NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

बागीले बढाए चुनौती, कोविरुद्ध को ?

काठमाडौं । सत्ता र प्रतिपक्ष दुवै गठबन्धनलाई बागी उम्मेदवारबाट चुनौती बढेको छ । गठबन्धनभित्र मात्र होइन, सबै प्रमुख दलभित्र पनि बागी छन् ।

एमाले र जसपा गठबन्धनविरुद्ध प्रतिनिधिसभाका १५ क्षेत्रमा बागी उम्मेदवारी परेको छ जसमा ८ उम्मेदवार एमालेविरुद्ध नै छन् । मधेस प्रदेशसभामा मात्र प्रभु साह समूहले १७ स्थानमा बागी दिएको छ ।

एमाले स्थायी समिति सदस्य साहले पार्टीको टिकट खल्तीमा लुकाएर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । माओवादी छाडेर दुई वर्षअघि एमाले प्रवेश गरेका साहलाई सत्ता गठबन्धनले समर्थन गरेको छ ।

निर्वाचन क्षेत्र र प्रदेशबाट समेत सिफारिस भए पनि नेतृत्वबाट टिकट नपाएका एमाले पूर्वउपमहासचिव घनश्याम भुसाल रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । एमालेका छविलाल विश्वकर्मासँगको प्रतिस्पर्धामा भुसाललाई सत्ता गठबन्धनले समर्थन गरेको छ । त्यस्तै काठमाडौं–७ मा एमालेका श्याम घिमिरेविरुद्ध पूर्वमन्त्री रामवीर मानन्धर उम्मेदवार भएका छन् ।

दाङ–१ मा शान्ता चौधरीविरुद्ध गंगा चौधरी सत्गौवाले उम्मेदवारी दिएकी छन् । दुवै जना निवर्तमान सांसद हुन् । दैलेख–१ एमालेका रवीन्द्रराज शर्माविरुद्ध गोपाल नेपाली बागी बनेका छन् । त्यस्तै सुनसरी–१ मा तालमेल हुँदा जसपाका अशोक राईले टिकट पाएपछि एमालेका मनोज

मेन्याङ्बोले बागी उम्मेदवार दिएका छन् । उनी धरानका पूर्वमेयर हुन् । त्यस्तै सर्लाही–१ मा पनि लालबन्दीका पूर्वमेयर मानबहादुर खड्काले बागी उम्मेदवारी दिएका छन्, यहाँ जसपाका प्रमोद साहले टिकट पाएका छन् ।

सत्ता गठबन्धनमा बागी उम्मेदवार झन् धेरै छन् । एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम–१ मा कांग्रेसका पुराना नेता विक्रम पाण्डे बागी उठेका छन् । उनको उम्मेदवारी फिर्ता लिन लगाउने कांग्रेसको प्रयास सफल भएन ।

इलाममा कांग्रेस र एकीकृत समाजवादीबीच गत स्थानीय निर्वाचनदेखि सम्बन्ध राम्रो छैन । स्थानीय तहमा कांग्रेससँग गठबन्धन गरे पनि कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा एकीकृत समाजवादीले एमालेसँग तालमेल गरेको थियो । ‘प्रधानमन्त्री भइसकेको नेताले स्थानीय तहमा पार्टीलाई मिलाउनुपथ्र्यो, त्यसको असर अबको निर्वाचनमा नपर्ला भन्न सकिन्न,’ कांग्रेसका एक नेताले भने । उक्त क्षेत्रमा एमालेबाट जिल्ला अध्यक्ष महेश बस्नेत उम्मेदवार छन् ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा उम्मेदवार रहेको उदयपुर–२ मा कांग्रेसका पूर्वक्षेत्रीय सभापति रामकुमार राई उम्मेदवार छन् । उदयपुरमा पनि स्थानीय निर्वाचनमा खतिवडाले गठबन्धनलाई धोका दिएको आरोप कांग्रेसको छ ।

राईले कटारी नगरपालिकाको प्रमुखमा दाबी गरे पनि टिकट पाएनन् । बरु गठबन्धनको सहमतिविपरीत माओवादी परित्याग गरेर स्वतन्त्र उठेका केपी बराललाई खतिवडाले साथ दिएको कांग्रेसको आरोप छ ।

