इमर्जेन्सीमा बिरामीलाई दिइने तीन औषधि दुई महिनादेखि अभाव

काठमाडौं । इमर्जेन्सीका बिरामीलाई क्रिटिकल केयरका क्रममा दिइने तीन औषधिको दुई महिनादेखि अभाव भएको छ । मिर्गौलाले काम गर्न छोडेसँगै रगतमा एसिडको मात्रा घटबढ हुँदा दिइने सोडियम बायोकार्बोनेट इन्जेक्सन, रगतमा ग्लुकोजको मात्रा घटबढ हुँदा दिइने इन्जेक्सन डेक्सट्रोस र मुटुको चाल गडबड हुँदा दिइने इन्जेक्सन एमिओडारोन अभाव भएको हो ।
यी औषधिको अभावले गम्भीर बिरामीको ज्यानै जाने अवस्था देखिन थालेको भन्दै चिकित्सकले चिन्ता जनाएका छन् । तर, दुई महिनासम्म पनि औषधि व्यवस्था विभागले आपूर्तिमा चासो देखाएको छैन ।
त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विभाग प्रमुख डा. सुवास आचार्यका अनुसार यी औषधि समयमै बिरामीमा प्रयोग गर्न सकिएन भने ज्यानै जाने जोखिम उच्च रहन्छ । ‘यी औषधिविना मुटुको शल्यक्रिया सम्भव हुँदैन,’ उनले भने, ‘खासगरी आइसियूमा राखिएका बिरामीको ज्यान जोगाउन सोडियम बायोकार्बोनेट इन्जेक्सनजस्ता औषधि अति आवश्यक हुन्छन् ।’
इमर्जेन्सीमा प्रयोग हुने औषधि आयात खुला राख्नुपर्ने भए पनि औषधि व्यवस्था विभागले सहज स्वीकृति नदिँदा आयातमा समस्या भएको औषधि सप्लायर्स कम्पनीहरूको गुनासो छ । विभागका अनुसार हाल सोडियम बायोकार्बोनेट इन्जेक्सन जम्मा दुई कम्पनीले मात्रै आयात गरिरहेका छन् । त्यस्तै, इन्जेक्सन डेक्सट्रोस र इन्जेक्सन एमिओडारोनको उत्पादन भने अन्तर्राष्ट्रियस्तरमै सीमित हुँदा नेपालमा सहज आपूर्ति हुन नसकेको औषधि सप्लायर्स कम्पनी फर्माकम मेडिसेल्सका निर्देशक राजु चापागाईंले बताए ।
‘औषधि व्यवस्था विभागले इन्जेक्सनयुक्त औषधि आयातको स्वीकृतिमा कडाइ गरेका कारण समस्या भइरहेको छ । एकपटक मात्रै अनुमतिको समयावधिसमेत जम्मा चार महिना हुने भएकाले आवश्यकताअनुसार आयात गर्न सकिएको छैन,’ उनले भने ।
इमर्जेन्सी औषधिमा अनावश्यक नियम लगाउँदा उपचारमा बाधा पुगिरहेको बताउँछन् डा. सुवास आचार्य । ‘औषधिको अभावमा बिरामीको ज्यान जान सक्छ । विभाग सक्रिय भएर कम्पनीहरूलाई इमर्जेन्सीका औषधि आयात गर्न लगाउनुपर्ने हो । तर, दैनिक हजारौँको संख्यामा आउने इमर्जेन्सी केसहरूमा प्रयोग हुने सोडियम बायोकार्बोनेटजस्ता औषधि आपूर्तिमा विभागले नै लापरबाही गरिरहेको छ,’ उनले भने ।
तर, विभागले भने कम्पनीहरूलाई आवश्यकताअनुसार आयात गर्ने छुट दिइएको बताएको छ । विभागका प्रवक्ता सन्तोष केसीले अस्पतालहरूको मागअनुसार सप्लायर्स कम्पनीहरूले औषधि ल्याएर बिक्री–वितरण गर्न सक्ने बताए । ‘हामीकहाँ दर्ता भएका कम्पनी पनि अहिले कम छन् । तर, हामीले आयातमा कुनै रोकतोक गरेका हुँदैनौँ । कम्पनीहरूले समयमा ल्याउन नसक्दा समस्या भएको हुन सक्छ,’ उनले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया