NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

जीपलाइनमा आन्तरिक पर्यटकको आर्कषण बढ्दो

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१० स्थित पीजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक भीड लाग्न थालेको छ ।

बिदाका दिन होस् या अन्य दिन जीपलाइनको मज्जा लिन विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल पनि परिवारसहित उक्त स्थानमा पुगे । आफूलाई यस्ता साहसिक खेलप्रति रुचि भएकोले बिदाको समय मिलाएर खेलको मनोरञ्जन लिन आएको उनले बताए ।

यसअघि प्याराग्लाइडिङ गरिसकेको बताउँदै प्रजिअ अर्यालले सहजै खेलमा भाग लिई मनोरञ्जन लिएपछि भने ,‘सुरक्षित तरिकाले बनाइएकोले खासै डराउनुपर्दैन् । यस्ता खेलले जिल्लाको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्छ । ’ त्यसैगरी गोरखादेखि आएकी सुविना भण्डारीले जीपलाइनको यात्रा मनोरञ्जन हुने भएकोले दोस्रो पटक खेलमा सहभागी हुन आएको बताइन् ।

पहिलो पटक चितवनमा रहेको जीपलाइनमा सहभागी भए पनि त्यहाँको भन्दा यहाँको लामो भएकोले थप अनुभव लिन आएको उनले बताइन् । यही कात्तिक ३ गतेदेखि जीपलाइन सञ्चालनमा ल्याइएको सञ्चालक विवेक सापकोटाको भनाइ थियो ।

भारतको दिल्लीस्थित द एड्भेन्चर प्लान्टले एक करोड दश लाखको लागतमा ठेक्का सम्झौता गरी उक्त जीपलाइन निर्माण गरेको हो । उनले भने, ‘करिब पाँच महिनाको अवधिमा सबै जडान कार्य सम्पन्न भ्एपछि जीपलाइन सञ्चालनमा ल्याइएको हो ।’ जीपलाइन सञ्चालन भएदेखि हालसम्म दुईसय पचास जना साहसिक खेलमा सहभागी भइसकेको सञ्चालक साप्कोटाले बताए ।

जीपलाइनमा एक हजार पाँच सय शुल्कमा खाजासेट र अन्य रमणीय दृश्यवलोकनसमेत हेर्न पाइने गरी व्यवस्था मिलाइएको छ । एक पटकमा एकै पटक दुई जनासम्मले खेलमा सहभागी हुन सक्ने छन् ।

सुरु स्टेशनबाट मादी नदीका साथै रमणीय डाँडा, फाँटको मनोरञ्जन लिँदै ल्याण्ड स्टेशन करिब ४५ सेकेण्डमा पार गर्न सकिन्छ । ल्याण्ड स्टेशनबाट पैदलमा करिब पाँच,सात मिनेटमा पुनः वारिको स्टेशनमा आउन सकिन्छ ।