गुल्मी–२ मा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई कांग्रेसका पूर्वक्षेत्रीय सभापति दामोदर भुसाल चुनौती बनेका छन् । लुम्बिनी प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिएर उम्मेदवार बनेका भुसाललाई उनका बुवा सुरेशचन्द्र भुसालको पनि समर्थन छ । सुरेशचन्द्र गुल्मीका दुई कार्यकाल जिल्ला सभापति र ०६४ को संविधानसभा सदस्य उम्मेदवार हुन् । उक्त क्षेत्रमा एमालेबाट पार्टी सचिव गोकर्ण विष्ट उम्मेदवार छन् ।

कास्की–२ मा एकीकृत समाजवादीका श्रीनाथ बरालविरुद्ध कांग्रेसका महादेव गुरुङ चुनौती बनेका छन् । ०४९ मा तत्कालीन जिल्ला विकास समितिका सभापति बनेका गुरुङ ०५६ मा प्रतिनिधिसभा सदस्य हुँदै पर्यटन राज्यमन्त्री भएका थिए । उनी तरुण दलका पूर्वअध्यक्षसमेत हुन् । उक्त क्षेत्रमा एमालेबाट विद्या भट्टराई उम्मेदवार छिन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा पार्टी उपमहासचिव प्रकाश ज्वालाविरुद्ध कांग्रेसका रवीन्द्रबहादुर शाह बागी उम्मेदवार छन् । सल्यानमा एमालेले राजेन्द्रवीर रायलाई उठाएको छ । उनलाई राप्रपाको पनि समर्थन छ । डोटीमा पूर्वमन्त्री प्रेमबहादुर आलेविरुद्ध कांग्रेस नेता नरेन्द्रबहादुर खड्का बागी उठेका छन् । डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रहेका खड्का ‘डोटीमा प्रदेश राजधानी स्थापना’ अभियानका अगुवा हुन् ।

एकीकृत समाजवादीबाट उम्मेदवार बनेका शेरबहादुर कुँवरले अछाम–१ मा गठबन्धनबाट कांग्रेसका राजन कुँवरको सामना गर्नुपर्ने भएको छ । कांग्रेस महासमिति सदस्य राजन सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । धनुषा–२ मा भने गठबन्धनका तर्फबाट ‘मित्रवत्’ प्रतिस्पर्धा हुने भएको छ । उक्त क्षेत्रमा कांग्रेसले रामकृष्ण यादव र एकीकृत समाजवादीले रामचन्द्र झालाई उम्मेदवार बनाएको छ ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले समाजवादीको भागमा परेका क्षेत्रमा अनपेक्षित रूपमा कांग्रेसका बागी उम्मेदवार धेरै भए पनि तिनीहरूलाई कांग्रेसले बसाल्ने वा कारबाही गरेर प्रभाव कम गर्ने विश्वास व्यक्त गरे । ‘कानुनी हिसाबले समय सकिए पनि राजनीतिक रूपमा अझै पनि उम्मेदवारी फिर्ता गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

माओवादीका उम्मेदवार रहेका १० वटा क्षेत्रमा कांग्रेसका बागी उम्मेदवार छन् । पाँच क्षेत्रमा माओवादीले आफ्नै बागीको सामना गरिरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार रहेको गोरखा–२ मा कांग्रेसका गणेश देवकोटा बागी छन् । कांग्रेसको १४ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । सत्ता गठबन्धनको बलियो पकड रहेको उक्त क्षेत्रमा देवकोटाको उम्मेदवारीले परिणाम प्रभावित गर्न सक्ने अवस्था नरहे पनि उनले पार्टी निर्णयप्रति असहमति जनाएको बताएका छन् ।

