहेको छ ।

सुरेन्द्र पाण्डे
चितवन–१ बाट तेस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धा गर्न लागेका पूर्वअर्थमन्त्री तथा उपाध्यक्ष सुरेन्द्र पाण्डे सर्वसम्मत उम्मेदवार सिफारिस हुन सकेनन् । उनलाई वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलियाले चुनौती दिएका छन् । योपटक ओलीले थपलियालाई नै टिकट टिकट दिने सम्भावना बलियो रहेको स्रोतको दाबी छ ।

२०७४ मा चितवन १ बाट उनी ५१ हजार ८० मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत पाएका थिए । पाण्डेको मतान्तर १५ हजार ७२० रहेको छ ।

स्थानीय तह निर्वाचनमा चितवन १ बाट एमालेको ३९ हजार ६०६, कांग्रेसको ३६ हजार ७८३, माओवादीको ५ हजार ५०८, राप्रपाको ४ हजार ५९० र नेकपा एसको ४ हजार ५ मत रहेको छ । गठबन्धनको जम्मा मत ४६ हजार २९६ मत रहेको छ । एमालेसँगको मतान्तर ६ हजार ६९० रहेको छ ।

गोकर्ण विष्ट
गुल्मी क्षेत्र नम्बर–२ मा गोकर्णराज बिष्टसहित ३ जनाको नाम सिफारिस भएको छ । गुल्मी–१ मा पूर्वमन्त्री एवं उपमहासचिव प्रदीप ज्ञवाली सर्वसम्मत उम्मेदवार सिफारिस हुँदा विष्ट सर्वसम्मत हुन सकेनन् । योपटक उनीसहित राजेन्द्र अर्याल र शेषकान्त गौतम सिफारिस भएका छन् । प्रेस चौतारीका पूर्वअध्यक्षसमेत रहेका अर्याल विष्टका लागि चुनौति बनेका छन् । २०७६ मा ओलीले उनलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष बनाएका थिए ।

अघिल्लो निर्वाचनमा विष्ट गुल्मी २ बाट निर्वाचित भएका थिए । उनले ३४ हजार ६१८ मत ल्याउँदा कांग्रेसका उम्मेदवार चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाएका थिए । विष्टको मतान्तर १४ हजार ४६१ रहेको छ ।

गुल्मी २ मा स्थानीय तहको निर्वाचना एमालेले ३१ हजार २५३, कांग्रेसले २९ हजार ८२१, माओवादीले १ हजार ८४१, नेकपा एसले ६५८ र राप्रपाले १०१ मत पाएको छ । गठबन्धनको जम्मा मत ३२ हजार ३२० रहेको छ । एमालेसँगको मतान्तर एक हजार ६७ रहेको छ । यो क्षेत्रमा पनि एमालेले जित्ने सम्भावना बलियो देखिन्छ ।

योगेश भट्टराई
सचिव योगेश भट्टराईले ताप्लेजुङबाट सिफारिस त भएका छन् । तर उनलाई पासाङ शेर्पा, टंक आङ्बुहाङ र रामप्रसाद सुवेदीले चुनौति दिने भएका छन् । अघिल्लोपटक जितेर जिल्लामा केही नगरको तीलकुमार मेयाङबोले आरोप लगाएका छन् । ओलीले यसअघि भट्टराईलाई टिकट दिएका थिए । उनलाई जिताएमा मन्त्री बनाएर पठाउने आश्वासन दिएका थिए ।

अघिल्लोपटक आकांक्षी देखिएका तीलकुमारले योपटक भट्टराईले टिकट पाएपनि हराउने चेतावनी दिएका छन् । ७० प्रतिशत जनजाति बाहुल्यता रहेको ताप्लेजुङबाट भट्टराईले टिकट पाउन निकै कठिन भएको तिलकुमारले बताएका छन् । अघिल्ला वर्ष काठमाडौं ६ बाट दुईपटक चुनाव हारेका उनलाई झापा–१ बाट उम्मदवार बनाउने चर्चा चलेको थियो । तर त्यहाँ रविन कोइराला सर्वसम्मत सिफारिस भएकाले त्यो सम्भावना टरेको छ । भट्टराई निकट नेताका अनुसार उनी ताप्लेजुङबाटै उठ्ने तयारीमा छन् ।

भट्टराई अघिल्लो निर्वाचनमा ताप्लेजुङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भट्टराई २९ हजार ४७९ मत ल्याइ विजयी हुँदा कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत पाएका थिए । उनको मतान्तर १२ हजार ५९१ रहेको छ ।

वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा एमालेको २४ हजार २९५, कांग्रेसको १८ हजार २८४, माओवादीको ४ हाजर ४९७, नेकपा एसको १ हजार ३०८ र जसपाको ९२३ मत रहेको छ । गठबन्धनको जम्मा मत २५ हजार १२ मत रहेको छ । यहाँ गठबन्धन ७१७ मतले अगाडि रहेको छ । आगामी निर्वाचनमा एमालेले नै निर्वाचन जित्न सक्ने बलियो सम्भावना देखिन्छ ।

