जो पहिलोपटक प्रतिनिधिसभामा भिड्दै छन्

आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलहरूले कैयौँ नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन् । नयाँ दलबाट मनोनयन दर्ता गरेका र स्वतन्त्र उम्मेदवार त अधिकांश पहिलोपटक संघीय निर्वाचन लड्दै छन् । कतिपय नयाँ अनुहार समाजमा चर्चित र आसलाग्दा पनि छन् ।
एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबाट पहिलोपटक निर्वाचन लड्नेको संख्या उल्लेख्य छ । लोसपाले भने अधिकांश पुरानै अनुहार दोहोर्याएको छ । अधिकांश ठाउँमा उम्मेदवारी दिएको राप्रपाबाट नयाँ अनुहार उल्लेखनीय छन् ।
निर्वाचनमा सत्तारूढ दलहरू र विपक्षी एमाले छुट्टाछुट्टै गठबन्धन बनाएर गएकाले सीमित सिट मात्र भागमा परेका छन्, जसका कारण सोचेजस्तो नयाँ अनुहारलाई उठाउन नसकिएको केही दलहरूको भनाइ छ ।
एमाले निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहालले युवा र नयाँ ४० प्रतिशतलाई टिकट दिइएको दाबी गरे । ‘हामीले युवा र यसअघि अवसर नपाएकालाई प्राथमिकता दिएका छौँ । कुल उम्मेदवारको ४० प्रतिशत हाराहारीमा नयाँ अनुहार छन्,’ उनले भने ।
कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मन्सुरले टिकट वितरणमा नयाँ पुस्तालाई प्राथमिकतामा राखेको बताए । ‘सबै उमेर समूह समेटिने गरी टिकट वितरण गरेका छौँ । पुरानो पार्टी भएकाले उमेरले मात्रै युवा होइन, पार्टीमा लामो समय योगदान गरेकालाई पनि समेट्नुपर्ने हुन्छ । टिकट वितरणमा केही पुराना पुस्ताका बाहेक अधिकांश नयाँ पुस्ता र नयाँ अनुहारलाई प्राथमिकतामा राखेर टिकट दिएका छौँ,’ उनले भने ।
माओवादी कोषाध्यक्ष श्रीराम ढकालले पनि युवा र नयाँ अनुहार धेरैलाई टिकट दिएको दाबी गरे । उनले भने, ‘हाम्रो पार्टीबाट अनुभवी, युवा र नयाँ अनुहार सबै उम्मेदवार हुनुहुन्छ । वरिष्ठ नेताहरूले युवालाई ठाउँ दिन उम्मेदवार नबन्ने घोषणा नै गर्नुभयो ।’
एकीकृत समाजवादीका कार्यालय सचिव एवं उपमहासचिव डा. गंगालाल तुलाधरले पार्टीले नयाँ र पुराना अनुहारलाई मिलाएर उम्मेदवार बनाएको बताए । ‘हामीले नयाँ र पुराना दुवैलाई सन्तुलन मिलाएका छौँ । गठबन्धनका कारण सोचेजस्तो नयाँ अनुहारलाई उठाउन सकिएन,’ उनले भने ।
जसपाका प्रवक्ता मनीष सुमनले मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तिलाई उम्मेदवार बनाएको बताए । नयाँ अनुहारलाई पनि स्थान दिएको उनको भनाइ छ । ‘हामीले पार्टी संगठनभन्दा बाहिरबाट कसैलाई पनि उम्मेदवार बनाएका छैनौँ । मधेस आन्दोलनमा सक्रिय भूमिका खेलेका व्यक्तिलाई प्राथमिकता दिएका छौँ । युवा र नयाँ अनुहारलाई पनि स्थान दिएका छौँ ।’
सत्तारूढ गठबन्धनसँग चुनावी तालमेल गरेको सात र मित्रवत् प्रतिस्पर्धा गरेको एकसहित आठ क्षेत्रमा लोसपाका सबै उम्मेदवार पुरानै अनुहारका छन् । लोसपाका नेता केशव झाका अनुसार सत्तारूढ गठबन्धनसँग तालमेल भएका प्रतिनिधिसभाका सात क्षेत्रमा जसपाका नयाँ अनुहार नभए पनि अन्य क्षेत्रमा नयाँलाई टिकट दिइएको छ । जसपाले प्रतिनिधिसभामा ५३ जना उम्मेदवार उठाएको उनले जानकारी दिए । ती क्षेत्रमा युवा र नयाँ अनुहार पनि उम्मेदवार बनेको उनको दाबी छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया