NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

मदिराजन्य क्षति न्यूनीकरणका लागि सेफर योजनाको घोषणा

काठमाडौं । नेपालमा मदिराजन्य क्षति न्यूनीकरणका लागि महत्वकांक्षी मार्गचित्र घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय तथा नागरिक समाजमा साझेदार संस्थाहरुले सो महत्वकांक्षी मार्गचित्र घोषणा गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रतिवर्ष ३० लाख मानिसको मदिरा सेवनले ज्यान जान्छ । संगठनका अनुसार नेपालमा सन् २०१३ को तुलनामा २०१८ मा मदिरा सेवन गर्नेहरुको संख्यामा २० प्रतिशत वृद्धि भएको छ  । जसमध्ये एक तिहाइले भने अत्यधिक मदिरा सेवन गर्ने गर्छन् ।

स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा.दिपेन्द्र रमण सिहले नेपालको द्रुत विकासका समयमा स्वास्थ्य तथा सुरक्षाको रक्षार्थ मदिराले गर्ने क्षतिको सामना गर्न तथा यसलदाई रोक्न आवश्यक रहेको बताए । उनले यसका लागि प्रभावकारी नीति, दृढ नेतृत्व र सृदृढ बहुक्षेत्रीय साझेदारी आवश्यक रहेको उल्लेख गरे ।

उक्त मार्गचित्रले नेपालमा मदिराले गर्ने क्षति रोक्न र कम गर्न प्रभावकारी र प्रमाणित पहलसहितको सेफर प्याकेज कार्यान्वयन गर्न सरकारलाई दिशानिर्देश गर्ने जनाएको छ । क्षति कम गर्ने पहलहरुमा मदिराको उपलब्धता घटाउने, मदिरा सेवन गरी सवारी साधन चलाउने कार्य रोक्ने, मदिरासम्बन्धी उपचार र जाँचमा पहुँच बढाउने, मदिराजन्य वस्तुको विज्ञापन र प्रयोजनमा प्रतिबन्ध लगाउने तथा अधिकतम कर लगाउने विषय सेफर योजनाको घोषणामा उल्लेख गरिएको छ ।

त्यस्तै, मदिराको विज्ञापनमा कडाईका साथ प्रतिबन्ध लागु गर्ने, किनबेचको समय तोकी प्रभावकारी रुपमा नियमन गर्ने, मदिरा सेवन गरी सवारी साधन चलाउन रोक्नका लागि देशभर नै प्रभावकारी रोकथामका अभ्यासहरु कार्यान्वयन गर्ने तथा हाल मदिरामा कति कर लगाउँदा जनस्वास्थ्यका लागि लाभदायिक हुन्छ भन्ने विषय वार्षिक समीक्षाहरुमा छलफल गर्नेजस्ता यसका प्रमुख कदम रहेका छन् ।

विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डवले विश्व स्वास्थ्य संगठन र यसका संयुक्त राष्ट्र संघीय साझेदारहरु उक्त पहल कार्यान्वयनमा नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।

नेपाल सेफर पहल कार्यान्वयनको नेतृत्व गर्न छानिएका दुई देशमध्ये एक हो । मार्गचित्रले आगामी दुई वर्षका लागि उद्देश्य तथा कार्यक्रमको निमार्ण गर्ने जनाइएको छ । जुन अवधिमा विश्व स्वास्थ्य संगठन र अन्तरिक तथा बाह्य साझेदारहरुले सेपर कार्यक्रमको सफल कार्यान्वयनका लागि सहयोग गर्नेछन् ।

सेफर कार्यक्रमका लागि सरकारले विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र नसर्ने रोगहरुको लागि संयुक्त राष्ट्र संघीय अन्तर निकायिक कार्यदल साथै चार विश्वव्यापी नागरिक समाज संगठनहरु मोभेन्डी इन्टरनेशनल, एनसीडि एलायन्स, ग्लोबल अल्कोहल पोलिसी एलायन्स र भाइटल स्ट्राटेजीसँग साझेदारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आमान्त्रित गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ सल्लाहकारको संयुक्त समूहले नेपालको विशिष्ट सांस्कृतिक र धार्मिक परिवेशका लागि उपयुक्त मार्गचित्र विकास गर्न नागरिक समाजलगायत विभिन्न मन्त्रालय र सरोकारवालाहरुसँग परामर्श लिएको थियो ।