NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सत्यमोहनका यी काम जसले उनलाई युगयुगसम्म जीवित राख्नेछ

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो ।

जोशीले नेपाली संस्कृति र कला साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, समबर्दन, विकास र श्रीवृद्धिमा जीवनभर समर्पित जोशीका दर्जनौं कृति र कर्म छन्, जसले उनलाई युगयुगसम्म जीवित राखिरहनेछ ।

सहसदस्य हुँदाको त्यो काम

सत्यमोहन जोशीले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सहसदस्य भएर काम गरेका थिए । सहसदस्य त्यति ठूलो जिम्मेवारी नहुँदानहुँदै पनि उनले यसबखत उम्दा काम गरेका थिए । जसको प्रशंसा अहिले पनि प्राज्ञिक जगतमा हुनेगर्छ ।

जोशी सहसदस्य बनेपछि प्रज्ञाप्रतिष्ठानले उनकै संयोजकत्वमा १४ भाषाको पर्यायवाची कोश प्रकाशन गर्ने जिम्मेवारी सुम्पिएको थियो । जसलाई उनले कुशलतापूर्वक पूरा गरेका थिए । जसमा नेपाली भाषाका अतिरिक्त शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू, मैथिली, लेप्चा, थारू, दनुवार, नेवाः, चेपाङ, राजवंशीका पर्यायवाची शब्द समेटिएका थिए ।

नेपालबारे विदेशीले विगतदेखि नै पुस्तक तथा लेख प्रकाशित गर्दै आएका थिए । तर वि.सं. २०२८ अघिसम्म विदेशीले नेपालबारे प्रकाशित गरेका कृतिबारे कुनै दस्ताबेजीकरण थिएन । २०२८ मा कुनकुन विदेशीले नेपालका बारेमा लेखरचना र किताब लेखे भन्ने एउटा दस्तावेज ग्रन्थसूची पनि प्रज्ञाप्रतिष्ठानबाट तयार भएको थियो । जसको संयोजक उनै सत्यमोहन थिए । पछि यसको सम्पादन खड्गमान मल्लले गरेका थिए ।

राजा प्रभावित भएपछि उपल्लो जिम्मेवारी

सहसदस्यका रूपमा खरो उत्रिएका कारण जोशीको सम्बन्ध नेपालका प्राज्ञ र विशिष्ट स्रष्टाहरूसँग हुन थालेको थियो । उनलाई अझै महत्त्वपूर्ण जिम्मेवारी दिनुपर्ने आवाज उठेको थियो । यस्तैमा उनको सहसदस्यको पाँचवर्षे पदावधि सकियो । उनले यो पदमा रहँदा गरेको कामको मूल्यांकन गर्दै नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले उनलाई सदस्यसचिव पदमा बढुवा गर्यो ।

सत्यमोहन जोशी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यसचिव हुनुको एउटा रमाइलो प्रसंग छ । तत्कालीन राजाले राज्यारोहणपछि जाँचबुझ केन्द्रको स्थापना गरेका थिए, जुन राजदरबार मातहत थियो । केन्द्रको उद्देश्य हरेक निकायको व्यवस्थापन कसरी राम्रो बनाउन सकिन्छ भन्ने थियो ।

केन्द्रको चाहना नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान पनि सशक्त र प्रभावकारी बनोस् भन्ने थियो । त्यसैले राजाले विश्वास गरेर त्यो काम गर्ने जिम्मेवारी जोशीलाई दिएका थिए । यसपछि नै जोशीले त्यस संस्थाको नयाँ शैली, स्वरूप र ढाँचाको रेखाङ्कन गरेका थिए ।

उक्त समयमा शिक्षामन्त्री कृष्णराज अर्याल थिए । त्यति खेर उनले जोशीलाई आफ्नै कार्यालयमा बोलाएर ‘तपाईंको काम हामीलाई चित्त बुझ्यो । महाराजाधिराज सरकारले पनि तपाईंको कामप्रति खुसी व्यक्त गरेको बेहोरा म तपाईंलाई सुनाउन चाहन्छु । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा साहित्यिक काम मात्र राम्रो भएर भएन । प्रशासनिक रूपमा पनि यसलाई सबल बनाउनुपर्यो । त्यसैले त्यस संस्थालाई उकास्ने हेतुले तपाईंको नाउँ सदस्यसचिव पदमा सिफारिश भइसकेको छ’ भनेर सुनाएको जोशीले विभिन्न प्रसंगमा उल्लेख गरेका थिए ।

शिक्षामन्त्री कृष्णराज अर्यालले सत्यमोहन जोशीलाई सूचना दिएको केही दिनमा नै जोशी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यसचिवमा नियुक्त भए । उक्त जिम्मेवारीपछि जोशीले तनमनका साथ उत्कृष्ट कार्यसम्पादन गर्दै संस्थालाई नयाँ रुप प्रदान गरेका थिए ।

वास्तवमा उनले सहसदस्य भएर धेरै अनुभव ग्रहण पनि गरिसकेका थिए । अनि उनको अहोरात्रको चिन्तनबाट नै प्रज्ञाप्रतिष्ठानको विकास हुन थालेको थियो ।

त्यस बेला पनि उनले काम गरेर नथाक्ने अवस्थामा आफूलाई पुर्याएका थिए । त्यस समयमा शिक्षामन्त्री कृष्णराज अर्यालको सकारात्मक सोच र सक्रियताका कारण उनले धेरै काम गर्ने अवसर प्राप्त गरेका थिए । जोशी सदस्यसचिव भएको समयमा प्रज्ञाप्रतिष्ठानले थप राम्राराम्रा काम गरेको बेहोरा पछिसम्म पनि लैनसिंह वाङ्देलदेखि कृष्णचन्द्रसिंह प्रधानसम्मले प्रशंसा गर्ने गरेका थिए ।

२०३१ सालको आरम्भमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको नयाँ गठन भएको थियो । त्यति बेला कुलपति र उपकुलपतिमा चाहिँ सूर्यविक्रम ज्ञवाली र लैनसिंह वाङ्देल मनोनीत भएका थिए । अनि नेपाली मूलका यी दुवै भारतीयलाई राजा महेन्द्रले नेपाल ल्याएका थिए । साथै सदस्यसचिवमा चाहिँ सत्यमोहन जोशीको मनोनयन भएको थियो । जोशीले कार्यभार सम्हालेपछि नै त्यहाँ एक प्रकारको परिवर्तन आएको थियो । त्यसपछिका दिनहरूमा त्यहाँको कार्यविधि, परिपाटी र संरचनामा नै नयाँ रूपरेखा तयार भएको थियो । वास्तवमा त्यसै बखत राजदरबारमा स्थापित जाँचबुझ केन्द्रले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानलाई पनि नयाँ रूप दिने एक प्रकारको नयाँ बनावट आयो, नयाँ ऐन आयो र त्यहाँ धेरै कुरा पहिलाका जस्ता रहेनन् । त्यति बेला सहसदस्य भन्ने पद पनि खारेज गरियो।

सत्यमोहन जोशीले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सदस्यसचिव भएकै बेला ‘महेन्द्र स्मृतिग्रन्थ’को सम्पादन गरेका थिए । त्यस ग्रन्थले नेपाली शैलीमा आफ्नै ऐतिहासिक महिमा बढाएको थियो । वास्तवमा त्यो बृहत् स्मृतिग्रन्थमा राजा महेन्द्रलाई सम्पूर्ण रूपमा प्रस्तुत गरिएको छ । सायद राजा महेन्द्रका बारेमा त्योभन्दा धेरै जानकारी अन्य कुनै कृतिमा पनि देखिँदैन।

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सूर्यविक्रम ज्ञवाली कुलपति भएका बेला नेपालको इतिहास प्रकाशनमा ल्याउने विचारविमर्श भएको थियो । त्यही अनुरूप कार्यसम्पादन पनि भइरहेको थियो । त्यस बेला ज्ञवालीको सल्लाह र सक्रियतामा सत्यमोहन जोशीले प्राचीन कालदेखि आधुनिक कालसम्मको इतिहास निर्माणका लागि गुरुयोजना तयार पारेका थिए । त्यो कार्यका लागि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा इतिहासकारहरूको जमघट पनि गराइएको थियो । विशेषज्ञद्वारा यी ग्रन्थहरू बेग्लाबेग्लै कृतिका रूपमा प्रकाशनमा ल्याउने नीति पनि त्यसै बेला पारित भएको थियो । तर त्यसै बेला ज्ञवालीको कुलपति पदको म्याद नै सकियो । यस विषयमा जोशीले भनेका थिए— त्यो काम अधुरै भयो । अहिलेसम्म पनि त्यस प्रकारको किताब निक्लन सकेन।’

सत्यमोहन जोशी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यसचिव भएका बेला त्यहाँका कर्मचारीलाई उनले प्रोत्साहन दिइरहे । उनले खास गरेर कलाकारहरूलाई आआफ्नो दक्षता प्रस्तुत गर्न जागरूक बनाए । त्यही बमोजिमकै कामको अर्को एउटा नमुना थियो— ‘ऐश्वर्य राग’ । त्यो राग गोपालनाथ योगीले तयार गरेका थिए । त्यो राग ३५ मिनेटको थियो । त्यस रागमा मादल मात्र सोह«वटा राखिएको थियो । त्यति बेलादेखि नै त्यो राग चर्चित बन्यो । धेरै श्रोता र कलाकारले त्यस रागको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

सत्यमोहन जोशीकै सक्रियतामा त्यस बेला राष्ट्रव्यापी बाजागाजाको पनि प्रदर्शनी गर्ने योजना तयार भयो । भैरव नृत्यदलका संस्थापक भैरवबहादुर थापा, रामशरण दर्नाल आदिलाई लिएर जोशीले त्यस बेला सो प्रदर्शनी गरेका थिए । त्यति बेला उनैको प्रबल इच्छाले नेपाली बाजाहरूको नालीबेली भएको सानो पुस्तक पनि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशनमा आएको थियो । वास्तवमा त्योभन्दा अघि त्यहाँ यसरी बाजागाजा सम्बन्धी कामकुराहरू भएका पनि थिएनन्।