विमानस्थलबाट भागेका फरार अभियुक्त पाण्डेका दुईवटा राहदानी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भगाइएका फरार अभियुक्त श्यामराज पाण्डेका दुईवटा राहदानी (मेसिन रिडेबल पासपोर्ट) भएको खुलेको छ । वैदेशिक रोजगारका नाममा ठगीको आरोप लागेका पाण्डेका १२३४३४१२ र १०५९५१२५ नम्बरका दुईवटा राहदानी भएको वैदेशिक रोजगार विभागले नै पुष्टि गरेको हो ।
विमानस्थलकै कर्मचारीको मिलेमतोमा पाण्डे एक साताअघि ७ कात्तिकमा विमानस्थलबाट भगाइएका थिए । जापान जान लागेका उनी कर्मचारीकै मिलेमतोमा भागेको खुलेपछि अध्यागमन विभागले घटनाको छानबिन गर्दै छ । विमानस्थलबाट भगाइएको एक दिनअघि मात्रै ६ कात्तिकमा वैदेशिक रोजगार विभागले अध्यागमनलाई पत्र काट्दै पाण्डेलाई पक्राउ गर्न भनेको थियो । उक्त पत्रमा पाण्डेको नाममा जारी भएका दुईवटा राहदानी नम्बर उल्लेख गरिएको छ ।
घटनाको अनुसन्धानमा संलग्न अध्यागमनका निर्देशक कमलप्रसाद पाण्डेले वैदेशिक रोजगार विभागबाट प्राप्त पत्रमा पाण्डेको राहदानीका दुईवटा नम्बर खुलाइएको बताए । तर, घटनाको अन्य पक्षबारे छानबिन भइरहेको र राहदानीको सम्बन्धमा भने छानबिन गर्ने निकाय अरू नै भएको बताए । ‘श्यामराजको सम्बन्धमा छानबिन गर्न समिति नै गठन भएको छ । जहाँसम्म उनको नाममा जारी राहदानीको विषय छ । यसमा हामी जानकार हुँदैनौँ । यो हेर्ने निकाय अरू नै हो,’ उनले भने, ‘वैदेशिक रोजगार विभागले पठाएको पत्रमा राहदानीका दुईवटा नम्बर भने उल्लेख छ । यो हेर्ने निकाय अध्यागमन होइन ।’
नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार श्यामराजले प्रयोग गर्ने १२३४३४१२ नम्बरको एउटा राहदानी २५ अगस्ट ०२१ मा जारी भएको देखिन्छ, जसको म्याद २४ अगस्ट ०३१ सम्म छ । जसमा प्रयोग भएको नागरिकता नम्बर १३७७६ छ । त्यस्तै, १०५९५१२५ नम्बरको अर्को राहदानी भने २३ अक्टोबार ०१७ मा जारी भएको देखिन्छ । राहदानीको म्याद २२ अक्टोबर ०२७ सम्म रहेको देखिन्छ । उक्त राहदानीमा नागरिकता नम्बर ७३७७६ प्रयोग भएको छ । दुवै राहदानीमा वाहकको नाम श्यामराज पाण्डे उल्लेख छ । जन्ममिति ३ डिसेम्बर १९८३ उल्लेख छ । ठेगानामा नुवाकोट भनिएको छ । दुवैमा श्रीमती नवीना पन्त उल्लेख छ ।
अध्यागमन निर्देशक पाण्डेले राहदानीको सम्बन्धमा भने, ‘राहदानी कसरी जारी भयो ? कहिले जारी भयो ? जारी भएको राहदानी सही हो कि गलत हो, यस विषयमा हेर्ने निकाय अरू नै छ । हामीले अध्ययन गर्ने अध्यामगनको पाटो मात्रै हो । यसक्रममा शंकास्पद कागजात फेला परे सम्बन्धित निकायलाई जानकारी गराउने कामसम्म हाम्रो होला ।’
नुवाकोट बेलकोटगढी नगरपालिका– १३ का श्यामराजविरुद्ध वैदेशिक रोजगार विभागले जिल्ला प्रहरी परिसर काठमाडौंलाई १५ साउनमा पक्राउ गर्न पत्र काटेको थियो । वैदेशिक रोजगार कसुरमा छुना गुरुङलगायतको उजुरी परेपछि विभागले काठमाडौं परिसरलाई पक्राउ गर्न पत्र काटेको थियो । तर, उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । यही क्रममा जापान जाने सूचनापछि उनलाई रोक्न विभागले गत ६ कात्तिकमा अध्यागमन विभागलाई पत्र काटेको थियो । तर, पत्रको बेवास्ता गर्दै अध्यागमनका कर्मचारीले उनलाई त्यसको भोलिपल्ट भगाएका थिए । त्यसको करिब एक घन्टापछि मात्रै उनीहरूले उनको सम्बन्धमा प्रहरीलाई जानकारी गराएका थिए ।
अध्यागमनको सिस्टममा उनको पासपोर्ट कालोसूचीमा देखिएपछि अध्यागमन कर्मचारीले प्रहरीलाई बुझाउनुपर्नेमा उनलाई भगाएपछि मात्रै खबर गरेको प्रारम्भिक छानबिनले देखाएको छ । घटनामा अध्यागमन कर्मचारीको भूमिका शंकास्पद देखिएपछि विभागले छानबिन थालेको छ । विभागका निर्देशक पाण्डेको नेतृत्वमा कर्मचारीहरूमाथि छानबिन भइरहेको छ ।
विभागले गरेको छानबिनमा अध्यागमन अधिकृत सन्तोष सुवेदी आफैँ उनलाई लिन एक तलामुनि गएको देखिन्छ । उनै सुवेदीले पाण्डेलाई प्रस्थान अनुमति दिलाउन पहल गरेका थिए । तर, एक कर्मचारीले आनाकानी गरेपछि आफूहरू फस्ने भन्दै मानेनन् । त्यसपछि उनी नै अभियुक्त पाण्डेलाई बाहिरसम्म छाड्न गएका थिए । त्यहाँबाट प्रहरीलाई छक्याउँदै पाण्डे भागेका थिए । उनी भागिसकेपछि अध्यागमन कार्यालयबाट प्रहरीलाई जानकारी गराइएको स्रोत बताउँछ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया