आलमपुत्र र गच्छदार काखा, मीनेन्द्र र स्वर्णिम पाखा !

काठमाडौं । भ्रष्टाचार आरोपमा गत संसद्मै निलम्बित विजय गच्छदारले चुनाव जिते पनि उनी निलम्बित नै रहन्छन् तर उनलाई पार्टी सभापति शेरबहादुर देउवाले सुनसरीबाट फेरि टिकट दिएका छन् । त्यस्तै जघन्य अभियोगमा जेलमा रहेका मोहम्मद आफ्ताव आलमका छोरा फिर्दोष आलमले पनि रौतहटबाट टिकट पाएका छन् तर कांग्रेस नेतृत्वले मीनेन्द्र रिजाल र स्वर्णिम वाग्लेलाई भने उम्मेदवारी दिएन ।
भ्रष्टाचारमा मुद्दा खेपिरहेका गच्छदारलाई नै फेरि टिकट दिँदा पार्टीभित्र असन्तुष्टि छ । उता यसअघि चुनाव जितेका सबैजसोले टिकट पाउँदा कांग्रेस नेतृत्वले रिजाललाई पाखा लगाएको छ । ०७४ मा वामगठबन्धनविरुद्ध मोरङ–२ मा निर्वाचित रिजालको स्थानमा यस पटक सुजाता कोइरालालाई उम्मेदवार बनाइएको छ ।
अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेले पनि कांग्रेसबाट टिकट पाउन सकेनन् । उनको नाम चितवन–१ बाट सिफारिस भएको थियो । चितवन–१ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले उम्मेदवारी दिने निश्चित भएपछि वाग्लेले गोरखा–१ वा काठमाडौं–५ मध्ये एकबाट टिकट पाउने अपेक्षा गरेका थिए ।
वाग्लेलाई उम्मेदवार बनाउन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा दुवैको जोड थियो । थापाले वाग्लेका लागि काठमाडौं–४ छाडेर विकल्पमा सर्लाही–४ बाट उम्मेदवारी दिने मनस्थितिसमेत बनाइसकेका थिए । थापा सर्लाही सर्न तयार भएपछि सभापति देउवाले नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई बोलाएर काठमाडौं–४ को टिकट नै थमाइदिएका थिए । वाग्लेलाई टिकट दिन देउवा तयार नभएपछि थापाले पनि काठमाडौं–४ छाड्न मानेनन् । कैलालीबाट सिफारिस महरले कतैबाट पनि टिकट पाएनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया