NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

जो संघबाट प्रदेशमा झरे

काठमाडौं । निवर्तमान प्रतिनिधिसभाका सदस्यमध्ये कोही दोहोर्‍याएर निर्वाचन लड्दै छन् भने केही संसदीय राजनीतिबाट स्वेच्छिक वा बाध्यात्मक विश्रामतिर लागेका छन् । कतिपय भने संघबाट प्रदेशमा झरेर निर्वाचन लड्दै छन् । उनीहरूमध्ये केही मुख्यमन्त्रीका आकांक्षी पनि छन् ।

निर्वाचन आयोगको तथ्यांकअनुसार नौजना प्रतिनिधिसभाका निवर्तमान सदस्य यसपालि प्रदेश सभामा उम्मेदवार बनेका छन् । जसमा एमाले र माओवादीबाट तीन–तीन, एकीकृत समाजवादीका दुई र कांग्रेसका एकजना छन् । उनीहरू सबै प्रत्यक्षमा प्रतिस्पर्धा गर्दै छन् ।

आयोगका अनुसार प्रतिनिधिसभाका एक सय १५ सदस्य कुनैमा उम्मेदवार नबनी चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । जसमा एमालेका ३९, कांग्रेसका २८, माओवादीका २६, एकीकृत समाजवादीका ११, जसपाका पाँच, लोसपाका तीन र स्वतन्त्र तीनजना छन् । ०७४ को निर्वाचनमा पराजित कतिपय संविधान सदस्य पनि अहिलेको सत्तागठबन्धनका कारण प्रदेशमा खुम्चिन बाध्य भएका छन् । समानुपातिकतर्फ नदोहोर्‍याउने अधिकांश दलहरूको नीतिअनुसार उनीहरू प्रदेश सभामा प्रत्यक्षतर्फ मात्रै आएका हुन् ।

०४८ देखि संघतिर उम्मेदवार बन्दै आइरहेका एमाले नेता खगराज अधिकारी यसपटक प्रदेश सभामा झरेका छन् । उनले कास्की १ (क) बाट उम्मेदवारी दिएका छन् । अधिकारी यसअघि कास्की १ बाट प्रतिनिधिसभा सदस्य थिए । यसपटक प्रतिनिधिसभा सदस्यको टिकट एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङलाई दिएको छ ।

पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट मनबहादुरको नेतृत्वमा अधिकारी प्रदेश सभामा चुनाव लड्न तयार भएका छन् । गण्डकीको भावी मुख्यमन्त्रीका रूपमा उनी संघबाट प्रदेशमा झरेको बताइन्छ । प्रदेश सभामा रहेका पूर्वमुख्यमन्त्री गुरुङ भने संघमा उक्लिएका छन् । उनी लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्दै छन् ।

तनहुँ २ बाट ०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित एमालेका केदार सिग्देल पनि यसपटक प्रदेशमा गएका छन् । उनी एमालेले तनहुँ २ (ख)बाट उम्मेदवार बनेका छन् । प्रतिनिधिसभामा एमालेले किरण गुरुङलाई टिकट दिएको छ ।

माओवादीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य रहेकी चाँदतारा कुमारी प्रदेश सभामा उम्मेदवार बनेकी छिन् । पार्टीले उनलाई पर्सा ४ (ख) बाट उम्मेदवार बनाएको छ । ०७४ मा कालिकोटबाट प्रतिनिधिसभामा निर्वाचित माओवादीका दुर्गबहादुर रावत पनि प्रदेशमा झरेका छन् । उनी कालिकोट १ (क) बाट उम्मेदवार बनेका छन् । रावतको ठाउँमा माओवादीले कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रतिनिधिसभाको टिकट दिएको छ । माओवादीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य अमृता थापा पनि यसपटक स्याङ्जा १ (क) बाट प्रदेश सभा उम्मेदवार बनेकी छिन् ।

एकीकृत समाजवादीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य कलिला खातुन पनि प्रदेश सभामा आएकी छिन् । पार्टीले उनलाई तनहुँ १ (ख) बाट उम्मेदवार बनाएको छ । एमाले मुगुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोपालबहादुर बम एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका छन् । उनी मुगु (क) मा उम्मेदवार छन् । बमको ठाउँमा एमालेले प्रतिनिधिसभामा राजु कार्कीलाई उम्मेदवार बनाएको छ । बमसँग प्रदेश सभा (क) मा एमालेले जितबहादुर मल्ललाई उतारेको छ ।

कांग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य रहेका बहादुरसिंह लामा पनि प्रदेश सभामा झरेका छन् । उनी नुवाकोट २ (ख) बाट बागमती प्रदेश सभा सदस्य उम्मेदवार बनेका हुन् ।

जसपाकी निवर्तमान सांसद नरमाया ढकाल पनि प्रदेश सभामा झरेकी छिन् । तत्कालीन राजपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी ढकाल हालै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । नागरिक उन्मुक्ति पार्टीले ढकाललाई लुम्बिनी प्रदेश सभाको समानुपातिकतर्फ टिकट दिएको छ । पार्टीको लुम्बिनी प्रदेश सभा समानुपातिक सूचीमा ढकालको नाम पहिलो नम्बरमा छ ।

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र रूपमा निर्वाचित छक्कबहादुर लामा पनि यसपालि प्रदेश सभामा गएका छन् । उनलाई एमालेले हुम्ला १ (ख) बाट उम्मेदवार बनाएको छ ।

पूर्वसांसद तथा संविधानसभा सदस्यहरू पूर्वसांसद, संविधानसभा सदस्य र संघीय संसद्का लागि निर्वाचन लडेका नेता पनि यसपालि प्रदेशतिर झरेका छन् । ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रे १ बाट पराजित कांग्रेसका तीर्थबहादुर लामा पनि प्रदेश सभामा झरेका छन् । यो क्षेत्र सत्तागठबन्धनमा माओवादीको भागमा परेपछि लामा काभ्रे १ (ख) बाट उम्मेदवार बनेका हुन् । कांग्रेसकै संविधानसभा सदस्य कञ्चनचन्द्र बादेले काभ्रे २ (ख) बाट प्रदेशमा उम्मेदवारी दिएका छन् ।

०७४ को निर्वाचनमा राष्ट्रिय सभामा निर्वाचित कांग्रेस नेता सुरेन्द्रराज पाण्डे गोरखा २ (ख) बाट उम्मेदवार बनेका छन् । गोलाप्रथाबाट तय भएको माथिल्लो सदनको दुईवर्षे कार्यकाल पूरा गरेका पाण्डे प्रदेश सभामा उठेको गोरखा २ मा माओवादी अध्यक्ष प्रचण्ड प्रतिनिधिसभा उम्मेदवार छन् ।

संविधानसभा सदस्य जमिन्द्रमान घले एमालेबाट लमजुङ १ (क)बाट प्रदेशमा उम्मेदवार बनेका छन् । ०७४ को निर्वाचनमा पराजित कांग्रेसका अब्दुल रजाक गद्दी रुपन्देही १ (ख)बाट भिड्दै छन् । संविधानसभा सदस्य जंगीलाल राय यसपालि प्रदेश सभामा झरेका छन् । ०७४ मा सर्लाही २ बाट पराजित उनी अहिले सर्लाही २ (क) बाट प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर १ बाट पराजित कांग्रेसका संविधानसभा सदस्य दिवानसिंह विष्ट पनि यसपालि प्रदेश सभा सदस्य उम्मेदवार बनेका छन् । भावी मुख्यमन्त्रीमा दाबी गर्दै उनले गठबन्धनको बाँडफाँडअनुसार प्रतिनिधिसभा सदस्य माओवादीलाई छाडेका छन् । कञ्चनपुर १ (ख)बाट प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् ।

संविधानसभा सदस्य बहादुरसिंह थापा कांग्रेसबाट कञ्चनपुर २ (ख) मा उम्मेदवार बनेका छन् । अर्का संविधानसभा सदस्य टेकेन्द्रप्रसाद भट्ट माओवादीबाट कञ्चनपुर ३ (क) उम्मेदवार बन्दै प्रदेश सभामा झरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।