अनियमितता शंका गरिएका यी फाइल जुन अख्तियारको तामेलीमा छन्

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमिततासम्बन्धी पाँच सय ९५ फाइललाई तामेलीमा राखेको छ । त्यसमा अधिकांश स्थानीय तह, नापी तथा मालपोत कार्यालय र यातायात कार्यालयका छन् ।
सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणको काम अन्तिम चरणमा रहेको अवस्थामा मन्त्रिपरिषद्बाट निर्णय गराई अनियमितता गरेको भनिएको फाइल अख्तियारले तामेलीमा राखेको छ ।
सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना, पश्चिम खण्ड, दाङअन्तर्गत निर्माणाधीन रेली खोला पुल र विभागअन्तर्गतकै कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनाअन्तर्गत निर्माणाधीन कागबेनी खोला पुल निर्माणमा अनियमितता भएको भनिएको सम्बन्धी फाइल पनि तामेलीमा छ । गरिबी निवारण कोषको अनियमिततासम्बन्धीका तीन फाइल पनि आयोगले तामेलीमा राखेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले ०७६/७७ को डेंगु महामारीको समयमा अस्पताल विकास समितिको कोषमा रहेको रकमबाट डेंगु किट खरिदमा करोडौँ रकम हिनामिना गरेको भन्नेबारे छानबिन फाइल पनि तामेलीमा छ ।
दुग्ध विकास संस्थान, दुग्ध पदार्थ उत्पादन तथा बिक्री–वितरण आयोजना, लैनचौरका तत्कालीन आयोजना प्रमुख ध्रुवकल्पित सुवेदी, लेखा अधिकृत मीनकाजी कार्की, लेखापाल वासुदेव बस्नेतसमेतको मिलेमतोमा आयोजनाका अन्य कर्मचारी र मातहत विभिन्न केन्द्रका प्रमुखहरूले दुग्ध पदार्थ उत्पादन तथा बिक्री–वितरण गर्दा अनियमितता गरेको भन्नेबारेको फाइल पनि तामेलीमा राखिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव युवराज लामासमेतले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भौतिक पूर्वाधार निर्माणमा कमसल सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको भनिएको अनुसन्धान फाइललाई पनि अख्तियारले तामेलीमा राखिदिएको छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्ज, काठमाडौं र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लिइएको एमडिएमएसको प्रवेश परीक्षामा अनियमितता गरी भ्रष्टाचार गरेको फाइलमाथि पनि तामेलीको निर्णय भएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले कृषि सामग्री कम्पनी लिमिटेडद्वारा रासायनिक मल खरिद गर्दा महँगो दरमा ठेक्का दिलाएको भन्नेसमेतको फाइललाई पनि आयोगले तामेलीमा राखिदिएको छ ।
नेपाल प्रहरीले सुडानको डार्फरमा प्रहरी क्याम्पका लागि खरिद गरेका चारवटा एपिसीको न्यूनतम सर्त तथा स्पेसिफिकेसनसमेत नपुगेको अवस्थामा पनि खरिद कारबाही गरेको भन्ने फाइल पनि अख्तियारको तामेली सूचीमा छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगम, यात्रु सेवा विभागका कर्मचारीले टिकट, ब्यागेज तथा बोर्डिङ पासलगायतमा अनियमितता गरेको फाइल पनि तामेलीमै छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया