अनि हालियो भाइरल पुलमा भर्याङ

कालिकोट । वर्षा रोकिएपछि असोज २७ गतेदेखि ज्यानै जोखिममा राखेर आउजाउ हुन थाल्यो। पुलको बाँकी ३० मिटर भागसम्म सहजै र बाँकी जीर्ण पुलबाटै यात्रा गर्न थाले। कतिपयले फलामको लठ्ठामा झुन्डिएर यात्रा गरे। प्रहरीले यो पुल जीर्ण रहेको भन्दै यात्रा नगर्न सूचना टाँस्यो। तापनि यात्रुले क्षतिग्रस्त पुलबाटै यात्रा गर्न छाडेनन्। सर्वसाधारणले अटेर गर्दा थप जोखिम बढेको जनाइएको छ।
‘हामीले पहिले यात्रा नगर्न भन्दै सूचना नै टाँस्यौ। तर, मानिसहरूले यात्रा गर्न छाडेनन्’, अस्थायी प्रहरी पोस्ट हुल्मका इन्चार्ज असई तिलक डाँगीले भने, ‘अहिले केही मर्मत त गरिएको छ। पूर्ण रूपमा सुरक्षित छैन।’
कालीकोटका रास्कोट, पचालझरना, पलाँता, सान्नीत्रिवेणी र नरहरिनाथ गरी पाँच पालिकाका साथै बाजुरा र हुम्लाबाट आउने यात्रु गाडी चढ्ने स्थान जिते बजारको छहरा थियो। त्यहाँ नपुगे गाडीमा सिट पाइँदैन। हुल्म बजार नआए खान र बस्नै पाइँदैन।
हुल्म र जितेका यातायात समितिमा आबद्ध व्यक्तिहरू पुल निरीक्षणमा गए। मर्मतको प्रयास गरे। तर, सकेनन्। त्यही बेला हुल्म बजारस्थित तिला कर्णाली स्टाफ होटलका सञ्चालक नरजंग मल्ल पुलको अवस्था कस्तो रहेछ भनेर हेर्न जिते बजार पुगे। उनले ५० हजारमा ठेक्का दिए मर्मत गरी झोलुंगे सञ्चालनमा ल्याइदिने भनेर यातायात व्यवसायीसमक्ष कुरा राखे। समझदारी भईवरी पुल मर्मत गर्न थाले। भर्याङ बनाएर पुल चढ्न मिल्ने बनाए।
‘नदीले बगाएर ल्याएका मुढाबाट १८ फिट कडी चिर्यौं। फ्ल्याक चिर्यौं। एक हप्तासम्म लगातार नदी किनारमा काम गर्यौं’, मल्लले भने, ‘अनि जीर्ण झोलुंगे पुलमा चढ्न सजिलोका लागि भर्याङ बनायौं।’ उनले आफ्नो २ लाख जति खर्च भएको र त्यसमा यातायात व्यवसायीले ३० हजार रुपैयाँ दिएको बताए।
ठाउँ सर्न मान्दैनन् व्यापारी
जिते बजार २०६३ सालदेखि सञ्चालनमा छ। उक्त बजार उठाउन पटक–पटक प्रशासनले आग्रह गर्यो। तर, त्यहाँका व्यापारीहरूले सबैको पायक पर्ने बजार भन्दै छाड्न मानेनन्। गत असोज १९ गते कर्णाली नदीमा आएको बाढीले पुल मात्र बगाएन। साँझमा देखिने जितेको सुन्दर बजार बिहान पूरै बगर बन्यो।
२०६३ सालमा जब सुर्खेतबाट गाडी कालीकोट हुँदै जुम्ला पुगे। त्यतिबेला दैलेखको खिड्कीज्यूला बजारदेखि कालीकोटको जितेगडामा बजार सरेको थियो। जिते बजारमा एक दशकदेखि होटल व्यवसाय गर्दै आएका हरिकृष्ण बमले भने, ‘बर्सेनि कर्णाली नदीमा पानीको वहाव बढ्थ्यो, तर पुलसम्म छोएको थिएन। बजारमा पनि कुनै–कुनै वर्ष बढी वर्षा भएपछि बजार पछाडिका शौचालयहरू भत्काउँथ्यो। अहिले त बजारै बगायो।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया