NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

आयात प्रतिबन्ध थप दुई महिना

काठमाडौं । विदेशी लगानी र पर्यटन क्षेत्रको विकासमा त्यति ध्यान नदिएको सरकारले केही वस्तुको आयातमा भने निरन्तर प्रतिबन्ध लगाएको छ । विदेशी मुद्रा सञ्चिति बढाउने नाममा गाडी, मोटरसाइकल, मदिरा र स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइरहेको छ । प्रतिबन्ध खुलाउन उद्योगी व्यवसायीले निरन्तर दबाब दिए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले शुक्रबार प्रतिबन्ध यथावत् राखेको हो ।

अब चार वस्तुको आयात प्रतिबन्ध आगामी मंसिर २९ सम्म रहने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘०७९ असोज २८ सम्म पूर्ण प्रतिबन्ध लगाइएका विभिन्न चार प्रकारका वस्तुको पैठारीमा लगाइएको बन्देजलाई ०७९ मंसिर मसान्तसम्म निरन्तरता दिने निर्णय भएको छ,’ उनले भने । सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान एवं १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात रोकिएको छ । ०७९ वैशाख १३ अगाडि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सकिसकेका वस्तुको हकमा भने यो व्यवस्था लागू हुनेछैन ।

निजी क्षेत्रले भने सरकारी निर्णयको विरोध गरेको छ । नेपाल समुद्रपार निकासी पैठारी संघले प्रतिबन्धित वस्तुको आयात तत्काल खुलाउनुपर्ने माग गरेको छ । बढी राजस्व संकलन हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा एकातर्फ सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको र अर्काेतर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि विदेशी विनिमय सञ्चितिमा ठूलो योगदान नगरेको भन्दै प्रतिबन्ध फुकुवा गर्न माग गरिरहेको छ । आयात प्रतिबन्धका कारण उल्टै सरकारको राजस्व गुमेको भन्दै तत्काल प्रतिबन्ध खोल्नुको विकल्प नरहेको नाडाको भनाइ छ । सरकारले भने मुलुकको वित्तीय अवस्थालाई दृष्टिगत गरी प्रतिबन्धलाई निरन्तरता दिएको दाबी गरेको छ । ‘विदेशी मुद्रा सञ्चिति बढेको छैन, राष्ट्र बैंक र अर्थ मन्त्रालयको सल्लाह/सुझावमा प्रतिबन्ध लम्ब्याउन मन्त्रिपरिषद्मा सिफारिस गरेका थियौं,’ मन्त्रालयका एक अधिकारीले भने, ‘प्रतिबन्धको समय तोक्नैपर्ने भएकाले मंसिर २९ राखिएको हो । सञ्चिति बढे बीचमा पनि खुला हुन सक्छ ।’

मुलुक चुनावमा होमिएसँगै आर्थिक गतिविधि बढ्छ । विदेश गएका मान्छे फर्किने र रेमिट्यान्स पनि बढ्ने हुन्छ । त्यसले मुद्रा सञ्चितिमा केही सुधार आउन सक्छ । त्यस्तो अवस्थामा प्रतिबन्ध फुकुवा हुन सक्ने ती अधिकारीको दाबी छ ।

राष्ट्र बैंकका अनुसार ०७९ असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति साउनमा १.५ प्रतिशतले कमी भएको छ । ०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको छ । ०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ मा राजपत्रमा सूचना प्रकाशन गरी मदिरा, तास, मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तु आयात बन्देज गर्ने निर्णय गरेको थियो । पछि भदौ १४ मा राजपत्रमा सूचना प्रकाशन गरी ६ प्रकार (चुरोट तथा सुर्ती, हीरा, टीभी, खेलौना, तास, कुरकुरे/लेज) वस्तुको प्रतिबन्ध फुकुवा गरेको थियो । चार वस्तुको प्रतिबन्ध भने यथावत् राख्ने निर्णय गरेको छ ।

कुनै वस्तुको आयात फुकुवा गर्ने र कुनैलाई प्रतिबन्ध लगाइरहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश नजाने पूर्वउद्योग वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरेले बताए । ‘सरकारले विदेशी विनिमय सञ्चिति बढाउन आयात प्रतिबन्ध लगाएको छ, मुलुकको अवस्था हेरेर त्यो उपाय जायज हो,’ उनले भने, ‘तर कुनै वस्तुको आयात फुकुवा गर्ने र कुनैलाई प्रतिबन्ध लगाइरहने निर्णय उचित होइन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।