०७४ मा दाहालले जितेको चितवन–३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला एमालेको समर्थनमा बागी उम्मेदवार छन् । त्यहाँ एमालेका तर्फबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले बुधबार उम्मेदवारी फिर्ता लिएका छन । स्रोतका अनुसार एमालेले कांग्रेसभित्र असन्तुष्ट रहेको उच्च तहसँगको समझदारीमा कोइरालालाई समर्थन गरेको हो । उक्त क्षेत्रमा सत्ता गठबन्धनले माओवादीका भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ । अध्यक्ष दाहाल गोरखा–२ मा गएर चिकित्सकसमेत रहेका अधिकारीलाई उठाएका हुन् । कांग्रेसको बलियो जनाधार रहेको चितवन–३ मा दाहालले छोडेपछि आफूले पाउने आशा गरेको थियो तर दाहालले छोड्दासमेत माओवादीकै उम्मेदवार भएपछि कोइराला बागी उठेका हुन् । उनी कांग्रेसभित्र संस्थापनइतर नेता शेखर कोइरालापक्षीय हुन् । ‘एमालेले कांग्रेसको असन्तुष्ट पक्षसँग केन्द्रीयस्तरमै कुरा गरेर कोइरालालाई समर्थन गरेको हो,’ एमालेको समर्थनप्राप्त स्वतन्त्र उम्मेदवार कोइरालानिकट एक नेताले भने, ‘कांग्रेसको केन्द्रीय नेतृत्वले चितवनलाई पटक–पटक अन्याय गरेपछि एमालेको समर्थन लिनुपरेको हो ।’

उक्त क्षेत्रमा एमालेले राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेलाई समर्थन गर्ने अनुमान गरिएको थियो । तर, कांग्रेसका बागीलाई समर्थन गरेपछि गठबन्धनका अधिकारी, राप्रपाका पाण्डे र एमालेको समर्थन पाएका कोइरालाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

अर्थमन्त्रीसमेत रहेका माओवादी उपमहासचिव जनार्दन शर्मा उम्मेदवार रहेको रुकुमपश्चिममा कांग्रेस केन्द्रीय सदस्य मानबहादुर नेपालीले उम्मेदवारी दिए पनि बुधबार फिर्ता लिएका छन् । तर कांग्रेसका युवा नेता तारक केसीको उम्मेदवारी कायमै छ । माओवादीका स्थायी कमिटी सदस्य चक्रपाणि खनाल उम्मेदवार रहेको कपिलवस्तु–१ मा पनि कांग्रेस नेता ललित गुरुङ बागी उठेका छन् । उनी पार्टीका जिल्ला कार्यसमिति सदस्य हुन् । कैलाली–३ मा माओवादीका कृष्णकुमार चौधरीविरुद्ध कांग्रेसका नवीन बोहोरा बागी उठेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा गठबन्धनले नरेन्द्र कुँवरलाई उम्मेदवार बनाएको छ । त्यहाँ कांग्रेस महासमिति सदस्यसमेत रहेका पाटन नगरपालिकाका निवर्तमान प्रमुख केशबहादुर चन्द बागी उठेका छन् । पूर्वसहायक मन्त्रीसमेत रहेका चन्दको उम्मेदवारीले गठबन्धनका साझा उम्मेदवार कुँवरलाई चुनौती थपेको छ ।

मोरङ–४ मा गठबन्धनका तर्फबाट माओवादीका अमनलाल मोदीले टिकट पाए पनि कांग्रेसका नवीन खवासले बागी उम्मेदवारी दिएका छन् । उनी कांग्रेसको क्षेत्रीय सहसचिव हुन् । त्यस्तै मोरङ–५ मा माओवादी नेता शिव मण्डलविरुद्ध कांग्रेसकै मोहम्मद रेजा हुसेनले बागी उम्मेदवारी दिएका छन् । एमालेको राम्रो पकड रहेको झापा–२ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माआवादीका हरि रानामगरविरुद्ध कांग्रेसका कुमार भट्टराईले उम्मेदवारी दिएपछि जोखिम थप बढेको छ । करिब ७ वर्षअघि राप्रपाबाट कांग्रेस प्रवेश गरेका भट्टराई बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन् । कांग्रेसका केशवकुमार बुढाथोकीले दाबी गर्दै आएको उक्त क्षेत्र माओवादीको भागमा परेपछि बागी उठेको भट्टराईले बताएका छन् । दोलखामा कांग्रेसका पूर्वजिल्ला सदस्य तथा आदिवासी जनजाति संघका पूर्वजिल्ला अध्यक्ष विश्वनिधि पाख्रिनले बागी उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की उम्मेदवार छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।