डा. भीम रावल
१० औं महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएका पूर्वउपाध्यक्ष रावल अछाम–१ बाट सर्वसम्मत उम्मेदवार चयन भएपनि टिकट पाउनेमा रावल नै ढुक्क छैनन् । यो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीलेसमेत दाबी गरेकाले रावलले टिकट पाएपनि जित सुनिश्चित छैन । नेकपा एसले श्रम मन्त्रीसमेत रहेका शेरबहादुर कुँवरलाई उठाउन चाहेका छन् ।

रावल सर्वसम्मत सिफारिस भएपनि टिकटका लागि भित्रभित्रै झपट बोहोराले ओली निवासमा लविङ गरिरहेको स्रोतको दाबी छ । पार्टीको निर्णय नमानेको, महाधिवेशन सर्वसम्मत हुन नदिएको, पार्टी नीति विपरीत अभिव्यक्ति दिएकोमा रावलप्रति ओली रुष्ट रहेका छन् ।
२०७४ को निर्वाचनमा रावल २४ हजार ८९३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार भरतकुमार

स्वाँरले १७ हजार ६८९ मत पाएका थिए । रावलको मतान्तर ७ हजार २०४ रहेको छ । स्थानीय तह निर्वाचनमा अछाम १ मा कांग्रेसको १६ हजार ७२८, एमालेको १६ हजार ५६७, माओवादीको ६ हजार ७९० र एकीकृत समाजवादीको २ हजार ७५२ मत रहेको छ । गठबन्धनको जम्मा मत २६ हजार २७० मत रहेको छ । एमालेसँगको मतान्तर ९ हजार ७०३ रहेको छ ।

घनश्याम भुसाल
स्थायी कमिटी सदस्यसमेत रहेका भुसालसहित रुपन्देही–३ बाट लुम्बिनी प्रदेश कमिटी सदस्य बासुदेव घिमिरे, लुम्बिनी प्रदेश कमिटी सदस्य यज्ञजित शाह र दुर्गा भुसाल सिफारिस भएका छन् । रुपन्देही–१ बाट चुनावी प्रतिस्पर्धा गर्न चाहेका भुसाल पार्टीभित्रै असहयोगका कारण साविक ३ नम्बर क्षेत्रमै बस्न बाध्य भएको उनी निकटले बताएका छन् । उनी निकट नेता भुसाललाई एक नम्बर क्षेत्र दिए एमालेले २ वटा क्षेत्र पक्का जित्ने दाबी गर्छन् । साविक ३ नम्बर क्षेत्र राप्रपका नेता दीपक बोहोराकोसमेत क्षेत्र भएकाले भुसालले टिकट पाउने सम्भावना न्यून रहेको उनी निकटस्थको भनाइ छ ।

भुसालले स्थानीय तह निर्वाचनमा पार्टी दोस्रो स्थानमा खुम्चिएपछि नैतिकताको आधारमा ओलीले राजीनामा दिनुपर्ने आशय व्यक्त गरेका थिए। उनको अभिव्यक्तिबाट आक्रोसित भएका ओलीले भुसाललाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

अघिल्लो निर्वाचनमा भुसाल ३२ हजार ८६६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार दीपक बोहराले २७ हजार ४२२ मत पाएका थिए । भुसालको मतान्तर ५ हजार ४४४ रहेको छ ।

स्थानीय तह निर्वाचनमा रूपन्देही ३ मा कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८, राप्रपाले १३ हजार ३९७ मत पाएका छन् । त्यस्तै जसपाको ६ हजार १८३, माओवादीको २ हजार ८८१, लोसपाको २ हजार १७४ र नेकपा एस ९७७ मत रहेको छ । यो क्षेत्रमा राप्रपा निर्णायक देखिएको छ । यहाँ गठबन्धनको ४४ हजार १९४ रहेको छ । एमालेभन्दा गठबन्धन १५ हजार १४६ ले अगाडि रहेको छ ।

भीमप्रसाद आचार्य
प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यसहित जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, पूर्व जिल्ला अध्यक्ष खेमराज पोखरेल, रामप्रसाद चौलागाईं र डम्बर सुवेदी सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यतर्फ सिफारिस सूचीमा छन् । सुनसरी–१ बाट चुनाव लड्ने उनले इच्छा देखाएका थिए । तर एमाले क्षेत्रीय कमिटीले उनको नाम हटाएर जयकुमार राईको नाम सिफारिस गरेको हो । छोटो

समय मुख्यमन्त्री भएका आचार्यले मन्त्रालयमा जनतालाई सहुलियत र सुविधा हुने धेरै नीतिगत निर्णयहरू गरेका थिए ।
अघिल्लो निर्वाचनमा आचार्य सुनसरी–१ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २० हजार २११ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धि कटुवालले १२ हजार ९४६ मत पाएका थिए । यी दुई उम्मेदवारबीच ६ हजार २६४ मतको अन्तर रहेको छ ।

यसैगरी स्थानीय तह निर्वाचनमा सुनसरी २ मा कांग्रेसले ३७ हजार ७३७ मत पाएर पहिलो दल भएको छ । एमालेको ३६ हजार ४७२, जसपाको ७ हजार ८५५, माओवादीको ३ हजार २५० मत रहेको छ । त्यस्तै राप्रपाको ३ हजार ११० र नेकपा एसको २ हजार ११९ मत रहेको छ । यहाँ गठबन्धनको ५० हजार ९६१ मत रहेको छ । गठबन्धन १४ हजार ४८९ मतले अगाडि छ ।